ग्लोबल


एनआरएनए नयाँ कार्यसमितिको पहिलो बैठकः शेष घले प्रमुख संरक्षक, काेषलाई १ कराेड

एनआरएनए नयाँ कार्यसमितिको पहिलो बैठकः शेष घले प्रमुख संरक्षक, काेषलाई १ कराेड

नेपालखबर
कात्तिक ३, २०७६ आइतबार ११:४,

गैरआवासीय नेपाली संघ नवौँ कार्यसमितिको पहिलो बैठकले प्रमुख संरक्षकमा पूर्वअध्यक्ष शेष घलेलाई मनोनीत गरेको छ। संरक्षकहरुमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, देवमान हिराचन र भवन भट्ट तथा पूर्वसंरक्षक रामप्रताप थापालाई संरक्षक समितिको सदस्यको रुपमा मनोनीत गरिएको छ।

पहिलो बैंठकले श्रमिक कल्याणकारी कोषका लागि १ करोड ६ लाख रुपैयाँ प्रदान गर्ने पनि निर्णय गरेको छ। गैरआवासीय नेपाली संघको नवनिर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकमा सदस्यहरुले वैदेशिक रोजगारीमा पीडितहरुलाई सहयोग गर्ने हेतुले स्थापित श्रमिक कल्याणकारी कोषका लागि १ करोड ६ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता गरेका हुन्।

संघका अध्यक्ष कुमार पन्तको प्रस्तावमा संघका नवनिर्वाचित पदाधिकारी एवं सदस्यले सो रकम दिने घोषणा गरेका हुन्। आज सम्पन्न बैठकले १९ वटा एजेन्डामाथि बृहत छलफल गरेको थियो। बैठकले यस अघिनै थालिएका कार्यक्रम र सुरु गरिएका पहलहरुलाई निरन्तरता दिने समेत निर्णय गरेको छ।

बैठकले सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष २०२० मा सहकार्य गर्नका लागि निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा समिति गठन गरेको छ। यस्तै पूर्वाधार विकासका लागि १० अर्बको लगानी भित्र्याउने अभियान अगाडि बढाउन अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक समिति बनाई १ महिनाभित्र कार्ययोजना प्रस्तुत गर्न बैठकले निर्णय गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ।

संघको निर्वाचन विद्युतीय पद्धतिबाट प्रत्यक्ष मतदानमार्फत गर्न र निःशुल्क सदस्यताबारे अध्ययन गर्न उपाध्यक्ष मन केसीको संयोजकत्वमा एक समिति गठन गरेको छ र यस समितिमा महासचिव डा. हेमराज शर्मा, सचिव गौरीराज जोशी र कोषाध्यक्ष महेश श्रेष्ठ रहेका छन्।

बैठकले महासचिव शर्माको संयोजकत्वमा विशेष महाधिवेशन बोलाउने तयारी गर्ने निर्णय समेत गरेको छ। विशेष महाधिवेशनले संघको संस्थागत संरचना र निर्वाचन प्रणालीको परिवर्तन गर्नेछ। संघको काठमाडौंस्थित सचिवालयलाई चुस्त बनाउन डा. शर्माको नेतृत्वमा एक समिति गठन गरेको छ।

संस्थाको आर्थिक प्रतिवेदन तयार गर्न कोषाध्यक्ष महेश श्रेष्ठको संयोजकत्वमा एक समिति निर्माण गर्ने निर्णय गरेको छ। आगामी दुई वर्षका लागि मार्गचित्र कोर्न निकट भविष्यमा एक कार्यशालाको आयोजना गर्ने भएको छ।

बैठकले पाँच उपाध्यक्षहरुको नेतृत्वमा पाँच विभाग (वैदेशिक रोजगार, परोपकारी तथा मानवकल्याण, व्यापार तथा लगानी, सीप, ज्ञान र नवप्रवर्तन, नेपाल प्रवर्द्धन) निर्माण गर्ने र विभागमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यहरु र सम्बन्धित क्षेत्रका विज्ञहरुको रहने व्यवस्था गरेको छ। एनआरएनए फाउण्डेसन स्थापना गरी सबै परोपकारी कार्यक्रम यसै फाउण्डेसनमार्फत एकद्वार प्रणालीबाट गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .