राजनीति


यी हुन् तालिबानका शीर्ष नेता

यी हुन् तालिबानका शीर्ष नेता

नेपालखबर
साउन ३१, २०७८ आइतबार १६:३५, काठमाडौँ

अफगानिस्तानमा धार्मिक कट्टरपन्थी समूह तालिबान सत्ता कब्जाको मुखैमा पुगेको छ। देशका मुख्य सहरहरु कब्जा गरेपछि तालिबान लडाकुहरु राजधानी काबुलभित्र छिर्न थालेका छन्। 

यद्यपि तालिबानले बलपूर्वक काबुल कब्जा नगर्ने बताएको छ। कायममुकायम गृहमन्त्री अब्दुल सत्तार मिर्जाकवालले पनि शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुने बताएका छन्। यसबारे छलफल गर्न तालिबानका प्रतिनिधि राष्ट्रपति भवन पुगेका छन्। 

विदेशी नागरिकहरु धमाधम बाहिरिँदै गर्दा कूटनीतिक नियोगहरु खाली गरिँदैछ। तालिबानी लडाकुहरु काबुल छिर्दै अमेरिकी कूटनीतिज्ञहरु भने हेलिकोप्टर चढेर अफगानिस्तानबाट बाहिरिएका छन्।

सन् २००१ मा सत्ताच्यूत भएपछि तालिबान निरन्तर सरकार र पश्चिमा सेनासँगको लडाइँमा थियो। यो सशस्त्र समूह सन् १९९४ मा गठन भएको थियो। त्यसबेलाको गृहयुद्धमा मुजाहिद्दिन भनिने लडाकुहरुले नै मिलेर यो समूह बनाएका थिए। जसले सन् १९९६ मा मुलुकको अधिकांश हिस्सा कब्जा गरे सरिया कानुन लागू गरेको थियो। 

तालिबानका संस्थापक नेता थिए मुल्लाह मोहम्मद ओमर। अमेरिका नेतृत्वको सैन्य गठबन्धनले सत्ता पल्टाएपछि उनी भूमिगत भएका थिए। त्यसपछि लामो समय उनी कहाँ छन्, के गर्दैछन्, केही थाहा भएन। एकै पटक २०१३ मा उनी मारिए। तर, त्यसको खुलासा उनका छोराले मारिएको दुई वर्षपछि मात्रै गरे। 

तालिबान सत्तामा आएपछि अफगानिस्तानको नेतृत्व कसले गर्ला? यो समूहका प्रमुख नेता को हुन् त? अहिले तालिबानलाई मुख्यगरी यी ६ नेताले हाँकिरहेका छन्ः

१. हैबतुल्लाह अखुन्जादा
अखुन्जादा तालिबानका सर्वोच्च नेता हुन्। तालिबानको राजनीतिक, धार्मिक र सैन्य मामिलामा अन्तिम निर्णय उनैले गर्छन्। 

यसअघिका सर्वोच्च नेता अख्तर मन्सुर २०१६ मा अफगानिस्तान र पाकिस्तानको सीमामा अमेरिकी ड्रोन आक्रमणमा मारिएपछि अखुन्जादाले नेतृत्व सम्हालेका हुन्। 

मे २०१६ मा अचानक गायब हुनुअघि १५ वर्षसम्म अखुन्जादाले दक्षिणपश्चिम पाकिस्तानमा पर्ने कुचलाकको मस्जिदमा पढाएका थिए। 

अखुन्जादा करिब ६० हाराहारीको भएको अनुमान गरिन्छ।

२. मुल्लाह मोहम्मद याकुब
याकुब तालिबानका संस्थापक नेता मुल्लाह ओमरका छोरा हुन्। याकुब तालिबानको सैन्य गतिविधिको नेतृत्व गर्छन्। स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार उनी अफगानिस्तानभित्रै छन्। 

यसअघि नेतृत्व परिवर्तनको प्रतिस्पर्धा हुँदा उनलाई पटकपटक मुख्य नेतृत्व सुम्पिने प्रस्ताव गरिएको थियो। 

तर, याकुबले २०१६ मा अखुन्जादालाई अगाडि सारे। आफू कम उमेरको भएको र युद्धभूमिको अनुभवको अभाव रहेको भन्दै उनी नेतृत्व लिनबाट पछि हटेको बताइएको छ। 

याकुब भर्खरै ३० कटेका छन्।

३. सिराजुद्दिन हक्कानी
मुजाहिद्दिनका कमान्डर जलालुद्दिन हक्कानीका छोरा हुन् सिराजुद्दिन। उनी हक्कानी सञ्जालका नेता पनि हुन्। यो सञ्जालले अफगानिस्तान र पाकिस्तानमा तालिबानको वित्तीय र सैन्य सम्पत्ति परिचालन गर्छ। 

अफगानिस्तानमा आत्मघाती बम आक्रमणको सुरुवात हक्कानीहरुले नै गराएको कतिपयको विश्वास छ। काबुलको होटलमा भएको आक्रमण, तत्कालीन राष्ट्रपति हमिद कारजाइको हत्याप्रयासजस्ता आक्रमण यही सञ्जालले गराएको विश्वास गरिन्छ। 

सिराजुद्दिन ५० वर्ष हाराहारीको भएको बताइन्छ। 

४. मुल्लाह अब्दुल गानी बरादर
बरादर तालिबानका संस्थापकमध्ये एक हुन्। तालिबानको राजनीतिक नेतृत्व उनैले गर्छन्। कतारको दोहामा अमेरिकासँग वार्ता गर्ने समूहमा पनि उनी छन्। 

उनी मुल्लाह ओमरका सबैभन्दा विश्वासिला कमान्डरमध्ये एक भएको बताइन्छ। उनी पाकिस्तानको कराचीमा सन् २०१० मा पक्राउ परेका थिए। २०१८ मा उनी मुक्त भएका हुन्। 

५. शेर मोहम्मद अब्बास स्तानिकजाइ
अघिल्लो पटक तालिबान सत्तामा हुँदा स्तानिकजाइ उपमन्त्री थिए। सत्ताच्यूत भएपछि उनी करिब एक दशक दोहामा बसे। सन् २०१५ मा उनी दोहास्थित तालिबानको कार्यालय प्रमुख बने। 

उनी सरकारसँगको वार्तामा पनि सहभागी थिए। तालिबानको कूटनीतिक टोलीमा सहभागी भएर उनले विभिन्न मुलुक भ्रमण गरेका छन्। 

६. अब्दुल हकिम हक्कानी
तालिबानको वार्ता टोलीका प्रमुख हुन् हक्कानी। उनी धार्मिक विद्वानहरुको परिषद्का प्रमुख पनि हुन्। यो परिषद् शक्तिशाली मानिन्छ। त्यसमाथि उनी अखुन्जादाका विश्वासपात्र मानिन्छन्। (अल जजिराबाट)
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .