गण्डकी


तीनवटा कक्षामा विद्यार्थी शून्य

तीनवटा कक्षामा विद्यार्थी शून्य

नेपालखबर
जेठ १७, २०८२ शनिबार २१:३५, म्याग्दी

म्याग्दीको बेनी नगरपालिका-१ लामगरामा रहेको युवा वर्ष आधारभूत विद्यालयका तीनवटा कक्षामा एक जना पनि विद्यार्थी छैनन्। 

कक्षा चारसम्मको पठनपाठनको अनुमति पाएको विद्यालयका २, ३ र ४ कक्षामा नयाँ शैक्षिक सत्र २०८२ मा एकजना पनि भर्ना नभएका हुन्। 

प्रधानाध्यापक खिमबहादुर चर्माकारले बालकक्षामा ४ र कक्षा १ मा तीन जना विद्यार्थी रहेका बताए। 

‘गत वर्ष कक्षा ४ मा तीन, ३, २ मा एकरएक एक र १ मा तीन जना विद्यार्थी थिए’, उनले भने, ‘चार कक्षा उत्तीर्ण भएका माथिल्लो तह अध्ययन गर्न, सारेमारे टोलबाट आउने २ र ३ का विद्यार्थी टाढा भएपछि अर्को विद्यालयमा भर्ना भए।’

कक्षा १ का विद्यार्थीको उमेर कम भएको र सिकाइ वृद्धिका लागि कक्षा दोहोर्‍याइएको र बालकक्षामा नयाँ विद्यार्थी भर्ना गरिएको प्रअ चर्माकारले बताए। युवा वर्षको सेवा क्षेत्रमा पर्ने आनन्दबगर, लामगरा, सिम र सारेमारे टोलमा भर्नाका लागि विद्यालय व्यवस्थापन समिति र शिक्षकले घरदैलो गरेका थिए। 

आनन्दबगर र सारेमारे टोल टाढा भए पनि नजिकैको लामगरा र सिमका अभिभावकले पनि बेनीका सामुदायिक र निजी विद्यालयमा पठाउन थालेपछि पछिल्लो पाँच वर्षयता विद्यार्थी सङ्ख्या घट्दै गएको व्यवस्थापन समितिका अध्यक्ष भविराम थापाले बताए। 

लामगरा र सिममा करिब ५० घरपरिवारको बसोबास छ। अङ्ग्रेजी माध्यमबाट पठनपाठन, पुस्तकालय, बालमैत्री शिक्षण विधि, विपन्न विद्यार्थीको लागि पोसाक र शैक्षिक सामग्रीको व्यवस्था मिलाए पनि अभिभावकले वास्ता नगर्दा निराश भएको व्यवस्थापन समितिका अध्यक्ष थापाले बताए। 

विसं २०४१ मा स्थापना भएको विद्यालयमा १०० जनासम्म विद्यार्थी हुन्थे। सिकाइ उपलब्धि ९५ प्रतिशत छ।

विद्यार्थी सङ्ख्या कम भएपछि गत वर्ष बेनी नगरपालिकाले एक वटा कक्षा घटुवा गरेर चार कक्षासम्म कायम गरेको थियो। 

उक्त विद्यालयमा हाल दुई जना स्थायी दरबन्दी, एक जना निजी स्रोतका शिक्षक र एक जना सहयोगी कर्मचारी छन्। बेनी नगरपालिकाले विद्यार्थी नभएका कक्षा घटुवा गर्ने र शिक्षकलाई नजिकको धेरै विद्यार्थी भएको विद्यालयमा व्यवस्थापन गर्ने नीति लिएको छ। 

युवा वर्षलगायत विद्यार्थी कम भएका विद्यालयको सघन अनुगमन गरेर आवश्यक निर्णय लिइने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad