ad ad

ग्लोबल


कस्तो हो युक्रेनले मागेको एफ–१६ लडाकु विमान? रुसविरुद्ध होला ‘गेमचेन्जर’?

कस्तो हो युक्रेनले मागेको एफ–१६ लडाकु विमान? रुसविरुद्ध होला ‘गेमचेन्जर’?

नेपालखबर
जेठ ८, २०८० सोमबार २०:२६, काठमाडौँ

केही समययता युक्रेनले अमेरिकामा बनेको एफ–१६ लडाकु विमान प्राप्त गर्ने प्रयास गरिरहेको छ। उसको यो प्रयास यही सप्ताहन्तदेखि सफलतानिकट पुगेको छ। किनभने अमेरिकी राष्ट्रपति जो बाइडेनले  युक्रेनी पाइलटलाई सो विमान उडाउने तालिम दिन सहमति दिएका छन्।

बेलायत र नेदरल्यान्ड्सले युक्रेनलाई सो विमान दिलाउन अन्तर्राष्ट्रिय गठबन्धन गरिरहेको बताएपछि जी७ मुलुकको शिखर बैठकमा सहभागी हुन जापान पुगेका बाइडेनले यस्तो बताएका हुन्।

हाल युक्रेनसँग प्रायः सोभियतकालीन लडाकु विमान छन्। उसका लागि एफ–१६ ठूलो स्तरोन्नति हुनेछ। बाइडेनको निर्णयको युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले स्वागत गरेका छन्। ‘यसले हाम्रो सेनालाई आकाशमा निकै बलियो बनाउनेछ,’ उनले ट्विट गरेका छन्।

तर, विश्लेषकहरु भने यो लडाकु विमान युक्रेनका सबै समस्याको समाधान नभएको र यसका कमजोरी रुसलाई राम्रोसँग थाहा भएको बताउँछन्।

एफ–१६ विमानका एक पाइलटले त यो विमानलाई लिएर ज्यादा आशा गर्न थालिएको टिप्पणी गरे।

‘एफ–१६ ले फरक पार्छ कि पार्दैन भन्ने तपाईंको जुन प्रश्न छ। यसले पार्दैन,’ ती पाइलटले भने।

कस्तो हो त एफ–१६ लडाकु विमान?
एफ–१६ एउटा इन्जिन भएको, जमिनमा आक्रमण गर्न र आकास–आकास युद्धका लागि प्रयोग हुने लडाकु विमान हो।

पहिलो पटक १९७० को दशकमा उडेको यो विमानलाई अमेरिकी वायुसेनाले ‘सापेक्षिक रुपमा सस्तो र राम्रो प्रदर्शन गर्न सक्ने हतियार’ भनेको छ।

गएका दशकहरुमा हजारौँ एफ–१६ निर्माण गरिएको थियो। अमेरिकाले विश्वभर सयौँ विमान निर्यात समेत ग¥यो।

हाल विश्वभर २२ सय एफ–१६ सक्रिय छन्। जसका कारण यो विश्वमा सबैभन्दा प्रचलित लडाकु विमान बनेको छ। विश्वको हवाई शक्तिको १५ प्रतिशत हिस्सा यसैले मात्र ओगटेको छ।

युक्रेनले प्राप्त गर्ने अपेक्षा गरिएको एफ–१६ भने अलि पुरानो संस्करणको हो। जुन अहिले पश्चिम युरोपेली मुलुकहरुले प्रयोग गर्दै आएका छन्। 

युक्रेनले आफूलाई २०० वटा एफ–१६ चाहिने बताएको छ। 

‘पश्चिमा मुलुकहरुसँग थुप्रै अतिरिक्त एफ–१६ छन्,’ अमेरिकी वायु सेनाका पूर्वपाइलट रोबर्ट हप्किन्स भन्छन्।

‘हुन त एफ–१६ भन्दा शक्तिशाली विमान अरु पनि छन्। तर, तिनको संख्या थोरै छ, युक्रेनलाई दिन उपलब्ध छैन,’ उनले थपे।

एफ–१६ भन्दा शक्तिशाली विमानमा अमेरिकाको एफ–३५, एफ÷ए–१८ र फ्रान्सको राफेल पर्छन्। त्यसबाहेक कम प्रचलित विमान पनि राम्रा छन्।

‘सबैभन्दा उत्कृष्ट विमान प्रविधि त सम्भवतः स्विडेनको ग्रिपेन हो। किनभने यसको युद्ध क्षमता उच्च छ भने मर्मत सजिलो छ,’ अस्ट्रेलियाली वायुसेनाका पूर्वपाइलट पिटर लिटन भन्छन्, ‘तर, त्यो विमान उत्पादन नै कम हुन्छ।’

युक्रेनलाई दिन अन्य मुलुकसँग एफ–१६ पर्याप्त रहेको उनको भनाइ छ।

‘उदाहरणका लागि नेदरल्यान्ड्ससँग ४० वटा एफ–१६ छन्। तिनलाई पटकपटक अपग्रेड गरिएको छ। र, तिनको रेडारलगायत प्रविधि पनि आधुनिक छ,’ लिटन भन्छन्।

उडाउनभन्दा मर्मतमा ज्यादा समस्या
विश्वमा पर्याप्त संख्यामा यो विमान उपलब्ध रहेकाले यससम्बन्धी बन्दोबस्तीका सामग्री तथा आवश्यक पार्टपुर्जा खोज्न समस्या नहुने विश्लेषकहरुको भनाइ छ। तर, यसको पाइलटभन्दा मर्मतसम्भार गर्ने जनशक्तिलाई तालिम दिनु ज्यादा कठिन रहेको उनीहरु बताउँछन्।

‘युक्रेनी पाइलटलाई यो विमान उडाउने तालिम तीन महिनामा दिन सम्भव छ,’ लिटन भन्छन्।

तर, मर्मत गर्ने जनशक्तिलाई तालिम दिन महिनौँ वा वर्षौं लाग्ने हालैको एक रिपोर्टमा उल्लेख छ। १३३ दिनको तालिम र एक वर्ष कार्यानुभव लिएपछि मात्र अमेरिकी मर्मतसम्भारकर्तालाई योग्य भएको प्रमाणपत्र दिइन्छ।

यो विमान एक घण्टा उडाएबापत १६ घण्टाको मर्मत समय आवश्यक पर्छ।

पाइलटका हकमा आधारभूत काम गर्न अर्थात्, विमानलाई आकासमा उडाउन र अवतरण गर्न तीन महिनाको तालिम पर्याप्त हुन्छ। तर, लडाइँमा भाग लिन त्यतिले पुग्दैन।

‘एफ–१६ उडाउन सिक्नु लडाइँको एउटा हिस्सा मात्रै हो। अमेरिकी पाइलटहरुले पहिले उडाउन सिक्छन्। त्यसपछि दुई वटा विमानलाई कसरी नेतृत्व गर्ने, त्यसपछि चार वटालाई कसरी नेतृत्व गर्ने भनेर सिक्छन्। यो प्रक्रियामा वर्षौं लाग्छ,’ ती पाइलटले भने।

एफ–१६ लाई कसरी लुकाउने?
त्यसमाथि एफ–१६ लाई कहाँ राख्ने भन्ने प्रश्न पनि छ।

यसलाई लामो, राम्रो धावनमार्ग चाहिने खाल्डाखुल्डी भएका धावनमार्गमा यो विमानलाई कठिनाइ हुनसक्छ विज्ञहरुको भनाइ छ।

त्यसैले युक्रेनले आफ्ना विमानस्थलहरुलाई चिल्लो पार्नुपर्ने उनीहरुको भनाइ छ।

‘पश्चिमा विमान ल्याउन युक्रेनले आफ्ना विमानस्थल चिल्लो पार्नुका साथै लम्ब्याउन पर्ने हुनसक्छ। त्यसो गरेको रुसले थाहा पाउँछ। त्यसैले परिचित स्थानमा सीमित विमानस्थल मात्रै प्रयोग गर्ने हो भने रुसको आक्रमणले युक्रेनलाई एफ–१६ उडाउनै कठिन तुल्याउनेछ,’ विश्लेषकहरु जोन होएन र विलियम कर्टनीले यसै महिना लेखेका छन्।

मर्मत, विमानस्थलजस्ता समस्या समाधान भए पनि यो विमानलाई रुसविरुद्ध प्रभावकारी बनाउन युक्रेनलाई उचित हतियार आवश्यक पर्छ। त्यसका लागि पश्चिमा बम तथा क्षेप्यास्त्र प्रणाली आवश्यक पर्छ। जुन महंगो छ।

उदाहरणका लागि मध्यमदुरीको आकासबाट आकासमै प्रहार गर्न मिल्ने एउटा एएमआरएएएम क्षेप्यास्त्रका लागि १२ लाख डलर पर्छ। जुन बनाउन दुई वर्षको समय लाग्छ।

यस्तो हतियार अमेरिकाले तत्कालका लागि अमेरिकाले दिए पनि बनाउन लामो समय लाग्ने हुनाले आफ्नै भण्डार खाली हुने जोखिम अमेरिकालाई हुनसक्छ। 

तैपनि युक्रेनले एफ–१६ प्राप्त गर्दा नेटो मुलुकबीच राजनीतिक र कूटनीतिक सहकार्य रहेको सन्देश जाने हप्किन्स बताउँछन्।

लिटन पनि युक्रेनले भविष्य हेरेर पश्चिमा हतियार र प्रविधि भित्र्याउन जोड दिनुपर्ने बताउँछन्।

तर, युक्रेन युद्ध अन्त्य हुने कुनै संकेत देखिँदैन। र, एफ–१६ ले युद्ध अन्त्यका लागि पनि नसघाउने सो विमानका कार्यरत पाइलट बताउँछन्।

‘युक्रेनले एफ–१६ प्राप्त गर्दा युक्रेनीहरुको हिम्मत बढ्छ र सीमित युद्ध क्षमता पनि बढ्छ। त्यत्ति हो,’ उनले भने, ‘आउँदो वर्ष यसले केही आक्रमण गर्ला, केही जित दिलाउला। तर, कुनै पनि विमानले मात्रै युद्धको दिशा परिवर्तन गर्दैन।’ सीएनएनबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .