अफगानिस्तानमा सरकार चलाइरहेको तालिबानले पश्चिमा मुलुकका अधिकारीहरुसँग वार्ता सुरु गरेको छ।
अफगानिस्तानमा कब्जा जमाएपछि पहिलोपटक तालिबानका अधिकारीहरु वार्ताको लागि युरोप पुगेका हुन्। बीबीसीका अनुसार तालिबानका अधिकारीहरु तीन दिने वार्ताको लागि नर्वेको ओस्लो पुगेका छन्।
वार्तामा मानव अधिकार र अफगानिस्तानको मानवीय संकटको विषयमा कुराकानी हुनेछ। राष्ट्रसंघका अनुसार अहिले अफगानिस्तानका ९५ प्रतिशत मानिससँग पर्याप्त खाना छैन।
नर्वेमा आइतबार तालिबानलाई वार्तापछि कुनै किसिमको सहयोग नदिन भन्दै धेरै स्थानमा प्रदर्शन भएको छ। महिला अधिकारवादीले भने तालिबानसँगको वार्ता सकारात्मक संकेत भएको उल्लेख गरेका छन्।
तालिबानले अमेरिकी बैंकमा रोक्का भएको अर्बौं डलर फुकुवा गर्न माग गर्न सक्ने समाचारमा उल्लेख छ। पर्याप्त रकम नहुँदा अहिले अफगानिस्तानमा आर्थिक संकट देखिएको छ।
राष्ट्रसंघका अनुसार अफगानिस्तानका ५५ प्रतिशत मानिसहरु अहिले भोकमरीको चपेटामा छन्। तालिबानले अहिले जाडोयाम र भोकमरी एकैपटक देखिएकाले यस्तो अवस्थामा अन्तर्राष्ट्रिय समुदायले राजनीतिक विवादको कारण देखाउँदै अफगान नागरिकलाई सजाय दिन नमिल्ने बताएका छन्।
अहिले तालिबान अन्तर्राष्ट्रिय समुदायबाट मान्यता पाउने प्रयास पनि गरिरहेको छ। अहिलेसम्म कुनै पनि मुलुकले तालिबानलाई मान्यता दिएको छैन।
Shares

प्रतिक्रिया