बेनी नगरपालिका-७ मंगलाघाटका हरिकुमार श्रेष्ठले दसैँ तिहारको लागि करिब २ लाखको झिनिया बिक्री गरे।
मङगलाघाटकै कल्पना श्रेष्ठलाई पनि झिनिया बनाउन भ्याइनभ्याइ छ। हरिकुमार र कल्पना मात्र नभइ बेनीका उद्यमीहरूका लागि झिनिया आम्दानीको स्रोत बनेको छ। ‘तिहारका लागि झिनीयाको माग बढेकाले भ्याई नभ्याई भएको हो,’ हरिकुमारले भने, ‘तिहारको समयमा धेरै माग र खपत हुने झिनिया अन्य समयमा पनि राम्रै बिक्री भइरहेको छ।’
हेर्दा आकर्षक, खानालाई स्वादिलो, सजिलो तथा तयारी खाजाको रूपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा झिनिया रोटीको खपत धेरै हुनेगर्छ। तिहारका लागि दसैँ सकिएदेखिनै झिनिया बनाउन थालेकी उद्यमी कल्पनाले माग धान्न मुस्किल परेको बताए।
‘पोखराबाट दुई लाखको झिनियाको माग आएको थियो,’ उनले भने, ‘राम्रोसँग घाम नलाग्दा पोखराको माग पुर्याउन सकिएन्। बेनीकै ग्राहकलाई बल्लतल्ल पुर्याएको छु।’ दसैँलगत्तै बेनीका उद्यमीले तिहारका लागि झिनिया बनाउन थालेका थिए। चामलको पिठो पकाएर त्यसलाई मेसिनमा पेलेर निस्कने चाउचाउको जस्तो त्यान्द्रोलाई दुई दिनसम्म घाममा सुकाएपछि झिनिया तयार हुन्छ।
झिनिया घ्यू, तेलमा फ्राई गरेर खानयोग्य हुन्छ। प्रति १२ वटा झिनियालाई १ सय ५० का दरले बिक्री हुने गरेको छ। चाडपर्व र आफन्तलाई भेट्न जाँदा झिनिया कोसेली लैजाने चलन छ। झिनियालाई खाजाको परिकारको रूपमा पनि प्रयोग गर्न सकिन्छ।
घरमा बनाउन झञ्जट हुने, बिग्रने डर तर कोसेली लैजान सजिलो हुने भएकाले झिनिया रोजाइमा परेको बेनीका उपभोक्ता नवीन घिमिरेले बताए। बेनीका झिनिया उत्पादक तथा व्यापारीका अनुसार तिहारको समयमा एक जनाले २ लाखदेखि तीन लाखको झिनिया बिक्री गर्छन्।
घरायसी कामबाट बचेको फुर्सदको समय सदुयोग हुनुका साथै झिनिया बेचेर भएको आम्दानीले घर व्यवहार चलाउन सजिलो भएको उद्यमीहरूले बताएका छन्। झिनिया बनाउने मेसिन, तालिम र सुरक्षित भण्डारणका लागि औजार उपकरणको व्यवस्था भएमा सहज हुने उद्यमी हरिकुमार श्रेष्ठले बताए। रासस
Shares

प्रतिक्रिया