ad ad

ग्लोबल


काबुलमा तालिबान : मुल्ला बरादर बन्न सक्छन् नयाँ राष्ट्रपति

काबुलमा तालिबान : मुल्ला बरादर बन्न सक्छन् नयाँ राष्ट्रपति

नेपालखबर
साउन ३१, २०७८ आइतबार २०:५५, काठमाडौँ

अफगानिस्तान आइतवारदेखि तालिबानको कब्जामा गएको छ। आइतवार दिउँसो तालिबानहरु काबुल प्रवेश गर्नेबित्तिकै असरफ घानीको सरकार सम्झौताका लागि तयार भएको थियो। 

तालिबानले पकड बनाएपछि राष्ट्रपति घानी र उपराष्ट्रपति अमिरुल्लाह सालेहले देश छाडेर ताजिकिस्तानतर्फ लागेका छन्। 

सत्ता हस्तान्तरण नसकिँदै उनीहरु देशबाट बाहिरिएका हुन्। उनीहरु दुवैजना अब ताजिकिस्तान हुँदै अमेरिका जाने बताइएको छ। 

तालिबाननिकट स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार अब अफगानिस्तानमा मुल्ला बरादर अखन्द अन्तरिम सरकारका प्रमुख हुन सक्नेछन्। 

तालिबान काबुल पुगेसँगै पुलिसले आत्मसमर्पण गर्दैछ। उनीहरुले आफ्नो हतियार तालिबानलाई सुम्पिएका छन्। 

को हुन् मुल्ला बरादर? 

अब्दुल घानी बरादर अर्थात् मुल्ला बरादर अहिले कतारमा छन्। अहिले उनी तालिबानको दोहास्थित कार्यालयमा  राजनीतिक प्रमुख छन्। 

राष्ट्रपति बनाउने कुरामा तालिबानले कयौँ नाममाथि चर्चा गरिरहेको छ। यस्तोमा मुल्लाको नाम शीर्षमा छ। उनी अफगानिस्तानमा तालिबानका सह-संस्थापक हुन्।

बरादर तालिबानका संस्थापकमध्ये एक हुन्। तालिबानको राजनीतिक नेतृत्व उनैले गर्छन्। कतारको दोहामा अमेरिकासँग वार्ता गर्ने समूहमा पनि उनी छन्। 

उनी मुल्लाह ओमरका सबैभन्दा विश्वासिला कमान्डरमध्ये एक भएको बताइन्छ। उनी पाकिस्तानको कराँचीमा सन् २०१० मा पक्राउ परेका थिए। सन् २०१८ मा उनी मुक्त भएका हुन्। 

तालिबानले हिंसा चाहेन 

यसअघि अफगानिस्तानका कार्यवाहक गृहमन्त्री अब्दुल सत्तार मिरजकवालले तालिबानले काबुलमाथि हमला नगर्न तयार भएको बताएका थिए। 

उनीहरु शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण चाहन्छन्, अन्तिममा यही विधि त्यहाँ प्रयोग भएको छ। 

तालिबानले पनि नागरिकलाई आफ्नो सुरक्षामा निश्चिन्त हुन भनेको छ। तालिबानले पनि विज्ञप्ति निकालेर सबै नागरिकको सुरक्षा ग्यारेन्टी लिने बताएको छ

तालिबानले काबुलका चार बाहिरी जिल्लामा कब्जा गरेर सहरमा छिरेको थियो। सारोबी, बगराम, पगमान र काराबाग कब्जा गरेपछि तालिबानी लडाकु काबुल छिरेका थिए। 

काबुलका नागरिकहरुले त्यहाँका सर्वसाधारणका घरमा तालिबानलले सेतो झण्डा गाडिरहेको बताएका छन्। 

तालिबानले काबुलको बगराम जेलपछि पुल-ए-चरखी जेल पनि तोडेको छ। त्यहाँबाट करिब ५ हजार कैदी भगाइएको छ। पुल-ए-चरखी अफगानिस्तानको सबैभन्दा ठूलो जेल हो। यहाँ धेरैजसो तालिबानकै लडाकु थिए। 

तालिबानले यसअघि नै काबुल कब्जा गर्दा लडाइँ नहुने बताएको थियो। शान्तिपूर्वक सत्ता हासिल गर्ने प्रयासमा तालिबान लागेको थियो। 

तालिबान त्यहाँ शान्तिपूर्ण रुपमा छिर्न चाहिरहेको थियो। अन्तिममा उसले चाहे जस्तै भएको छ। उसले काबुलका सबै नागरिकको ज्यान धनको सुरक्षा ग्यारेन्टी गर्ने बताएको थियो। 

तालिबानले आफ्नो उद्धेश्य कसैसँग बदला लिने नभएको बताइसकेको थियो। आफूविरुद्ध लड्नेलाई पनि माफी दिने घोषणा तालिबानले गरेको छ। तर सरकारी सञ्चारमाध्यमले भने काबुलका कयौँ क्षेत्रमा गोली र बमको आवाज सुनिएको जनाएका छन्।

यो पनिः
अफगानिस्तानका राष्ट्रपति देश छाडेर ताजिकिस्तानतर्फ भागे
यी हुन् तालिबानका शीर्ष नेता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .