गण्डकी


मन र मत बदलिरहने ‘बहुदलवादी’ कास्की: क्षेत्र नम्बर १ मा यस्तो आकलन छ यसपालि

मन र मत बदलिरहने ‘बहुदलवादी’ कास्की: क्षेत्र नम्बर १ मा यस्तो आकलन छ यसपालि

कास्की १ का प्रमुख उम्मेदवार: बैनबहादुर अधिकारी (एमाले), गनेस पौडेल (रास्वपा), राजकाजी गुरुङ ‘करण’ (नेकपा) र तिलकबहादुर रानाभाट (कांग्रेस)


वाशुदेव मिश्र
माघ २२, २०८२ बिहिबार १४:३०, पोखरा

पोखराका दुई ठुला ताल फेवा र बेगनास यतिबेला शान्त छन्। हिउँदमा तालमा छाल चल्दैन। तर, गण्डकी प्रदेशको राजधानी कास्की/पोखरा यतिबेला शान्त छैन। किनकि यहाँ आउने फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनबारे व्यापक बहस भइरहेको छ।

अहिले नै यहाँको सम्भावित चुनावी परिणामबारे आकलन गर्नु त हतार होला तर खासै चर्चामा नरहेका उम्मेदवारहरू नै सही- यहाँको जित-हारले राष्ट्रिय राजनीतिमा पक्कै प्रभाव पार्नेछ। 

एकपटक इतिहासतिर फर्कौँ न!

इतिहासकार गृष्मबहादुर देवकोटाले लेखेको ‘नेपालको राजनीतिक दर्पण’का अनुसार २०३७ वैशाख २० गते भएको जनमत संग्रहमा सुधारिएको पञ्चायती व्यवस्था र बहुदलीय व्यवस्थामध्ये एक रोज्न भनिएको थियो।

पञ्चायतका लागि पहेँलो र बहुदलका लागि निलो रङमा मत मागिएको त्यो चुनावमा कास्की बहुदलका पक्षमा उभिएको थियो।

मतदानमा सहभागी ७५ हजार ३६० जनामध्ये बहुदलका पक्षमा ३९ हजार ७६९ र पञ्चायतका पक्षमा ३० हजार १२ जनाले भोट हालेका थिए भने ५ हजार ५७९ मत बदर भएका थिए। त्यो बेला कास्कीमा १ लाख ११ हजार २२१ मतदाता थिए।

यहाँको पुरानो संस्कृत पाठशाला र त्यसले जन्माएका कांग्रेसी नेता, पृथ्वीनारायण कलेजले दिएको शैक्षिक चेत र कांग्रेस सभापति बीपी कोइरालासहितका नेताहरूको आक्रामक चुनाव प्रचारको बलमा गण्डकीका ६ जिल्लामध्ये कास्की मात्रै बहुदलका पक्षमा उभिएको थियो।

त्यसपछि सुधारिएको पञ्चायतअन्तर्गत २०४३ सालमा भएको चुनावमा कास्कीले जनपक्षीय उम्मेदवार सोमनाथ अधिकारी ‘प्यासी’लाई विजयको माला पहिर्‍यायो। २०४३ वैशाख २९ गते भएको चुनावमा प्यासीले ३४ हजार ९ सय मत पाए। त्यो मत दोस्रो हुने उत्तम पुनले पाएभन्दा ९ हजार बढी थियो।

२०४८ सालको पहिलो आम निर्वाचनमा कांग्रेसका तारानाथ रानाभाट विजयी भए। प्रतिस्पर्धामा रहेका एमाले नेता खगराज अधिकारीलाई चाहिँ २०५१ सालमा त्यहाँका जनताले जिताए। 

२०५६ सालको आम निर्वाचनमा भएको हारको बदला लिँदै तारानाथले फेरि परिणाम उल्ट्याए।

२०६४ सालमा भएको पहिलो संविधान सभा चुनावमा चाहिँ कास्की-१ मा माओवादी केन्द्रका नेता देव गुरुङ विजयी भए। त्यसबेला उनी एकसाथ मनाङसहित दुई निर्वाचन क्षेत्रमा चुनाव लडेका थिए। दुवै ठाउँमा विजय प्राप्त गरेका उनले कास्की-१ छाडेपछि यहाँ लगत्तै उपनिर्वाचन भयो। उपनिर्वाचनमा पनि मतदाताले मन बदलेनन्। अर्थात् माओवादी केन्द्रकै कृष्णबहादुर गुरुङलाई जिताउँदै संविधान सभामा पठाए।

२०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा चाहिँ एमालेका खगराज अधिकारीलाई हराउँदै कांग्रेसका यज्ञबहादुर थापा विजयी बने। फेरि २०७४ सालको आम निर्वाचनमा यज्ञबहादुरलाई हराउँदै खगराज केन्द्रीय संसद्‌मा पुगे।

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा फेरि कांग्रेसका किशोरदत्त बराललाई जित्दै एमाले नेता मनबहादुर गुरुङ विजयी भए। 

कास्कीमा संविधान सभा चुनावसम्म ४ वटा निर्वाचन क्षेत्र थिए। तर त्यसयता भएको संसदीय निर्वाचनदेखि कास्कीलाई ३ क्षेत्रमा सीमित गरिएको छ।

लमजुङ र तनहुँसँग सीमा जोडिएको कास्की निर्वाचन क्षेत्र नम्बर १ मा यसपटक विभिन्न पार्टीका नयाँ अनुहार चुनावी मैदानमा छन्।

अघिल्लो जित दोहोर्‍याउने मनसुवासहित एमालेले कास्की जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीलाई उम्मेदवार बनाउँदा कांग्रेसले व्यवसायी तिलकबहादुर रानाभाटलाई उठाएको छ भने नेपाली कम्युनिस्ट पार्टीले राजकाजी गुरुङ ‘करण’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेखक गनेस पौडेल (खड्गराज पौडेल), राष्ट्रिय प्रजातन्त्र पार्टीले बाबुराम रानाभाटलाई प्रतिस्पर्धामा उतारेका छन्। 

यस्तै यस क्षेत्रमा जनता समाजवादी नेपालले रामकाजी चर्मकार, राष्ट्रिय जनमोर्चाले रविमोहन ढकाल, प्रगतिशील लोकतान्त्रिक पार्टीले कर्णबहादुर गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनले श्रीमान् थापा, नेपाल मानवतावादी पार्टीले आशबहादुर दमै, नेपाल जनमुक्ति पार्टीले मीनबहादुर दर्जी, नेसनल रिपब्लिक पार्टीले यज्ञबहादुर गुरुङ, श्रम संस्कृति पार्टीले बिलबहादुर तामाङ, नेपाल कम्युनिस्ट पार्टी माओवादीले कुमार परियार, उज्यालो नेपाल पार्टीले मनीषा द्वा,आम जनता पार्टीले हर्कबहादुर थापालाई उम्मेदवार बनाएका छन् भने एकजना कृष्णबहादुर राउतले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

क्षेत्र नम्बर १ मात्र होइन, कास्कीका सबैजसो निर्वाचन क्षेत्रले पटकपटक मत र मन बदलेका छन्।

अघिल्लो निर्वाचनको नतिजा हेर्ने हो भने यहाँ नयाँ दल र खासगरी रास्वपा बढी उत्साहित देखिन्छ भने कांग्रेस, एमाले र हाल नेकपा अर्थात् तत्कालीन माओवादी केन्द्र रक्षात्मक अवस्थामा देखिन्छन्न्।

२०७९ को चुनावमा रास्वपा छोटो तयारीमै प्रतिस्पर्धामा होमिएको थियो। जतिबेला जिल्ला र वडामा उसका संगठन थिएनन्। एक प्रकारले रास्वपा भनेकै सभापति रवि लामिछाने भनेजस्तो अवस्था थियो।

त्यो चुनावमा कास्की-१ मा सञ्चारकर्मी भएर रविले कमाएको लोकप्रियताबाट तानिएका राजु राईले सहजै उम्मेदवार बन्ने अवसर पाएका थिए।

ठुला राजनीतिक दलहरूसँग प्रतिस्पर्धामा उत्रिएका उनले पहिलोपालिमै १० हजार ९४१ मत ल्याए। समानुपातिकतर्फ भने रास्वपाले १५ हजार ८६४ भोट बटुलेको थियो। 

त्यस निर्वाचनमा एमालेका मनबहादुर गुरुङ २५ हजार ७०८ मतसहित विजयी भएका थिए। निकटतम प्रतिस्पर्धी कांग्रेसका किशोरदत्त बरालले २३ हजार १८९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले ३ हजार ८ मत ल्याउँदा हाम्रो नेपाली पार्टीका प्रमोद आचार्यले १ हजार २९ मत पाएका थिए। 

समानुपातिकतर्फ एमालेले २१ हजार ४२३, कांग्रेसले १६ हजार माओवादीले ५ हजार १०८,राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ हजार ८६६ र एकीकृत समाजवादीले १ हजार १३ मत ल्याएका थिए। १ हजार १२७ मत ल्याउँदै हाम्रो नेपाल पार्टी एकीकृत समाजवादीभन्दा अगाडि भएको थियो।

त्यो चुनावमा हाम्रो नेपाली पार्टीका पक्षमा नसोचेको मत खस्नुमा चाहिँ काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाह (बालेन) ले लिएको लौरो चुनाव चिह्न पनि कारक थियो। उम्मेदवार को भन्ने जानकारी नहुँदानहुँदै पनि त्यो पार्टीमा जनताले भोट बर्साएका थिए।

अहिले कास्की क्षेत्र नम्बर १ मा रास्वपाबाट खड्गराज (गनेस) चुनावी मैदानमा छन्। उनी यसअघिको स्थानीय तहको चुनावमा लौरो चुनाव चिह्न लिएर पोखरा महानगरपालिकाको मेयर पदका लागि उम्मेदवार बनेका थिए। गनेस ‘अटेरी अभियान’का अगुवा पनि हुन्।

बालेनका हितैषी गनेस उनीसँगै रास्वपा केन्द्रीय सदस्यसँगै प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार बन्न सफल भए। 

अघिल्लो चुनावमा पाएको मत र रास्वपाका पक्षमा देशव्यापी लहर देखेर उनी उत्साहित छन्।

अहिले घरदैलो अभियानमा व्यस्त गनेसले मंगलबार मात्र सामाजिक सञ्जालमा क्यूआर कोड सार्वजनिक गर्दै आर्थिक सहयोगको अपिल गरेका छन्।  

यता विरासत जोगाउन र ११औँ महाधिवेशनबाट पार्टी सचिवमा बढुवा भएका खगराज अधिकारीको औचित्य पुष्टि गर्न पनि कास्की-१ एमालेका लागि अघिल्ला चुनावभन्दा महत्त्वपूर्ण बनेको छ।

खगराज हाल गण्डकी प्रदेशसभामा एमाले संसदीय दलका नेता पनि हुन्। कांग्रेस-एमालेबिचको सहमतिअनुसार उनी केही समयपछि मुख्यमन्त्री बन्ने लाइनमा छन्।

पार्टीले जिल्ला अध्यक्षलाई नै चुनावी मैदानमा उतारेकाले उनले त्यहाँ आफ्नो सम्पूर्ण शक्ति खर्चने जमर्को गरिरहेका छन्।

एमाले उम्मेदवार बैनबहादुर तत्कालीन कालिका गाविसका अध्यक्ष तथा कास्की जिल्ला समन्वय समितिका पूर्वप्रमुख हुन्। 

कांग्रेसले चाहिँ यसपटक कास्की क्षेत्र नम्बर १ मा महासमिति सदस्य तिलकबहादुर रानभाटलाई टिकट दिएको छ। यो क्षेत्र कांग्रेसका धेरै नेता भएको स्थान त हो तर यहाँ आफू-आफूबिच वैमनस्य छ। 

अघिल्लो चुनावमा पार्टी सभापति किशोरदत्त बराल उम्मेदवार हुँदा टिकटका अर्का आकांक्षी तथा निवर्तमान सभापति कृष्ण केसीले असहयोग गरेको चर्चा नै चलेको थियो। त्यही निहुँमा कृष्ण केसीलाई ६ महिना कारबाहीसमेत गरिएको थियो। यद्यपि हालै पार्टी केन्द्रमा देखिएको विवादमा उनीहरू दुवै विशेष महाधिवेशनका पक्षमा उभिए।

विशेष महाधिवेशनबाट गगन थापा सभापति बन्दा त्यहाँ कृष्ण उम्मेदवारका आकांक्षी थिए तर पार्टीभित्रको कलह सुल्झाउनकै निम्ति नयाँ अनुहार अगाडि सार्नुपर्ने भएपछि एकाएक तिलक रानाभाटले टिकट पाए। पार्टी सभापति थापाको सचिवालय रहेको घरका धनी तथा म्यानपावर व्यवसायी तिलकलाई यतिबेला सो क्षेत्रका सबै कांग्रेसीले साथ दिएका छन्।

कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाटदेखि पूर्वसहमहामन्त्री जीवन परियार, पूर्वमन्त्री यज्ञबहादुर थापा, हालका केन्द्रीय सदस्य कृष्ण केसी सबै यतिबेला यहाँ चुनावी अभियानमा खटिएका छन्। जसबाट तिलक उत्साहित छन् तर जनताको मन र मत तान्न उनी कति सफल हुन्छन् भन्ने कुराचाहिँ फागुन २१ पछि नै थाहा हुनेछ।

सो क्षेत्रमा उम्मेदवार बनेकामध्ये नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का  राजकाजी गुरुङ‘करन’चाहिँ हिजो माओवादीले बिर्सेको ‘वर्ग संघर्ष’को मुद्दासहित चुनावी मोर्चामा छन्। राजकाजी माओवादी जनयुद्धकालीन नेता हुन्। मृत्युलाई नजिकबाट देखेका उनी माओवादी खुला राजनीतिमा आउँदा कास्कीका नेता थिए।

शान्ति सम्झौतापछि उनले यहाँको भूगोल, वर्गीय अवस्था र जातीय समीकरण पनि बुझेका छन्। माओवादीले भुँइमान्छेलाई बिर्स्यो भन्ने आरोपबाट उनी मुक्त त छैनन् तर २०६४ सालको संविधान सभा चुनावमा कास्की ३ बाट विजय हासिल गरेका ‘करन’ जनताको मन छुने कुरा गर्न र मत तान्नचाहिँ माहिर छन्।

माओवादीले २०६४ सालमा जुन सफलता पायो, त्यसको कारण र सहयोगी खोज्दै छन् यतिबेला उनी। आदिवासी-जनजाति, सीमान्तकृत, भूमिहीन र मध्यमवर्गीय नागरिकप्रतिको भरोसासहित चुनावी मैदानमा उत्रिएका उनी विजयी भएमा अनि नेकपा नेतृत्वको सरकार बनेमा सिधै मन्त्री बन्ने हैसियतका नेता हुन्।

अघिल्लो चुनावमा यस क्षेत्रमा राम्रै मत पाएको राप्रपाले यसपटक बाबुराम रानाभाटलाई उम्मेदवार बनाउँदा कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले खगोलशास्त्री मनिषा द्वालाई मैदानमा उतारेको छ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी, इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन, नेपालका लागि नेसनल आउटरिच कोअर्डिनेटर, राष्ट्रिय खगोल शिक्षा संयोजकका रूपमा काम गरेकी उनी राजनीतिमा युवा हस्तक्षेपको पक्षपाती हुन्।

हाल सबै उम्मेदवार जनताको अभिमत बुझ्न घरदैलो अभियानमा छन्।

कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय राजनीतिमा ठुला नेता जन्माउन नसकेको कास्कीको पोखरा महानगरपालिकाका केही वडासहित रुपा र मादी गाउँपालिका पर्छन्।

कविशिरोमणि लेखनाथ पौड्यालको जन्मथलो लेखनाथ क्षेत्र कास्कीको सम्भावना बोकेको ठाउँ हो। कास्कीको उत्तरपूर्वी क्षेत्रका एक लाख १६ हजार ८७८ जना मतदाता नै चुनावको अन्तिम निर्णायक हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad