जेठ २ गते बैतडीबाट मध्यपहाडी लोकमार्गकेन्द्रित यात्रा थालेका माओवादी अध्यक्ष प्रचण्डले बाटोमा कार्यकर्ता भेटे, सहिदको गुनासो सुने, लाखापाखा लागेका पूर्वलडाकुहरुको गुनासो सुने। अनि युवालाई सन्देश भन्दै ‘मर्निङ वाक’ गर्न पनि भ्याए।
यी प्रतिपक्षी नेता अहिले फुर्सदमा छन् र कमजोर पार्टीलाई बलियो बनाउने दायित्वले थिचिएका पनि छन्। पूर्णसमानुपातिक र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली कुनै बेआ उनको बटमलाइन थियो। माओवादीले त्यो बेला उनलाई गणतन्त्रको पहिलो राष्ट्रपतिको रुपमा प्रक्षेपित गरेको थियो। तर, ०७२ मा संविधान आउँदासम्म माओवादी स्वयंले त्यो एजेन्डा छाडिसकेको थियो। 
गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको रुपमा भित्तामा पोतिएको प्रचण्डको तस्वीर चाहिँ पछिसम्मै थियो। एकसमय उनलाई विपक्षीले भित्तेराष्ट्रपति भनेर व्यङ्ग्य पनि गरे। मध्यपहाडी यात्रामा प्रचण्डले भित्तामा धुमिलिएको आफ्नो त्यही तस्वीर देखे कि,अस्थिर राजनीतिको स्थायित्वको लागि शक्तिशाली कार्यकारीको आवश्यकतावोध गरे कुन्नि? शनिबार पोखरामा आयोजित घोषणासभामा उनले सरकारकोआलोचनाभन्दा यो एजेन्डामाथी जोड दिए।
शुक्रबार कास्की छिरेका उनी पोखराको चिप्लेढुंगाको जनसभामार्फत् यो कुरा भन्ने मुडमा रहेछन् तर मौषमको कारण देखाउँदै बिहान घोषणासभा पार्टी प्यालेसमा सारियो। दिउँसो आकास खुलेपछि प्रचण्ड थक्थकाए। यसमा मौषम, मौसमविद् र गुगलले आफूहरुलाई धोका दिएको उनले गुनासो गरे। पोखरामा अभियानको सबैभन्दा ठूलो सभा हुने योजना रहे पनि त्यो पुरा हुन नसकेको उनको जिकिर थियो।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली ल्याएरै छाड्ने अठोटसहित भने, ‘हामीले पहिल्यैदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ भन्दै आएका थियौँ तर कांग्रेस–एमालेको असहमतिको कारणले सम्भव भएन। हामी यही कुरामा अडिएर बस्दा संविधानै नबन्ने र देश झन ठूलो भूमरिमा पर्ने खतरा देखिएपछि हामीले ‘नोटअफ डिसेन्ट’ लेखेर १० वर्षपछि यो संविधानको समीक्षा गर्ने बेलामा हामी यो विषय फेरि उठाउने छौं, जनताको बीचमा लाने छौं भनेका हौँ।’
सत्तारुढ एमाले कांग्रेसबीच संविधान संशोधनको एजेन्डासहित सहमति भएको परिपेक्ष्यमा अध्यक्ष प्रचण्डले पोखराबाट नयाँ सन्देशमात्र दिएका छैनन्, पुनः देशमा सहमति बने आफ्नो एजेन्डा बोक्दामात्र हुने संकेत पनि गरेका छन् ।
जनताको सहमति अनुसार संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा यो देशलाई पुर्याउनको लागि जनतालाई प्रशिक्षित गर्नुपर्ने उनले बताए। निर्वाचन प्रणालीको संशोधनको आवश्यक रहेकोसमेत उनले बताए।

मध्यपहाडी जनजागरण अभियान पार्टीले सोचेभन्दा बढी विशाल भएको र यो माओवादी केन्द्रको मात्र नभइ आम नेपाली जनताको अभियान बनेको उनले दावी गरे। ‘त जहाँ गयो त्यहाँका जुनसुकै पार्टीका स्थानीय सरकारमा नेतृत्व होस् उनीहरुले हाम्रो यो अभियानलाई स्वागत अभिनन्दन गर्न कोही पछि परेनन्,’ प्रचण्डले भने, ‘बरु प्रतिस्पर्धाजस्तो भयो कसले राम्रो गर्ने, कसले राम्रो अभिनन्दन गर्ने भनेर। यो जनताको अभियान राष्ट्रको अभियान सबैको साझा अभियन बन्न पुग्यो।’
सम्बन्ध विस्तारसंगै अभियान पार्टी एकताको अभियान जस्तो बन्न पुगेको उनको भनाइ थियो। तराइ मेधसमा मात्रै आठ/दश हजार विभिन्न दलका नेता कार्यकर्ताहरु अभियानमा जोडिन आएको उनको प्रचण्डको थियो।अभियान पार्टीका लागि एउटा उर्जा बनेको र नयाँ आर्थिक क्रान्ति नयाँ अभियान चलाउनै पर्ने भएको उनले सुनाए।
Shares

प्रतिक्रिया