पोखराको बिच भागबाट बग्ने फिर्के खोला अतिक्रमण गरी बनाइएका संरचनामा पोखरा महानगरपालिकाले आज (आइतबार) बिहानदेखि डोजर चलाउन सुरु गरेको छ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य आफैँ उपस्थित भएर लायन्स क्लबको भवनमा डोजर चलाएर अतिक्रमण हटाउने अभियानको सुरुवात गरेका हुन्।
उनले अतिक्रमण हटाउने अभियानको सुरुवात लायन्स क्लबकै भवनबाट गर्नुमा विशेष कारण र कथा छ।
मेयर आचार्यको राजनीतिक जीवन एमाले निकट विद्यार्थी संगठन अखिलबाट सुरु भयो।
देशकै धेरै विद्यार्थी अध्ययन गर्ने पृथ्वीनारायण क्याम्पसका स्ववियु सभापति भएपछि उनको राजनीतिक उचाइ स्वतः बढ्यो। विद्यार्थी राजनीतिपछि भने उनी व्यवसायमा होमिए। हेल्लो स्टेसनरी नामक पुस्तक पसलबाट सुरु भएको व्यावसायिक यात्रा प्रकाशन गृहसम्म पुग्यो।
व्यावसायिक यात्राका क्रममा उनी एमालेनिकट उद्योगी/व्यवसायीको संस्था राष्ट्रिय उद्योग तथा व्यापार संगठनको अध्यक्ष नै भए। यता व्यवसायमा निरन्तर सफलता प्राप्त गर्दै गर्दा उनी सामाजिक संस्थाका रूपमा चिनिएको लायन्स क्लबसँग जोडिए।
लायन्स क्लबमा पनि उनको सफलताको यात्रा उस्तै रह्यो। लायन्स क्लब इन्टरनेसनल ३२५ बी नेपालको सचिव हुँदै उनी गभर्नर बने। ‘हामी सेवा गर्छौँ’ नारासहित सामाजिक काममा सक्रिय यो संस्थाको गभर्नर बनेपछि धनराजको चिनजानको चौघेरा झन ठुलो बन्यो।
लायन्समा रहँदा उनले आफूलाई कुशल नेतृत्वकर्ताका रूपमा प्रमाणित पनि गरे। २०७९ सालको स्थानीय चुनावमा उनै धनराजलाई तत्कालीन नेकपा एकीकृत समाजवादीले पोखरा महागनरपालिकाको मेयर उम्मेदवार बनायो।
तत्कालीन कांग्रेस-माओवादी केन्द्रसहितको गठबन्धनबाट साझा उम्मेदवार बनेका धनराजले आफ्नै मातृ पार्टी एमालेका उम्मेदवारलाई सहजै हराए।
यो सफलतामा गठबन्धनको साथ र सहयोग, उनको व्यक्तित्व अनि चातुर्यसँगै लायन्स क्लबको आबद्धताले पनि मद्दत गरेको उनीनिकट व्यक्तिहरू बताउँछन्।
पोखराका मेयर आचार्य अहिले पनि लायन्स क्लबहरूले आयोजना गर्ने कार्यक्रममा सकेसम्म सहभागिता जनाउँछन्।
लायन्स क्लबहरूले शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा सहयोग गरिरहेका पनि छन्। तर, पोखराको एउटा लायन्स क्लबका गतिविधिले मेयर आचार्यलाई नै विवादमा ताने। त्यो क्लब थियो- लायन्स क्लब अफ पोखरा फिस्टेल सिटी।
लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीले सेती नदीभन्दा पश्चिमतिर रहेको मुख्य पोखराको बिच भागबाट बग्ने फिर्के खोलामै भवन ठड्यायो। त्यो भवन धनराज मेयर हुँदा ठडिएको चाहिँ हैन। पोखरा-८ मा पर्ने फिर्के खोलमा २०६१ सालमै भवन बनेको थियो। भवन निर्माणकै क्रममा खोला मिचिएको भन्दै नागरिक समाजका तर्फबाट विरोध भए पनि निर्माण रोकिएन।
लायन्स क्लबका तत्कालीन अध्यक्ष प्रेमबहादुर जिसीले नियामक निकायको स्वीकृतिमै भवन निर्माण गरिएको दाबी गरेका थिए।
तत्कालीन पोखरा उपमहानगरपालिकाले अवैध निर्माणप्रति आँखा चिम्लियो। २०६८ सालतिर तत्कालीन पोखरा उपत्यका नगर विकास समितिले मापदण्डविपरीतका संरचनामा डोजर चलाउने अभियान थाल्यो।
माओवादी केन्द्रका तर्फबाट उपत्यका नगर विकास समितिका अध्यक्ष बनेका जितबहादुर गुरुङको नेतृत्वमा लायन्सको सो भवन पनि भत्काइएको थियो। तर, उपत्यका नगर विकास समितिबाट गुरुङ हटेपछि भत्काइएको सटर पुनः मर्मत गरियो। लायन्सले सो भवन भाडामा लगाइरह्यो।
धनराज आचार्य पोखराको मेयर चुनिएपछि अतिक्रमित संरचनाबारे अध्ययन भयो। फेवातालको सीमांकन र संरक्षणका लागि सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनको क्रममा पोखराको बिच भागबाट बग्ने फिर्के अतिक्रमण हटाउने माग पनि उठ्यो।
पोखरा महानगरपालिकाले २०८० साउनमा फिर्केको मापदण्ड कायम गराउन प्राविधिक नापजाँच गर्यो। त्यो नापजाँचका क्रममा ८ किलोमिटर लामो फिर्केखोलामा १६० भन्दा बढी अवैध संरचना निर्माण भएको तथ्य सार्वजनिक भयो। त्यसमा केही विद्यालय, विभिन्न टोल र जातीय संगठनले बनाएका समाज घर र लायन्स क्लब अफ फिस्टेल सिटीको भवन पनि परे।
त्यो प्रतिवेदनअनुसार खोलाघरभित्र ९७ वटा व्यक्तिगत अस्थायी र बाँकी स्थायी संरचना छन्।
वडा नम्बर १७ गाईघाटस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को तालिम केन्द्र भवन खोलाघरमै छ। यी सबै संरचना भत्काउन पोखरा महानगरपालिकाले गत वैशाख ४ गते सार्वजनिक सूचना जारी गरेको थियो।
त्यही सूचना कार्यान्वयका निम्ति पोखरा महानगरपालिकाले आइतबार बिहानदेखि फिर्केका ३ ठाउँमा डोजर चलाउन थालेको हो। मेयर आचार्यले लायन्स भवनमै डोजर चलाएर अतिक्रमण हटाउने अभियान सुरु गरेका छन्।
लायन्स क्लबसँग मेयर आचार्य जोडिएकाले त्यो भवन नभत्काइएको र ‘फिर्के मापदण्ड कायम गराउने हो भने पहिले लायन्स भवन भत्काएर देखाऊ’ भन्दै सामाजिक सञ्जालमा आएका प्रतिक्रियाका कारण मेयर आचार्य स्वयंको उपस्थितिमा लायन्सको सो भवन भत्काएर अभियान सुरु गरिएको हो।
यसैबिच मेयर आचार्यले यसअघि भएको ढिलाइप्रति माफी पनि मागेका छन्।
उनले भनेका छन्, ‘पोखरा महानगरपालिकाले २०८० सालमा फिर्के खोलाको नापजाँच गरी सीमांकनका लागि पोल गाड्ने काम गरेको थियो र ३५ दिनभित्र खोलाघरभित्रका संरचना हटाउन आह्वान गरेको थियो। त्यस क्रममा सम्मानित अदालतबाट अन्तरिम आदेश जारी भएपछि प्रक्रिया केही समय रोकिएको थियो। अहिले पुनः अदालतबाट महानगरपालिकाकै पक्षमा आदेश प्राप्त भएपछि उक्त प्रक्रिया पुनः अगाडि बढाइएको छ। यस विषयमा विगतमा भएका कमजोरीप्रति आत्मआलोचना गर्दै सबै सरोकारवाला पक्षले खोलाघर खाली गर्ने तथा फिर्के खोलालाई प्राकृतिक रूपमा बग्न दिने अभियानमा साथ दिनुहुनेछ भन्ने विश्वास लिएको छु।’
उनले फिर्के मापदण्ड १० मिटरबाट ६ मिटरमा घटाइएको जानकारी दिँदै अगाडि भनेका छन्, ‘लामो समयदेखि फिर्केखोलाको मापदण्डबारे अन्योल कायम थियो। खोलाको दायाँबायाँ धेरै स्थानमा उत्तर–दक्षिण सडक रहेकाले मोटरेबल करिडोर निर्माण गर्नुको सट्टा फुटट्रेल, साइकल लेन, मर्निङ तथा इभिनिङ वाक र पैदल यात्राको आकर्षक गन्तव्यका रूपमा विकास गर्न उपयुक्त हुने सुझाव प्राप्त भएका थिए। विज्ञहरूको समेत साझा राय र लामो छलफलपश्चात यही विषयलाई हृदयङ्गम गर्दै खोलाघरको सीमाबाट कायम रहेको १० मिटर मापदण्डलाई घटाएर ६ मिटर कायम गरिएको छ।’
मेयर आचार्यले खोला कसैको निजी सम्पत्ति नभएको स्मरण गराउँदै फिर्के खोलाभित्र पर्ने सुकुमवासी परिवारको व्यवस्थापन गरिने प्रतिबद्धता पनि जनाएका छन्।
लायन्स क्लबको भवनमा डोजर चलाइएका केही तस्बिर



Shares

प्रतिक्रिया