सन् २००१ आजकै दिन अर्थात् सेप्टेम्बर ११ मा विश्वकै सबैभन्दा खतरनाक आतंकवादी हमला भएको थियो।
आतंकवादीहरूले दुई अमेरिकी यात्रुवाहक विमानलाई न्युयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरका दुई गगनचुम्बी भवनमा ठोक्काइदिएका थिए। जसमा झन्डै ३ हजार मानिसको मृत्यु भएको थियो।

त्यस दुर्घटनाले अमेरिकामा मात्र नभएर विश्वमै हलचल ल्याएको थियो। यसैकारण यसलाई विश्वकै सबैभन्दा खतरनाक हमला मानिन्छ।
केलाई लक्ष्य गरिएको थियो?
पूर्वी अमेरिकामा त्यस दिन चार यात्रु विमान आत्मघाती आक्रमणकारीले अपहरण गरेका थिए। त्यसपछि उनीहरूले यी विमानलाई न्युयोर्क र वासिङ्टनका प्रसिद्ध भवनमा ठोक्काउने योजना बनाए। तीमध्ये दुई विमान न्युयोर्कको वर्ल्ड ट्रेड सेन्टरमा रहेका दुई गगनचुम्बी भवनमा ठोक्काइए।

एउटा विमान स्थानीय समयानुसार ८ बजेर ४६ मिनेटमा उत्तरी टावरमा ठोक्काइयो भने अर्काे विमान ९ बजेर ३ मिनेटमा दक्षिणी टावरमा ठोक्काइएके थियो।
यसपछि दुवै भवनमा आगलागी भयो।
भवनका माथिल्ला तलामा मानिस फसेका थिए भने पूरै सहर धुवाँको मुस्लोले ढाकेका थियो। दुई घण्टाभित्र ११० तले भवन हेर्दाहेर्दै ध्वस्त भयो।
त्यसको केही क्षणपछि ९ बजेर ३७ मिनेटमा तेस्रो विमान वासिङ्टन डिसीदेखि केही पर रहेको अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनमा ठोक्काइयो।
यस्तै चौथो विमान भने १० बजेर ३ मिनेट जाँदा अमेरिकाकै पेन्सेल्भिनियाको मैदानमा दुर्घटना भयो।
भनिन्छ– यो विमानलाई अतिवादीहरूले वासिङ्टन डिसीमै रहेको क्यापिटल बिल्डिङमा ठाेक्काउन लगिरहेका थिए।
कति जनाको मृत्यु भयो?
उक्त दुर्घटनामा कूल २ हजार ९ सय ७७ जना (आतंककारी छाडेर) को मत्यु भएको थियो, जसमध्ये धेरैजसोको मृत्यु न्युयोर्कमा भएको थियो।
उक्त दुर्घटनामा मृत्यु भएकामा सबैभन्दा कम उमेरकी थिइन्, २ वर्षीया क्रिस्टिन ली ह्यान्सन। उनीसँगै उनका बुबाआमाको पनि मृत्यु भएको थियो।
यस्तै दुर्घटनामा मृत्यु भएकामा सबैभन्दा बढी उमेरका थिए– ८२ वर्षीय रोबर्ट नोर्टन, जो आफ्नी पत्नी ज्याकलिनसँग एउटा विवाह समारोहमा सहभागी हुन जाँदै थिए।
एक अनुमानअनुसार पहिलो विमान ठोक्काइँदै गर्दा वर्ल्ड ट्रेड टावरमा कम्तीमा १७ हजार ४ सय मानिस थिए। विमान ठोक्काइएकाे उत्तरी टावरका एक जना पनि बाँचेनन् भने दक्षिणी टावरमा १८ जना बाँच्न सफल भएका थिए।
मारिनेमा ७७ देशका नागरिक थिए। यसबाहेक भवनको भग्नावशेषले लागेर पनि न्युयोर्क सहरका ४४१ जनाको मृत्यु भएको थियो।
यस आक्रमणमा हजारौं मानिस घाइते भए, यीमध्ये पछि कति जना रोगी भए। त्यसमा दमकल कर्मचारी पनि थिए।
को थिए आक्रमणकारी?
इस्लामी अतिवादी समूह अलकायदाले अफगानिस्तानबाट उक्त आक्रमण गरेको थियो। अलकायदा प्रमुख ओसामा बिन लादेनले मुस्लिम मुलुकहरूमा जारी द्वन्दुवको दोष अमेरिका र उसका मित्र राष्ट्रलाई लगाएका थिए।
अलकायदाका १९ जना आक्रमणकारीले ती आत्मघाती हमला गरेका थिए। तीन समूहमा ५/५ जना बाँडिएका थिए भने चौथो समूह (पेन्सेल्भियामा दुर्घटनाग्रत विमान) मा चार जना थिए।
यी १९ जनामा १५ जना अतिवादी साउदी अरबका थिए भने दुई जना संयुक्त अरब इमिरेट्सका तथा एक/एक जना इजिप्ट र लेबनानबाट थिए।
आत्मघाती आक्रमणपछि अमेरिकाले के भन्यो?
११ सेप्टेम्बर मा भएको त्यस्तो भयानक आत्मघाती हमलाको एक महिनाभित्र तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसले अलकायदा तथा ओसामा बिन लादेनको अन्त्य गर्न अफगानिस्तानमा हमला गराए। अमेरिकाले यस अभियानमा अन्य देशको पनि सहयोग पायो।
झन्डै १० वर्षपछि सन् २०११ मा ओसामा बिन लादेनलाई अमेरिकी सैनिकले पाकिस्तानको एबटाबादमा मारिदिए।
११ सेप्टेम्बरमा भएको आक्रमणका योजनाकार खालिद शेख मोहम्मद सन् २००२ मा पाकिस्तानमा पक्राउ परे। त्यसपछि उनलाई अमेरिकाको ग्वान्टानामो बे जेलमा राखियो। उनको मुद्दाबारे अझै सुनुवाइ सुरु भएको छैन।
आतंकवादी संगठन अलकायदा अहिले पनि सक्रिय नै छ। अहिले यो संगठन अफ्रिकाको सबसहारा क्षेत्रमा बढी बलियो छ, तर यसका सदस्य अफगानिस्तानमा पनि छन्।
२० सालपछि अमेरिकी सैनिक गत महिना मात्र अफगानिस्तानबाट स्वदेश फर्किएको छ। योसँगै विश्व समुदायले इस्लामी अतिवादी फेरि सक्रिय हुन सक्ने शंका गरेको छ।
११ सेप्टेम्बरको हमलापछि परिवर्तन भएका कुरा
११ सेप्टेम्बर को आत्मघाती आक्रमणपछि विमानको सुरक्षा व्यवस्था कडा बनाइएको छ।
अमेरिकामा विमानस्थल र विमान जाँचका लागि विशेष टोली ट्रान्सपोर्टेसन सेक्युरिटी एडमिनिस्ट्रेसन गठन गरिएको छ।
न्युयोर्कमा वर्ल्ड ट्रेड टावरका भग्नावशेष हटाउन ८ महिनाभन्दा बढी समय लाग्यो। त्यस स्थानमा स्मारक र संग्रहालय बनाइएका छन् भने फरक स्वरूपमा पुनः घर ठड्याइएका छन्।
वर्ल्ड ट्रेड सेन्टरको भवनलाई अहिले ‘फ्रिडम टावर’ भनिन्छ। अहिलेको भवन पहिलेको उत्तरी टावर (१३६८ फिट) भन्दा झन्डै ४ सय फिट बढी अर्थात् १७७६ फिट अग्लो छ।
पेन्टागनमा नष्ट भएको भाग भने एक वर्षभित्र बनाइएको थियो भने त्यहाँ सन् २००० अगस्टदेखि विभागका कर्मचारी बस्न थाले। बीबीसीबाट
Shares

प्रतिक्रिया