चीनको दक्षिणपश्चिम प्रान्त सिचुआनमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको स्थानीय सञ्चारमाध्यमले बुधबार जनाएका छन्। मङ्गलबार राति ९ बजेसम्म समाचारअनुसार सो भूकम्पमा परेर अझै २६ जना बेपत्ता छन्।
मङ्गलबार बेलुका ९ बजेसम्म गान्जी प्रान्तमा ४० जनाको ज्यान गएको, १४ जना बेपत्ता र १७० जना घाइते भएको बताइएको छ। यान सहरमा मङ्गलबार अबेरसम्म ३४ जनाको मृत्यु भएको, १२ जना बेपत्ता र ८९ जना घाइते भएका सहरको आपतकालीन व्यवस्थापन ब्युरोले जनाएको छ।
सिचुआन प्रान्तको प्रान्तीय राजधानी छेन्दुमा भूकम्पका कारण लाखौं मानिस प्रभावित भएको बताइएको छ। त्यसको नजिकैको सहर चोङकिङमा पनि भूकम्पको धक्का महसुस भएको स्थानीय बासिन्दाले जानकारी गराएका छन्।
भूकम्पको केन्द्रबिन्दू सिचुआन प्रान्तको काङदिङ सहरबाट करिब ४३ किलोमिटर दक्षिण-पूर्वमा रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
सो भूकम्प १० किलोमिटर गहिराइमा तथा ६.८ म्याग्निच्युडको रहेको पनि अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ।
भूकम्पका कारण भौतिक संरचनामा पनि क्षति पुगेको छ। भूकम्पले भत्काएकाले यहाँबाट अर्को सहरमा जाने बाटो पनि बन्द भएको छ। त्यसैगरी मानिसको बसोबास रहेका कैयौँ क्षेत्रमा दूरसञ्चारका लाइन काटिएकाले सञ्चार सम्पर्क पनि विच्छेद हुन पुगेको छ।
यसैबीच चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार गएको भूकम्पका पीडित र प्रभावितको उद्धार चुस्त रुपमा गर्न निर्देशन दिएका छन्। उनले यस कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न र भूकम्पका प्रभावितहरुको उद्धार र राहतको काममा कुनै कसर बाँकी नराख्न पनि निर्देशन दिएका छन्। रासस/सिन्ह्वा
Shares

प्रतिक्रिया