ad ad

ग्लोबल


श्रीलंकाको राष्ट्रपति बनिछाडे ‘बुढो स्याल’भन्दा छट्टू विक्रमासिंगे

श्रीलंकाको राष्ट्रपति बनिछाडे ‘बुढो स्याल’भन्दा छट्टू विक्रमासिंगे

नेपालखबर
साउन ४, २०७९ बुधबार २०:१२, काठमाडौँ

श्रीलंकाको राष्ट्रपतिमा बुधबार रनिल विक्रमासिंगे निर्वाचित भएका छन्। यससँगै श्रीलंकाका पुराना राजनीतिकर्मीको जिन्दगीभरिको सपना पुरा भएको छ। 

६ पटक प्रधानमन्त्री भइसकेका विक्रमासिंगेलाई राष्ट्रपतिबाट पदच्यूत भएका गोटाबाय राजापाक्षेको दल एसएलपीपीले समर्थन गरेको थियो। प्रदर्शनकारीहरुले राष्ट्रपति भवन कब्जामा लिएपछि राजापाक्षे भागेर विदेश पुगेका थिए। त्यहीँबाट उनले राजीनामा पठाएका थिए।

पश्चिमा समर्थक विक्रमासिंगेले राष्ट्रपति पदमा पुग्ने प्रयास दशकौँदेखि गर्दै आएका थिए।

हिन्द महासागरमा अवस्थित टापु मुलुक श्रीलंकामा लामो समयदेखि केही सीमित परिवारले अत्यधिक राजनीतिक भूमिका खेल्दै आएका छन्। विक्रमासिंगेका मामा जुनियस जयवर्दने श्रीलंकामा लामो समय शासन चलाउने नेतामध्ये एक हुन्। १९८९ मा राजीनामा दिनुअघि जयवर्दनेले १२ वर्ष सत्ता चलाएका थिए।

‘बुढो स्याल’ भनेर परिचित जयवर्दने आफ्नो धुर्त्याइँका लागि चिनिन्थे। तर, उनका भान्जा विक्रेमासिंगे देशको आपसी कलहयुक्त शक्ति सञ्जालमा अघि बढ्न आफ्ना मामाभन्दा पनि छट्टू  मानिन्छन्। 

विक्रमासिंगेलाई राजनीतिमा ल्याउने जयवर्दने नै थिए। १९७७ मा उनले विक्रमासिंगेलाई उपविदेशमन्त्री बनाएका थिए। त्यतिबेला उनीहरुको युनाइटेड नेसनल पार्टीको सुरुवाती अक्षर यूएनपीको वास्तविक अर्थ अंकल एन्ड नेफ्यु (मामा भान्जा) हुने भन्दै टिप्पणीकर्ताहरु मजाक गर्ने गर्थे।

परिवारका सदस्यहरुका अनुसार १९९६ मा बितेका जयवर्दने भान्जा विक्रमासिंगे ‘एक दिनका लागि मात्र भए पनि’ राष्ट्रपति बनुन् भन्ने चाहन्थे।

गत मे महिनामा उथलपुथलका माझ दाजु महिन्दा राजापाक्षेले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि राष्ट्रपति गोटाबायले ७३ वर्षीय विक्रमासिंगेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। गएको दुई दशकमा श्रीलंकाली राजनीतिमा हालिमुहाली गरेको राजापाक्षे परिवार व्यापक प्रदर्शनका माझ सत्ताच्यूत भएको छ।

यसअघि पनि दुई पटक विक्रमासिंगेले राष्ट्रपतिको चुनाव लडेका थिएः १९९९ र २००५ मा। दुवै पटक उनी पराजित भए। उनको यूएनपी पार्टी २०२० को चुनावमा करिब लोप नै हुन पुग्यो। सो पार्टीका एक मात्र सांसद विक्रमासिंगे नै रहे।

तर, राजनीतिक चालबाजीले विपक्षीहरुलाई पछि पार्दै उनी राष्ट्रपति पदसम्म पुगे।

यद्यपि, अहिले उनीसामु देशको सबैभन्दा खराब आर्थिक संकटलाई सम्बोधन गर्नुपर्ने चुनौती छ। र, एसएलपीपीले समर्थन गरे पनि राजापाक्षेलाई सत्ताच्यूत गर्ने प्रदर्शनकारीहरुले उनको पनि राजीनामा मागिरहेका छन्। राजापाक्षे परिवारको स्वार्थ रक्षा गरेको आरोप पनि विक्रमासिंगेमाथि छ।

प्रदर्शनकारीहरु विक्रमासिंगेविरुद्ध सडकमा उत्रिए उनले कठोर दमन गर्ने विश्लेषकहरुको भनाइ छ।

पुस्तक जलाइयो
विक्रमासिंगेले अंग्रेजी लेक्चरर मैत्रीसँग विवाह गरेका छन्। उनीहरुका सन्तान छैनन्। त्यसैले उनीहरुले आफ्नो सम्पत्ति विक्रमासिंगेले पढेको स्कुल र दम्पतीकै विश्वविद्यालयहरुलाई दिने घोषणा गरेका छन्। तर, विक्रमासिंगेले ‘सबैभन्दा ठूलो खजाना’ भन्ने गरेको उनीहरुको २५ सय पुस्तक रहेको पुस्तकालयमा हालै प्रदर्शनकारीहरुले आगो लगाइदिए।

सम्पन्न र राजनीतिक सम्बन्ध भएको परिवारमा जन्मेका थिए विक्रमासिंगे। उनको परिवार प्रकाशन र खेतीमा संलग्न थियो। विक्रमासिंगेले आफ्नो करिअर परिवारकै स्वामित्वमा रहेको एक पत्रिकामा रिपोर्टरका रुपमा सुरु गरेका थिए।

तर, १९७३ मा विश्वकै पहिलो महिला प्रधानमन्त्री सिरिमाओ बन्दरानायकेले उनको परिवारको स्वामित्वमा रहेको प्रकाशन कम्पनी राष्ट्रियकरण गरेपछि उनी कानुन अभ्यासमा लागे।

‘यदि लेक हाउस (एसोसियटेड न्युजपेपर्स अफ सिलोन लिमिटेड) कब्जा हुँदैनथ्यो भने म पत्रकार हुन्थेँ। त्यसैले वास्तवमा बन्दरानायकेले मलाई राजनीतिमा पठाइन्,’ विक्रमासिंगेले एक पटक भनेका थिए।

आत्मघाती बम आक्रमणकारीद्वारा राष्ट्रपति रनसिंगे प्रेमदासाको हत्याको नतिजास्वरुप १९९३ को मे महिनामा उनी पहिलो पटक प्रधानमन्त्री नियुक्त भएका थिए।

तत्कालीन प्रधानमन्त्री दीनगिरि बन्दा विजयतुंगा राष्ट्रपतिमा बढुवा भए र उनले तत्कालीन उद्योग, विज्ञान तथा प्रविधिमन्त्री विक्रमासिंगेलाई प्रधानमन्त्री चुने।

त्यसको ६ वर्षपछि त्यस्तै अर्को आक्रमणका कारण उनी राष्ट्रपति बन्न पाएनन्। चुनावभन्दा ठिक तीन दिनअघि मात्रै विक्रमासिंगेका प्रमुख प्रतिद्वन्द्वी चन्द्रिका कुमारातुंगामाथि आत्मघाती बम आक्रमण भयो।

आत्मघाती आक्रमणमा आफ्नो दाहिने आँखा गुमाएकी कुमारातुंगा टेलिभिजनमा देखिइन्, जसले सिंगो देशको आँखामा आँसु ल्याइदियो। उनले ठूलो मात्रामा सहानुभूतिको मत प्राप्त गरिन्। जसका कारण धेरैले जित्ने अनुमान गरेको चुनाव विक्रमासिंगे हारे।

राजनीतिक चक्रको अर्को खेलमा उनै प्रेमदासाका छोरा सजिथ अहिले विपक्षी दलको नेता छन् र उनले विक्रमासिंगेका मुख्य प्रतिस्पर्धीलाई चुनावमा सघाएका थिए।

बैंक घोटालाको आरोप
श्रीलंकाको भ्रष्ट राजनीतिमा पनि विक्रमासिंगेले लामो समय आफ्नो स्वच्छ छवि कायम राखेका थिए। तर, २०१५–२०१९ सम्म पाँचौँ कार्यकालका लागि प्रधानमन्त्री बन्दा केन्द्रीय बैंकको ऋणपत्रमा ‘इनसाइडर ट्रेडिङ’ गरेको आरोप उनको प्रशासनलाई लाग्यो। 

उनका सहपाठी तथा केन्द्रीय बैंकको प्रमुखमा उनैले नियुक्त गरेका व्यक्ति प्रमुख आरोपित थिए। जसका कारण उनलाई आसेपासे पोसेको आरोप लाग्यो।

त्यस्तै, भ्रष्टाचार, घुसखोरी, सार्वजनिक कोष हिनामिना र हत्याको आरोप लागेको राजापाक्षे खलकका सदस्यको रक्षा गरेको आरोप पनि विक्रमासिंगेमाथि छ।

कार्यवाहक राष्ट्रपतिका रुपमा उनले टाट पल्टेको मुलुकको बागडोर सम्हालेका छन्। जुन मुलुकमा अत्यावश्यक सामग्री किन्ने पैसा समेत छैन।

पश्चिमा समर्थक र खुला बजार पक्षधर उनको छविले अन्तर्राष्ट्रिय मुद्राकोष र विदेशी ऋणदातासँगको मोलमोलाइमा सहज हुन सक्छ। तर, उनले यसअघि नै श्रीलंकाको अभूतपूर्वक संकट तुरुन्त ठिक गर्ने कुनै तरिका नभएको बताइसकेका छन्।

‘सबैभन्दा खराब अवस्था आउन त बाँकी नै छ। हाम्रो मुद्रास्फिति अत्यन्त उच्च छ। यसभन्दा उच्च मुद्रास्फिति आउँदैछ,’ विक्रमासिंगेले यही महिना संसदमा भनेका थिए, ‘हामी टाट पल्टिसकेका छौँ।’ एएफपी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .