ad ad

राजनीति


कास्की २ः नेकपा संगठन सुदृढीकरणमा, कांग्रेसलाई १० हजार तिरेका १६ को सकस

कास्की २ः नेकपा संगठन सुदृढीकरणमा, कांग्रेसलाई १० हजार तिरेका १६ को सकस

वाशुदेव मिश्र
कात्तिक ३, २०७६ आइतबार ११:१०,

आउँदो मंसिर १४ गते हुने कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि निर्वाचन आयोगले कार्तिक २१ गते मनोनयपत्र बुझाउने कार्यतालिका सार्वजनिक गरेको छ।

तिहारलगत्तैको चुनावी प्रक्रिया सुरु हुनेबारे यहाँ क्रियाशील सबै दल जानकार छन्। तर, चुनाव नजिकिँदा गर्दा समेत ठूला दलले सो क्षेत्रबाट कसलाई उम्मेदवार बनाउने भन्ने सार्वजनिक गर्न सकेका छैनन्।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि खाली भएको निर्वाचन क्षेत्रमा उनकै पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पनि उम्मेदवार तय गरेको छैन। नेकपाबाट केही नामहरु चर्चामा आए पनि टिकटको अन्तिम टुंगो केन्द्रले नै लगाउने निश्चित छ। उम्मेदवार टुंगो नलागे पनि नेकपाले चुनाव केन्द्रित बैठकहरु भने नियमित आयोजना गर्दै आएको छ।

पूर्वएमाले र माओवादी केन्द्रको एकताको लामो समयपछि नेकपाको नगर र तल्ला कमिटीहरुले पूर्णता पाएका छन्। त्यसैले नेकपा आउँदो चुनावमा वडास्तरीय कमिटीहरुलाई सक्रिय बनाउने ध्याउन्नमा छ। आइतबार मात्रै पनि वडा नम्बर ४ र ९ को बैठक बस्यो। बैठकमा पार्टीका जिल्ला तहका नेताहरुको उपस्थिति थियो। निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने यी वडाको भेलाले चुनावमा सक्रियतापूर्वक लाग्ने निर्णय ग¥यो।

‘उम्मेदवार को बनाउने भन्ने वडाले निर्णय गर्ने कुरा भएन तर चुनाबी नतिजा आफ्नो पक्षमा पार्नुपर्छ भन्ने छलफल भयो’, बैठकमा सहभागी एक जिल्ला नेताले भने, ‘यी दुबै वडा तुलनात्मक रुपले नेकपाको लागि चुनौतिपूर्ण वडा भएकाले पनि हामी बढी खट्नुपर्छ भन्ने निष्कर्ष हो।’ पोखरा महानगरपालिका वडा नम्बर ४ मा गएको चुनावमा कांग्रेसका शंकर बास्तोला निर्वाचित भएका थिए। उनले गएको चुनावमा ८ सय १७ मत पाए भने प्रतिस्पर्धीले ६ सय ३२ मत पाएका थिए।

वडा नम्बर ९ मा कांग्रेसका वडाध्यक्षले ११ सय ७४ र एमाले वडाध्यक्ष उम्मेदवारले ९ सय ७४ मत पाएका थिए। तत्कालीन माओवादी केन्द्रले पाएको भोट ३ सय १३ र राप्रपाको १ सय ४१ मत थियो।

नेकपाले अहिले सबैजसो वडामा आफ्नो अवस्था के छ भन्ने समीक्षा गरेको छ भने आन्तरिक तयारी पनि तीव्र बनाइएको छ। उम्मेदवार भने कार्तिक १० गते आसपासमा सिफारिस गर्ने तयारी नेकपाको रहेको छ। नेकपा कास्कीका सह–इन्चार्ज श्रीनाथ बरालका अनुसार आन्तरिक रुपले आएका नामहरु केन्द्रमा पठाएपछि उम्मेदवार केन्द्रले नै तोक्नेछ।

सचिवालय सदस्य वामदेव गौतमले चुनाव नलड्ने घोषणा गरेपछि सो क्षेत्रमा नेकपाबाट सोमनाथ अधिकारी प्यासी, तुलबहादुर गुरुङ धनराज आचार्य, राजकाजी गुरुङ ‘करण’, विद्या भट्टराई, श्रीनाथ बराल, शारदा सुवेदी, भीम कार्की लगायतको चर्चा भइरहेको छ।

अघिल्लो चुनाब करिब ८ हजार मतान्तरले हारेको नेपाली कांग्रेसबाट यो पटक सो क्षेत्रको लागि पुराना नेताहरु खेमराज पौडल, महादेव गुरुङ, सोभियतबहादुर अधिकारी, निर्मल कर्माचार्यले पनि उम्मेदवार बन्ने चाहना देखाएका छन्। यीमध्ये महादेव गुरुङले पूर्वमन्त्री पनि हुन्। सुरुमा २, त्यसपछि ३, फेरि ४ र पछिल्लो समय ३ वटा क्षेत्र बनाइएको कास्कीमा महादेवले क्षेत्र नम्बर २ बाटै २०५४ सालको चुनाव जितेका थिए। उनी कास्कीको तत्कालीन क्षेत्र नम्बर ४ बाट २०७० सालको संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका थिए। तर, विजयी बन्न सकेनन्। खेमराज पौडेल कांग्रेसमा निष्ठावान तर अभागी नेता मानिन्छन्।

पहिलो संविधानसभाको निर्वाचनमा कांग्रेसबाट सोभियतबहादुरले टिकट पाए पनि नतिजा रवीन्द्र अधिकारीलाई सुम्पेका थिए। २ हजारभन्दा कम मतले सोभियतलाई जितेपछि रवीन्द्रले राजनीतिमा पछाडि फर्कनु परेन। उनी तत्कालीन एमालेबाट कास्कीको सोही क्षेत्रमा उम्मेदवार बन्दै गए, विजयी हुँदा उनले मतान्तर पनि बढाउँदै लगे।

गएको फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उनले नै प्रतिनिधित्व गर्ने कास्की निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुन लागेको हो। गएको चुनावमा रवीन्द्रसँग मैदानमा नेपाली कांग्रेसका देवराज चालिसे रहेका थिए। देवराज रवीन्द्रभन्दा ८ हजार ५ सय ४६ मतान्तरले पछि परेका थिए। यो पटक कांग्रेसको तर्फबाट उम्मेदवार बन्ने दौडमा उनी नै सबैभन्दा अघि छन्। देवराज स्वयंले पनि आफू अझै साढे २ वर्ष जनताकै बीचमा बस्नु पर्ने भएकोले स्वभाविक उम्मेदवार भएको जिकिर गरिरहेका छन्। यसका अलावा कांग्रेसबाट क्षेत्र नम्बर २ का सभापति माधव बास्तोला‘ मधु’ महासमिति सदस्य ऋषि काफ्ले, कृष्ण कार्कीसहित वीरेन्द्रनारायण विजुक्छे, गुरु बराल, विजय आचार्य, केशव निर्दोषीले पनि उम्मेदवार बन्ने आकांक्षा देखाएका छन्।

यसैगरी कास्की कांग्रेसकी कोषाध्यक्ष लक्ष्मी पाण्डेसहित खेमकुमारी बराल, रंगिला आचार्य, विमला भण्डारीले पनि उम्मेदवारको दावी गरेको क्षेत्रीय सभापति बास्तोलाले जनाए। उनीहरुले उम्मेदवारको आकांक्षी बन्न १० हजार रुपैयाँ तिरेका थिए। १० हजार तिरेरै उम्मेदवारको निवेदन हाल्न पाइने भएपछि केही कनिष्ट कांग्रेसीहरु पनि उम्मेदवारको लिस्टमा दरिन पुगे।

पार्टी केन्द्रीय कमिटीले ३ जनाको नाम सिफारिस गरेर पठाउने निर्देशन दिएको दुई हप्ता बित्दा पनि कांग्रेसले ३ जनाको टुंगो लगाउन सकेको छैन। उम्मेदवारको टुंगो लगाउन आइतबार बसेको क्षेत्रीय कमिटीको बैठकले पनि यो विषयमा निर्णय गर्न सकेन। कसको नाम काट्ने र कसको राख्ने भन्नेमा एकमत हुन नसक्दा बैठकले निर्णय लिन नसकेको हो।

आइतबारको बैठकमा क्षेत्र नम्बर २ मै बस्ने व्यक्तिहरुलाई सिफारिस गर्ने प्रयास गरिए पनि विरोधका कारण त्यो प्रयास सफल हुन सकेन। बैठक अहिले पनि जारी छ तर निर्णय हुने सम्भावना कम छ।

अन्य साना पार्टीहरु पनि उम्मेदवार घोषणाको चरणमा रहेका छन्। साझा पार्टीबाट सम्भावित उम्मेदवार रजनी केसीले शुभेच्छुकहरुसँग भोट माग्न थालिसकेकी छन्। उनी भर्खरै कांग्रेस छाडेर साझामा गएकी हुन्।

मंसिर १४ गतेको उपनिर्वाचनमा ७१ हजार आठ सय ७१ जनाले मतदान गर्दैछन्। अघिल्लो चुनाव अर्थात् २०७४ सालमा सो क्षेत्रको मतदाता संख्या ७० हजार ६ सय ५१ रहेको थियो। यो चुनावमा १ हजार २ सय २० जना मतदाता बढेका हुन्।

निर्वाचन आयोगका अनुसार कास्की क्षेत्र नम्बर २ मा यो पटक ३२ मतदान स्थल तथा ८२ वटा मतदान केन्द्र रहनेछन्। वडा नं. १७ स्थित पार्दी माविको मतदान केन्द्रमा सबैभन्दा बढी ५०२८ जना र वडा नं. १६ को दिपज्योती आधारभूत विद्यालयको केन्द्रमामा सबैभन्दा कम ७०८ जनामात्रै मतदाता रहेका छन्। पोखरा लेखनाथ महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ नम्बर वडाहरु यो क्षेत्रमा पर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .