ग्लोबल


चीनको विरोधपछि अमेरिकी सभामुखको सूचीमा परेन ताइवान भ्रमण

चीनको विरोधपछि अमेरिकी सभामुखको सूचीमा परेन ताइवान भ्रमण

नेपालखबर
साउन १५, २०७९ आइतबार १६:५, काठमाडौँ

अमेरिकी सभामुख न्यान्सी पेलोसी यसै साता चार एशियाली मुलुकको भ्रमणमा निस्कने भएकी छन्। 

यद्यपि पछिल्लो समय विश्व समुदायको ध्यान तानिरहेको ताइवान भने उनको भ्रमणको सूचीमा परेको छैन।

पेलोसीले आइतबार विज्ञप्ति जारी गर्दै आफ्नो नेतृत्वमा अमेरिकी संसदीय प्रतिनिधिमण्डल सिंगापुर, मलेसिया, दक्षिण कोरिया र जापान भ्रमणमा निस्कन लागेको बताएकी छन्। 

यसअघि चर्चा गरिएजस्तो उनको भ्रमण सूचीमा ताइवान परेको छैन। चीनले आफ्नो भूगोल दाबी गर्दै आएको ताइवानमा पेलोसीले अघोषित भ्रमण गर्नसक्ने सम्भावना कायमै रहेको केही पश्चिमा सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

केही समययता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अमेरिकी सभामुख पेलोसीले ताइवान पनि भ्रमण गर्ने योजना बनाएको समाचार सम्प्रेषण गरेका थिए। 

यदि अमेरिकी सभामुखले ताइवान भ्रमण गरे सशशक्त प्रतिरोध गर्ने चेतावनी चीनले दिएको थियो। 

आफूलाई स्वतन्त्र टापु राष्ट्र बताउँदै आएको ताइवानलाई चीनले आफ्नो अभिन्न अंगका रुपमा विश्वसामुमाझ व्याख्या गर्दै आएको छ। चिनियाँआक्रमणको चर्चाबीच ताइवानलाई अमेरिकाले केही समययता ठूलो सैन्य सहयोग गरिरहेको छ।

अमेरिकाले ताइवानसँग सम्बन्ध राख्नु अमेरिकाको एक चीननीतिप्रतिको प्रतिबद्धता उल्लंघन हुने बेइजिङको बुझाई छ। 

सन् १९७९ देखि अमेरिकाले एक चीन नीति अनुसरण गरे पनि ताइवानसँग सम्पर्क विस्तार गर्दै लगेको छ। 

अमेरिका र ताइवानबीच अर्बौँ डलरको व्यापार हुने गरेको छ। अमेरिकाले ताइवानमा गोप्य रुपमा आफ्ना सैनिक तैनाथ गरेको विवरण गत वर्ष नै सार्वजनिक भएको थियो। 

अमेरिकाले ताइवानसँग स्वतन्त्र राष्ट्रको व्यवहार गर्दा चीन-अमेरिका द्विपक्षीय सम्बन्धमा नकारात्मक असर पुगिरहेको बुझाइ बेइजिङको छ।

चीन र ताइवानबीच शान्तिपूर्ण एकीकरण हुनुपर्ने बेइजिङको धारणामा ताइवानका शासकले असहमति राख्दै आएका छन्। 

ताइवानलाई चीनले जबरजस्ती आफ्नो अधीनमा ल्याए सशक्त प्रतिरोधमा उत्रिने चेतावनी अमेरिकाले दिँदै आएको छ। 

गतसाता अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन संवाद हुँदा ताइवान मामिलामा पनि कुराकानी भएको बताइएको छ। 

कुराकानीमा चिनियाँ राष्ट्रपति सीले ताइवानसहित चीनको आन्तरिक मामिलामा अमेरिकाले हस्तक्षेप गरे कडा प्रतिवाद गर्ने चेतावनी दिएका थिए। 

चिनियाँ विदेश मन्त्रालयले पनि अमेरिकालाई आगोसँग नखेल्न केही दिनअघि चेतावनी दिएको थियो। 

यो विवादबीच चीनले ताइवानको आकाशमा निरन्तर लडाकु जहाज उडाइरहेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad