ad ad

राजनीति


प्रधानमन्त्री देउवा दुई महिनापछि अमेरिका जाने तयारी

राष्ट्रसंघ महासभामा उच्चस्तरीय सहभागिता हुन्छ : परराष्ट्र प्रवक्ता
प्रधानमन्त्री देउवा दुई महिनापछि अमेरिका जाने तयारी

नेपालखबर
साउन ४, २०७९ बुधबार २०:९, काठमाडौँ

अमेरिकाको न्यूयोर्कमा आगामी सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघको ७७ औं महासभामा नेपालबाट उच्च तहको सहभागिता रहने भएको छ। 

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार राष्ट्रसंघीय महासभामा नेपालका तर्फबाट उच्चस्तरीय सहभागिता हुने छ।

राष्ट्रसंघको ७७ औं महासभा सेप्टेम्बर १३ मा शुरु हुँदैछ। महासभा अन्तर्गत हाइ लेभल जनरल डिबेट सेप्टेम्बर २० देखि २७ सम्म हुने छ।

विश्वका विभिन्न देशबाट उच्च तहको सहभागिता हुने उक्त डिबेटमा नेपालको पनि उच्च तहको सहभागिता रहने भएको हो। 

प्रवक्ता लम्सालले नेपालबाट उच्चस्तरीय सहभागिता रहने हिसाबले आन्तरिक गृहकार्य मन्त्रालयले गरिरहेको जानकारी दिइन्।  
‘संयुक्त राष्ट्रसंघको ७७ औं महासभा अब छिट्टै शुरु हुन गइरहेको छ। सो अवसरमा नेपालबाट उच्चस्तरीय सहभागिता रहने भन्ने हिसाबले हामीले आन्तरिक गृहकार्य गरिरहेका छौं। मन्त्रिपरिषद्ले औपचारिक निर्णय गरिसकेपछि उपयुक्त समयमा हामीले जानकारी गराउने छौँ’ उनले भनिन्। 

प्रवक्ता लम्सालले प्रधानमन्त्रीकै तहमा सहभागिता हुन्छ भन्ने स्पष्ट खुलाइनन्। तर जानकार परराष्ट्रका अधिकारीले प्रधानमन्त्री शेर बहादुर देउवा नै राष्ट्रसंघीय महासभामा जानेगरी तयारी भइरहेको बताए। 

‘अहिलेसम्मको योजना अनुशार प्रधानमन्त्री देउवा राष्ट्रसंघ महासभामा भाग लिनुहुनेछ’ मन्त्रालयका अर्का एक अधिकारीले भने। 

योजना अनुसार प्रधानमन्त्री देउवा सेप्टेम्बर १८ मा नेपालबाट अमेरिकाको न्यूयोर्कका लागि प्रस्थान गर्नेछन्। 

यसअघि प्रधानमन्त्री देउवा जुलाई महिनाभित्र अमेरिका भ्रमणमा जाने तयारी भएको थियो। परराष्ट्र प्रवक्ता लम्सालले प्रधानमन्त्रीको अमेरिका भ्रमणका लागि गृहकार्य भएपनि टुंगोमा पुगिनसकेको बताइन्। 

‘यसअघि हामीले एउटा मितिमा भ्रमणका लागि गृहकार्य गरेका चाहिँ थियौँ। भ्रमणको कुरा दुवै पक्षलाई अनुकुल हुनेगरी तय हुने कुरा हो। अहिले तय भएको छैन। त्यसैले अहिले प्रधानमन्त्रीको भ्रमणबारे त्यो भन्दा बढी मैले केही भनिहाल्ने अवस्था छैन’ लम्सालले भनिन्। 

अमेरिकाले प्रस्ताव गरेका मिति अनुसार परराष्ट्र मन्त्रालय, अमेरिकी दूतावास र वासिंगटनस्थित नेपाली दूतावासले भ्रमणको तयारी अघि बढाएका थिए। 

तर नेपाल सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेपछि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण अन्योलमा गरेको जानकार अधिकारीहरु बताउँछन्। 

स्रोतका अनुसार एसपीपी प्रकरण अघि अमेरिकाले भ्रमणका लागि दुईवटा मिति प्रस्ताव गरेको थियो, पहिलो जुलाई १४ बाट भ्रमण थाल्नेगरी र दोश्रो जुलाई २७ बाट भ्रमण थाल्नेगरी। 

तर सरकारले एसपीपीमा नेपाल अघि नबढ्ने निर्णय गरेपछि अमेरिकाले भ्रमणका लागि अनिच्छा देखाएको हो। 

अमेरिकाले प्रधानमन्त्री देउवाको भ्रमणमा हस्ताक्षर गर्नेगरी सैन्य सम्झौताको मस्यौदा सरकारलाई बुझाएको थियो।

देउवाको भ्रमणमा उक्त रणनीतिक महत्वको सम्झौता गराउने अमेरिकी रणनीतिमा ‘ब्रेक’ लागेपछि भ्रमण रोकिएको सत्तारुढ दलका नेताको पनि बुझाई छ। 

सत्तारुढ एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एक साता अघि एसपीपीमा अघि नबढ्ने निर्णयपछि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको खुलासा गरेका थिए।

यद्यपी परराष्ट्रमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले प्रधानमन्त्रीको भ्रमण रद्द नभएको दाबी गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .