चीनका शीर्ष कूटनीतिज्ञ वाङ यीले जापान र दक्षिण कोरियालाई पश्चिमबाट रणनीतिक स्वायत्तता हासिल गर्न आह्वान गरेका छन्। एसियालाई पुनर्जागृत गर्न चीनसँग सहकार्य गर्न पनि उनले आग्रह गरे।
चीनको पूर्वी सहर चिङताओमा आयोजित त्रिपक्षीय फोरमको साइडलाइनमा सोमबार वाङले यस्तो बताएका हुन्। उनले धेरैजसो अमेरिकी र युरोपेलीहरुलाई चीन, जापान र दक्षिण कोरियाबीचको फरक समेत थाहा नहुने बताए।
‘तपाईं कपाल जति खैरो पार्नुस्, नाक जति तीखो पार्नुस्, तपाईं कहिल्यै पनि युरोपेली वा अमेरिकी बन्नुहुने छैन। तपाई कहिल्यै पनि पश्चिमा बन्नुहुने छैन,’ वाङले भने, ‘हामीले हाम्रो जरा कहाँ छ, थाहा पाउनै पर्छ।’
यो फोरम बेइजिङ, टोकियो र सोलले २०११ यता सालैपिच्छे आयोजना गर्दै आएका छन्। फोरमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वाङले जापान र दक्षिण कोरियालाई ‘एसियाली मूल्य प्रबद्र्धन गर्न, रणनीतिक स्वायत्तताको भावना विकास गर्न, क्षेत्रीय एकता र स्थिरता कायम राख्न र शीतयुद्धकालीन मानिसकताको प्रतिरोध गर्न’ आग्रह गरेका थिए।
‘यो क्षेत्रको भाग्य हाम्रो हातमा छ,’ वाङले भनेका छन्।
जापान र दक्षिण कोरिया अमेरिकाका प्रमुख एसियाली सहयोगी हुन्। यी दुवै देशमा अमेरिकी सेना तैनाथ छन्। एजेन्सी
Shares

प्रतिक्रिया