ग्लोबल


राजकुमार ह्यारीको खुलासा : पत्नी मेगनका विषयमा झगडा हुँदा मलाई दाजु विलियमले कुटे

राजकुमार ह्यारीको खुलासा : पत्नी मेगनका विषयमा झगडा हुँदा मलाई दाजु विलियमले कुटे

नेपालखबर
पुस २१, २०७९ बिहिबार १५:८, काठमाडौँ

बेलायती राजकुमार ह्यारीले पत्नी मेगन मार्कलका विषयमा झगडा हुँदा आफूलाई दाजु तथा युवराज विलियमले शारीरिक आक्रमण गरेको खुलासा गरेका छन्। प्रकाशनोन्मुख आत्मकथा ‘स्पेयर’ (फाल्तु/जगेडा) मा ह्यारीले आफ्नो विवाहपछि दाजुसँगको सम्बन्ध बिग्रेको बताएका छन्।

पुस्तकमा ह्यारीले २०१९ मा सो झगडा कसरी भयो भनेर विस्तृत व्याख्या गरेका छन्। लन्डनस्थित आफ्नो घरमा विलियमले मेगनलाई ‘अप्ठेरो’, ‘अशिष्ट’ र ‘झगडालु’ भनेको उनले बताएका छन्।

झगडा बढ्दै जाँदा विलियमले कलरमा समातेर, नेकलेस चुँडाएर आफूलाई भुइँमा पछारेको ह्यारीले लेखेका छन्।

सो कारण आफ्नो ढाडमा चोट लागेको उनको भनाइ छ। 

यो पुस्तक अर्को साता प्रकाशित हुँदैछ। पुस्तक प्रकाशनसँगै बेलायती राजदरबार आलोचनाको भुंग्रोमा पर्ने देखिन्छ।

‘यो सब एकदम छिटो भयो। साह्रै छिटो। उनले मेरो कलर समाते, नेकलेस चुँडाए र भुइँमा पछारे। म कुकुरलाई खाना दिने भाँडोमाथि पछारिएँ। जुन फुट्दा त्यसको टुक्रा मेरो ढाडमा भास्सियो। केही क्षण म त्यहीँ पल्टिएँ, छक्क परेर। त्यसपछि उठेर मैले उनलाई मेरो घरबाट निस्किन भनेँ,’ ह्यारीले लेखेका छन्। 

त्यसपछि दाजुले आफूलाई पनि कुट्न आग्रह गरेको र आफूले नमान्दा माफी माग्दै बाहिरिएको ह्यारीले उल्लेख गरेका छन्। 

ह्यारीका अनुसार जाँदाजाँदै विलियम ‘फर्किए र भने, ‘यो कुरा मेगनलाई भन्न जरुरी छैन।’’

‘तपाईंले मलाई हिर्काउनुभएको कुरा?’

‘मैले तिमीलाई हिर्काएको छैन ह्यारोल्ड।’

पछि मेगनले चोट देखेपछि मात्र आफूले यो कुरा सुनाएको उनले उल्लेख गरेका छन्।

ह्यारीले अमेरिकी अभिनेत्री मेगन मार्कलसँग विवाह गरेदेखि नै बेलायती राजपरिवारमा यसबारे किचलो चल्दै आएको छ। राजपरिवारका सदस्यले मेगनमाथि नश्लभेद गरेको आरोप समेत लागेको छ। (गार्डियन)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .