नागरिक संशोधन ऐन (सीएए) र राष्ट्रिय नागरिक पञ्जी (एनआरसी) को विरोधमा दार्जीलिङमा ऱ्याली निकालेकाे छ। शुक्रवार विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) ले भाजपा सरकारविरुद्ध नाराबाजी गर्दै विराेध प्रदर्शन गरेकाे हाे।
विनयपन्थी गोजमुमो पछिल्लो गोर्खाल्यान्ड आन्दोलन अवधि विमल गुरुङ नेतृत्व गोजमुमोबाट छुटेर बनेको राजनीतिक दल हो, जसले अहिले दार्जिलिङको स्वायत्ता निकाय गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन सञ्चालन गर्दै आएको छ।
पश्चिम बङ्गालको शासक दल ममता ब्यानर्जी नेतृत्वकाे तृणमूल कग्रेसकाे घटक दलको रूपले यो दलले शुरुदेखि नै एनआरसी र सीएएको विरोध गर्नुका साथै केन्द्र भाजपा सरकारले भारतीय गोर्खाहरूलाई पटक पटक विश्वासघात गर्दै आइरहेको आरोप लगाउँदै आएको छ। आज विनयपन्थी मोर्चाले सीएए र एनआरसीको विरोधमा दार्जीलिङमा मात्र होइन तर कालेबुङ, खरसाङ र मिरिकमा पनि ऱ्याली निकालेको थियो। यी चारै ठाउँमा ऱ्याली जनसभामा परिणत भएको थियो।
यसैबीच, विनय तामाङले देशमा एनआरसी र सीएए लागू गर्नअघि नै भारतीय गोर्खालाई मूलनिवासी (अरिजिनल इन्ह्याबिटेन्ट)-को दर्जा दिनुपर्ने, दार्जीलिङ पहाड़मा पुनः इनरलाइन परमिट लागू गर्नुपर्ने अनि दार्जीलिङ, कालेबुङ, जलपाइगढ़ी र अलिपुरद्वार जिल्लामा सीएएको कारण भारतीय नागरिक बनेका शरणार्थीहरूलाई राख्न नदिने माग दोहोऱ्याएका छन्। यसै मागहरूका लागि आज ऱ्याली तथा जनसभाको आयोजन गरिएको उनको भनाइ थियो।
अर्कोतिर विनय तामाङले एनआरसी र सीएए विषयमा दार्जीलिङका जनतालाई सचेत गराउने तथा यी दुई मुद्दालाई लिएर केन्द्रविरुद्ध विरोध प्रदर्शनलाई जारी राख्ने जनाएका छन्।
उल्लेखनीय छ, विनयपन्थी गोजमुमोले दार्जीलिङमा शुरुदेखि नै एनआरसी र सीएएको विरोधमा विरोध प्रदर्शन गर्दै आइरहेको छ। ‘असममा एनआरसीको लागि जुन प्रक्रिया लागू गरियो, त्यसको कारण अझै पनि करिब १९ लाख जनतालाई डि-भोटर बनाएर डिटेन्सन क्याम्पमा राखिएको छ, जसमा १ लाख जति गोर्खा पनि सामेल छन्’, उनले थपे, ‘यसैले यी १९ लाख जनताको जस्तै अन्य स्थानका गोर्खाको पनि अवस्था नबनोस् भनेर नै हामीले सीएए र एनआरसीको विरोध गरेका हौं।’
प्रतिक्रिया