सन् २००१ सेप्टेम्बर ११ मा दुईवटा बोइङ ७६७ विमान न्युयोर्कको सबैभन्दा अग्लो ११० तले भवनमा ट्विन टावरमा ठोक्किए।
पहिलो विमान स्थानीय समयानुसार बिहान ८:४५ बजे उत्तरी टावरमा ठोक्किएको थियो। त्यसपछि १०२ मिनेटसम्म आगो बलिरह्यो र १० बजेर २८ मिनेट जाँदा मात्र ११ सेकेन्डमा टावर ढल्यो।

पहिलो टावरमा विमान ठाक्किएको १८ मिनेटपपछि बिहान ९:०३ बजे दोस्रो ट्विन टावरमा अर्काे विमान ठोक्किन आइपुग्यो। ५६ मिनेटसम्म टावरमा आगो र धुवाँको मुस्लो देखियो र त्यसपछि ९ सेकेन्डमै टावर गर्ल्यामगुर्लुम भयो।
उत्तरी टावरको ४७औं तलामा काम गर्ने ब्रुनो डेलिङ्गर त्यो घटना सम्झिँदै भन्छन्, ‘भवन ढलेको आवाजपछि केही सेकेन्ड पूरै अन्धकार छायो, रात परेको भन्दा पनि अँध्याराे! केही क्षण सुनसान भयो। मैले साससम्म फेर्न सकिनँ।’
उनले अगाडि भने, ‘मलाई लाग्यो– म मरिसकेँ, किनकि मेरो दिमागले कुनै काम गरिरहेको थिएन।’

किन ढल्यो टावर?
म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) को नागरिक र वातावरणीय इन्जिनियरिङ विभागबाट अवकाश प्राप्त प्राध्यापक एडुआर्डो कौसलले बीबीसी मुन्डोसँग भने, ‘सबै विशेषज्ञले दुवै टावर ढलेको कुरा स्वीकार गरेका छन्, किनभने यो आतंकवादी हमलाको उद्देश्य थियो।’
कौसल एमआईटीको त्यो विशषेज्ञ टोलीको प्रमुख थिए, जसले संरचनात्मक, इन्जिनियरिङ र वास्तुका दृष्टिकोणबाट टावर ढल्नुको विश्लेषण गरेको थियो।
घातक संयोग
एमआईटीको त्यो अनुसन्धान सन् २००२ मा प्रकाशन भएको थियो, जुन अनुसन्धान अमेरिकी सरकारको नेसनल इन्स्टिच्युट अफ स्टान्डर्ड (एनआईएसटी) ले निकालेको निष्कर्षसँग निकै हदमसम्म मिल्यो। ती भवन ढल्नाको कारण जाँच गर्ने जिम्मेवारी पाएको एनआईएसटीले सन् २००८ मा आफ्नो प्रतिवेदन गरेको थियो।

एमआईटी र एनआईएसटी दुवैले के निष्कर्ष निकाले भने टावर ढल्नुका पछाडि २ ठूला कारण एकसाथ हुनु हो।
पहिलो– विमानको ठक्करबाट दुवै भवनका संरचनामा गम्भीर क्षति पुग्यो।
दोस्रो– ठक्करपछि भवनमा लागेको आगो धेरै तलासम्म फैलिनु।
काैसल भन्छन्, ‘यदि त्यहाँ आगो नलागेको भए भवन त्यसरी ढल्ने थिएनन्।’
उनी अगाडि भन्छन्, ‘यदि त्यहाँ आगो मात्रै लागेको र संरचनात्मक क्षति नभएको भए पनि ट्विन टावर ढल्ने थिएनन्।’
इन्जिनियर काैसलका अनुसार भवनको प्रतिरोधी क्षमता त धेरै थियो।
एनआईएसटीको प्रतिवेदनअनुसार आधिकारिक दस्तावेजले के संकेत गर्छन् भने ती टावर बोइङ ७०७ विमानको ठक्करजतिकाे स्थिति सामना गर्न सक्नेगरी बनाइएका थिए।
तर एनआईएसटीका अनुसन्धानकर्ताले यो निष्कर्षसम्म पुग्न अपनाइएको मापदण्ड र विधिबारे भने कुनै जानकारी दिएनन्।

ट्विन टावर्स कसरी बनाइएका थिए?
सन् १९९६० मा टावर निर्माण सुरु गर्दा उनीहरूसँग तत्कालीन मापदण्डमा आधारित एउटा डिजाइन थियो। दुवै भवन स्टिल र कंक्रिटबाट बनाइएका थिए, जसमा लिफ्ट र सिँढी थिए।

आगोलाई हावाको साथ
दुवै टावरमा ठूलो आकारका विमानले ठक्कर दिएका थिए। भवन बनाइएको थियो– बोइङ ७०७ को ठक्कर खेप्न सक्ने, तर ठक्कर दियो त्यसभन्दा धेरै ठूलो बोइङ ७६७ ले।
एनआईएसटीको रिपोर्टअनुसार विमानको ठक्करका कारण भवनको स्तम्भमा गम्भीर क्षति पुग्यो, जसले स्टिलको बिम र स्तम्भको संरचना ढाकेर बसेको फायरप्रुफ इन्सुलेटरलाई छुट्याइदियो।
कौसल भन्छन्, ‘ठक्करबाटद जुन कम्पन उत्पन्न भयो, त्यसले स्टिलमा राखिएको फायरप्रुफ कोटिङ तोडिदियो र सहजै बिममा आगो सल्कियो।
यसले गर्दा पूरै भवनमा आगो सल्किन बाटा खुला भयो र संरचनामा क्षति पुग्यो।
आगो फैलिरहेका बेला भवनको तापक्रम हजार डिग्री सेन्टिग्रेडसम्म पुगेको थियो। जसका कारण झ्यालका सिसा चर्किए, फुटे। जब झ्यालका सिसा फुटेर हावा भित्र छिर्न थाले तब आगोलाई फैलिन झन् मद्दत पुग्यो।
काैसल भन्छन्, ‘हावा भेटेपछि आगो फैलियो।’

उड्ने बम
आधिकारिक तथ्यांकअनुसार प्रत्येक विमानमा झन्डै १० हजार ग्यालन (३७ हजार ८५० लिटरभन्दा बढी) इन्धन थिए।
काैसल भन्छन्, ‘ती आफैंमा उड्ने बम थिए।’
विमान भवनमा ठोकिएपछि निस्केको आगोमा त्यो इन्धन सल्कियो भने धैरै इन्धन टावरका तल्ला तलामा पनि झर्यो।
यसले आगो फैलिन झन् मद्दत पुग्यो, साथै अन्य प्रज्वलनशील पदार्थ पनि आगलागी भयानक बनाउन सहयोग गरे।
एमआईटीका इन्जिनियर दनदनी सल्एिको आगोले दुइटा काम गरेको बताउँछन्।
पहिलो– तीव्र तापक्रमले प्रत्येक तलाका बिम र स्ल्याब पग्लिए, जसका कारण बिमबाट स्ल्याब छुट्टियो। साथै बिम फैलिएर स्तम्भलाई बाहिर धकेलिदियो।
फेरि त्यहाँ अर्काे असर पर्यो।
आगोको ज्वालाले बिमको स्टिललाई नरम पार्न सुरु गर्यो, जसले गर्दा त्यो लचिलो भयो। यसले ट्विन टावरको बलियो संरचनालाई डोरीजस्तो बनायो र पूरै भवनले पिलरलाई भित्र धकेल्न थाल्यो।
काैसल भन्छन्, ‘यो टावरका लागि घातक थियो।’
एनआईएसटीको प्रतिवेदनअनुसार पिलर धनुष्टंकार भएर ढल्न थाले। जुन बिमसँग ती जोडिएका थिए, तिनलाई भित्र तान्न थाले।
कौसेलको थप विश्लेषणमा बिमले पिलरलाई यति जोडले तानिरहेका थिए कि नट बोल्टसम्म खुस्किए, जसले पिलरलाई बाँधेर राखेका थिए। जसले गर्दा तला झर्न थाले र तिनको भग्नावशेषले तलका भागमा ठूलो भार थपे। यसअघि नै कमजोर भइसकेका पिलरमा थप दबाब पर्यो।
फलस्वरूप भवन पूर्ण रूपमा ढल्यो।
केही सेकेन्डमै दुवै भवन गायब भए, तर भग्नावशेषको आगो धेरै दिनसम्म सल्किरह्यो। बीबीसीबाट
यो पनि–
त्यो दिन अमेरिकाका यी दुई विशाल भवनमा विमान ठोक्काउने को थिए?
Shares

प्रतिक्रिया