गण्डकी


रातभर जागेको कास्की प्रहरीको निशानामा टोलेगुण्डा र दुर्व्यसनी

रातभर जागेको कास्की प्रहरीको निशानामा टोलेगुण्डा र दुर्व्यसनी

नेपालखबर
बैशाख १०, २०८३ बिहिबार १४:५२, पोखरा

गृहमन्त्री सुधन गुरुङको राजीनामासँगै गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाहको काँधमा छ।

प्रधानमन्त्री स्वयंले गृह मन्त्रालय सम्हालेकै दिन कास्की प्रहरीले चाहिँ स्वीप (बढार्ने) अपरेसन सुरु गरेको छ।

कास्की प्रहरीका अनुसार बुधबार साँझ ९ बजेदेखि बिहान ६ बजेसम्मको बढार्ने अभियानमा जिल्ला प्रहरी कार्यालयसहित मातहतका सबै प्रहरी कार्यालयको १ सय जना जनशक्ति खटाइयो।

प्रहरीले सो उपक्रममा लागुऔषध बिक्री–बितरण एवं दुर्व्यसनी, टोलेगुण्डा, मादक पदार्थ सेवन गरी हो–हल्ला गर्दै हिँड्नेहरूलाई नियन्त्रणमा लियो। सडकमा खटिएको प्रहरीको अपरेसनमा रातमा शंकास्पद तरिकाले हिँडेनहरू पनि परे।  

कास्की प्रहरीले सो अभियानको क्रममा १२२ जनालाई नियन्त्रणमा लिँदा पोखराको वडा नम्बर १ देखि ५ भित्र पर्ने कसेरी, बागलुङ बसपार्क, भैरवटोल, महेन्द्रपुल, लब्ली डाँडा र पर्स्याङ क्षेत्रबाट ९ जना परे।

त्यस्तै, मुख्य पर्यटकीय क्षेत्र लेकसाइड, ड्यासाइड, गैराको चौतारा क्षेत्रबाट ३५ जना समातिए भने पोखरा ८ बगालेटोल, शिवालयचोकतिरका ६ जना प्रहरी नियन्त्रणमा आए।

पोखरा ९ र १० मा पर्ने पृथ्वीचोक, रंगशाला, बुद्धचोक, अस्पताल चोकबाट २० जना, पोखरा ११, १२ र १३ मा रहेको तुल्सीघाट, सितलादेवी, काहुँडाँडा, काहुँखोलाबाट ८ जना, पोखराको एयरपोर्ट र रामबजार क्षेत्रबाट १५ जना,बाटुलेचौर/लामाचौरबाट २ जना, पोखरा १८ मेथ्लाङबाट २ जना, लेखनाथ भनेर चिनिने रिठेपानी क्षेत्रबाट ६ जना, सोही क्षेत्रमा पर्ने भण्डाराढिक, सैनिकबस्तीबाट १२ जना, पोखरा ३२ राजाचौताराबाट ३ जना, माछापुच्छे« गाउँपालिका क्षेत्रबाट ३ जना र अन्नपूर्ण गाउँपालिका क्षेत्रबाट १ जना पक्राउ परेका छन्।

कास्की प्रहरीले यो अभियान निरन्तर जारी रहने र टोलेगुण्डा, लागुऔषध सेवनकर्ता, सवारी साधनको स्वरुप परिवर्तन गरी ध्वनी प्रदूषण गर्नेउपर कारबाही गरिने जानकारी गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad