इजरायलद्वारा कब्जा गरिएको वेस्ट बैंकमा रहेको एक बस्ती नजिकै मङ्गलबार बन्दुकधारीले चार जनाको हत्या गरेको इजरायली अधिकारीहरूले बताएका छन्।
‘म्यागेन डेभिड एडोम आपतकालीन सेवा (एमडीए)ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा आपतकालीन सेवामा खटिएका स्वास्थ्यकर्मीको एक टालीले चार जनाको मृत्यु भएको पुष्टि गरेको छ भने अन्य चार जना घाइते भएका बताएको छ।’
एमडीएका एक प्रवक्ताले एएफपीसँग सम्पर्क गर्दा मारिएकाहरूको राष्ट्रियता तत्काल पुष्टि भइनसकेको र आक्रमणकारीको पनि पहिचान तत्काल थाहा हुन नसकेको बताए।
इजरायली सेनाले पश्चिमी किनाराको जेनिन शहरमा गरेको आक्रमणमा छ जना प्यालेस्टाइनीको मृत्यु भएको एक दिनपछि यो घटना भएको हो।
वेस्ट बैङ्कको हुसान शहरमा सोमबार राति अर्का एक प्यालेस्टाइनीको मृत्यु भएको थियो। मृतकले पेट्रोल भरिएका बोतल (मोलोटोभ ककटेल) द्वारा इजरायली सैनिकहरूमाथि आक्रमण गरेको इजरायली सैन्य अधिकारीले आरोप लगाएका छन्।
प्यालेस्टाइनी लडाकू समूह हमासका प्रवक्ता हाजेम कासिमले मंगलबारको गोलीकाण्डलाई जेनिन र अन्य स्थानमा ‘इजरायली कब्जाको अपराधको प्रतिक्रिया’ भनेका छन्।
इजरायलले सन् १९६७ को छ दिने युद्धदेखि नै पश्चिम किनारा कब्जा गर्दै आएको छ र उसका सेनाले प्यालेस्टाइनी शहरहरूमा बारम्बार आक्रमण गर्दै आएका छन्।

प्रतिक्रिया