ad ad

ग्लोबल


अफगानिस्तानमा जुर्मुराउँदै इस्लामिक स्टेट, धरापमा तालिबान सरकार

अफगानिस्तानमा जुर्मुराउँदै इस्लामिक स्टेट, धरापमा तालिबान सरकार

नेपालखबर
असोज ५, २०७८ मंगलबार १७:२, काठमाडौँ

अफगानिस्तानमा राष्ट्रपति असरफ गनीको सरकार हुँदा अफगान सुरक्षा बल नन्गरहार र जलालाबादमा एकातिर तालिबानको आक्रमणको सामना गरिरहेको थियो भने अर्कातिर इस्लामिक स्टेटले पनि त्यही सरकारलाई निसाना बनाइरहेको थियो। 

तर गत अगस्ट १५ देखि तालिबानले राजधानी काबुल कब्जा गरेयता अफगानिस्तानमा इस्लामिक स्टेटको स्थानीय शाखा खुरासान समूह (आईएसकेपी) ले तालिबानलाई आफ्नो दुश्मन ठानेको छ। 

त्यसो त अफगानिस्तानबाट अमेरिका र उसका सहयोगी देशका सेना स्वदेश फर्किनासाथ त्यहाँ आईएसको खतरा स्पष्ट रूपमा देखिएको थियो। सारा सुरक्षा व्यवस्थाका बीच पनि अगस्ट २६ का दिन काबुलको विमानस्थलमा उसले ठूलो आत्मघाती हमला गरेको थियो। जसमा १३ जना अमेरिकी सैनिकसहित २ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।

विश्लेषकहरूका अनुसार नन्गरहार र जलालाबादजस्ता आफ्ना बलिया गढबाट निस्केर आईएसले काबुलमा जुन हमला गर्यो, त्यसले तालिबानका लागि पश्चिमी मुलुकभन्दा खतरा अतिवादी समूह इस्लामिटक स्टेट हो भन्ने पुष्टि गरेको छ। 

गत हप्ता जलालाबादमा गराइएको विस्फोटको जिम्मेवारी लिँदै आईएसकेपीले आफ्नो टेलिग्राम च्यानलबाट आफ्नो ‘सफलता’का रूपमा घोषणा गरेको छ। 

उक्त आक्रमणमा जम्मा ३५ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएको खबर छ। 

उक्त हमला यही सेप्टेम्बर १८ र १९ मा नन्गरहार प्रान्तको राजधानी जलालाबाद र आसपासका क्षेत्रमा भएको थियो। 

अलजजिरा च्यानलका अनुसार अफगान तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले यसबारे विस्तृत कुरा नबताए पनि यसमा इस्लामिक स्टेट जिम्मेवार रहेको बताएका छन्।

तालिबान कसरी आईएसकेपीको निसाना बन्यो?
काबुलमा कब्जापछि तालिबानका लडाकु प्रहरी एवं अन्य सुरक्षाकर्मीका रूपमा काम गरिरहेका छन्। तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि आईएसकेपीले एकैपल्टमा यति ठूलो विस्फोट गराउँदै त्यसको जिम्मेवारी लिएको यो पहिलोपटक हो।

वरिष्ठ अफगान पत्रकार एवं टिप्पणीकार समी युसुफजईले बीबीसीलाई बताएअनुसार हालैका हमला पहिले नै अनुमान गरिएको थियो, किनकि इस्लामिक स्टेट र तालिबानमा वैचारिक मतभेद छ र उनीहरूबीच यसअघि पनि झडप भइसकेको छ। 

उनले भने, ‘यस बखत इस्लामिक स्टेट अफगान तालिबानका लागि एउटा ठूलो चुनौती हो।’

उनका भनाइमा– जसरी पहिले अफगान सरकार तालिबानको सामना गर्न असमर्थ देखिन्थ्यो, अब ठीक त्यसैगरी इस्लामिक स्टेटका अगाडि निरीह देखिँदै छ।

वरिष्ठ टिप्पणीकार अब्दुल सईदले बीबीसँग भने, ‘इस्लामिक स्टेटले यस अगाडिदेखि नै लगभग दैनिक जलालाबाद र नन्गरहार प्रान्तका धेरै क्षेत्रमा तत्कालीन अफगान प्रहरी र सुरक्षाकर्मीका गाडीमा साना बम प्रहार गरिरहन्थे।’

उनका अनुसार जब अफगानिस्तानको सत्ता तालिबानले सम्हाल्न थाल्यो तब इस्लामिक स्टेटको निसानामा अब ऊ (तालिबान) परेको छ।

उनले भने, ‘वर्तमान अवस्थामा आईएसले अब आफ्नो ‘दुश्मन’ तालिबानका लडाकुलाई सजिलै आफ्नो निसाना बनाउन सक्छ।’

उनका भनाइमा– हालैका हमला साना थिए तर तिनले तालिबानले गरेको दाबीमा प्रश्न उठाएका छन्। तालिबानको दाबी थियो– अफगानिस्तानमा आईएसकेपीकाे अस्तित्व छैन।​

समी युसुफजईका अनुसार जतिबेला तालिबानका लडाकुले काबुल प्रवेश गरे र जेलहरू तोडे, त्यतिेबला इस्लामिक स्टेटसँग सम्बन्धित कैदी पनि भागेका थिए। भाग्ने प्रयासका क्रममा तालिबानले इस्लामिक स्टेटका लडाकु पनि मारेका थिए, जसका कारण इस्लामिक स्टेट निकै रिसाएको छ।  

उनी भन्छन्, ‘इस्लामिक स्टेट यी हमलाबाट आफ्नो शक्ति प्रदर्शन गरिरहेको छ र यी हमलाबाट एकातर्फ तालिबानविरुद्ध दबाब बढ्छ भने अर्कातर्फ अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो उपस्थिति साबित गर्ने प्रयास पनि हुन सक्छ। ​

पेसावर युनिभर्सिटीको इन्स्टिच्युट अफ पिस एन्ड कन्फ्लिक्ट स्टडिजका प्राध्यापक डा. बाबर शाह भन्छन्, ‘यसबेला अफगानिस्तानमा सबै वर्ग आफ्नो भूमि बलियो बनाउने प्रयास गरिरहेका छन्।’

तालिबानले सलफी सम्प्रदायलाई पनि निसाना बनाउन थाल्यो? 
अब्दुल सइदले इस्लामिक स्टेट खुरासानको विचारधाराबारे भने, ‘धार्मिक हिसाबले यो तालिबानभन्दा पनि बढी अतिवादी हो र यसमा तालिबानका पूर्वलडाकु पनि संलग्न छन्, जो तालिबानले आफ्नो आधारभूत नीतिबाट विचलित भएको ठान्छन्।’​

सइदका अनुसार इस्लामिक स्टेट खुरासानमा धेरै संख्या सलफी सम्प्रदायसँग सम्बन्ध राख्ने अफगान नागरिकको छ, जो हनफी सम्प्रदायसँग सम्बन्ध राख्ने तालिबानको विरुद्धमा छन्।

विभिन्न स्रोतका अनुसार तालिबानले कब्जा गर्नासाथ अफगानिस्तानमा सलफी सम्प्रदायका  मस्जिद र मदरसाहरूविरुद्ध कदम उठायो जो पहिलेदेखि कुनै न कुनै किसिमले आईएससँग सम्बन्ध राखिरहेका छन्। 

तिनमा सलफी विचारधाराका प्रभावशाली नेताहरू पनि पर्छन्, जसको नेतृत्वमा वा उनीहरूसँग सम्बन्ध राखेर अफगानिस्तानमा धेरै मानिस इस्लामिक स्टेटमा सहभागी भएका थिए।  

अब्दुल सइदका भनाइमा– बितेका दुई दशकमा अफगानिस्तानमा सलफी सम्प्रदाय काबुलसहित पूर्वी र उत्तरी प्रान्त विशेषगरी कन्ड र नन्गरहारमा तीव्र गतिमा फैलिइसकेको छ। नन्गरहार पनि इस्लामिक स्टेटको गढ बन्नुअघि धेरै वर्षसम्म तालिबानको बलियो किल्ला थियो। जहाँबाट इस्लामिक स्टेटले तालिबानको शक्ति लगभग समाप्त पारेको थियो। 

यस कदमपछि अफगानिस्तानमा सलफी नेताहरूले बारम्बार यस खतराबारे बताइरहेका छन्– तालिबानका समूहहरूबाट आफ्नो सम्प्रदायविरुद्ध जारी कारबाही बन्द गरिँदैन र तालिबानको केन्द्रीय नेतृत्वकर्ता चुप बसिरहन्छन् तब युवा तालिबानविरुद्ध जवाफी कारबाही हुँदा फेरि आईएसको हिस्सा बन्न सक्छन्।  

समी युसुफजईका अनुसार आईएसको एजेन्डा धेरै ठूलो छ र यो संगठन विश्वस्तरमा सक्रिय छ, तर अफगानिस्तानमा यस संगठनमा आबद्ध व्यक्ति सबै अफगान छन्। 

उनका अनुसार अहिले यो संगठनले अफगानिस्तानमा बढीभन्दा बढी आफ्नो प्रभाव कायम गर्ने कोसिस गरिरहेको छ, यसैकारण इस्लामिक स्टेटका गतिविधि बढ्न थालेका हुन्।

उनका भनाइमा– त्यसको तुलनामा तालिबानका एजेन्डा र उद्देश्य सीमाभित्र छ, उसको कुनै विश्वस्तरको एजेन्डा छैन। 

समस्यामा अलकायदा 
काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको हमलाका कारण अलकायदा र उसका समर्थकले कठिनाइ सामना गर्नुपरिरहेको छ। 

एकातर्फ अलकायदा उक्त आक्रमणमा अमेरिकी सैनिक मारिएकामा खुसी छन्, तर अर्कातर्फ उक्त हमला अलकायदाका एक विरोधी समुह इस्लामिक स्टेटले गरेको हो र आफ्ना मित्र तालिबानको साखमा क्षति पुर्यायो। 

अलकायदाका समर्थकले टेलिग्राम मोबाइल एपमा इस्लामिक स्टेटको दाबीबारे कुनै प्रतिक्रिया जारी गर्न बन्द गरेका छन्। तर अलकायदाका एक प्रमुख समर्थक विरास अल कासिमले भनेका छन्, ‘जुन हमलामा अमेरिकी मारिए, त्यसको प्रशंसा गर्न चाहन्छौं, चाहे त्यो हाम्रा विरोधीले गरेको किन नहोस्।’

यस क्रममा सिरियाको संगठन हयात तहरिर अल–सामका समर्थक अल–जाहबीसहित केही जिहादीले इस्लामिक स्टेटको हमलाको निन्दा गरेका छन् र भनेका छन्– उनीहरूको उद्देश्य अफगानिस्तानमा शान्ति स्थापना र इस्लामी इमिरेटको प्रभाव कायम गर्ने प्रयासलाई विफल पार्नु हो। 

उनीहरूले अगाडि भनेका छन्, ‘यो स्पष्ट रूपमा तालिबानले पाएको सफलता र त्यसले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पाउने प्राथमिकताप्रति इस्लामिक स्टेटमा उत्पन्न ईर्ष्याकाे परिणााम हो।’ 

अर्का धार्मिक नेता अल–हसन बिन अल–कतानीले इस्लामिक स्टेटलाई ‘मूर्ख र लापरबाह’को संज्ञा दिएका छन्। साथै उनले इस्लामिक स्टेटले केवल ‘इस्लाम र मुसलमानलाई क्षति पुर्याइरहेको’ पुष्टि गर्ने प्रयास पनि गरेका छन्। बीबीसीबाट

याे पनि : तालिबान र इस्लामिक स्टेटबीच समानता र भिन्नता के छन्?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .