गण्डकी


गण्डकी योजना आयोग सदस्यमा लामिछाने र रिजाल

गण्डकी योजना आयोग सदस्यमा लामिछाने र रिजाल

नेपालखबर
चैत २२, २०८१ शुक्रबार १९:४२, पोखरा

गण्डकी प्रदेश नीति तथा योजना आयोगको सदस्यमा दुर्गा लामिछाने र योगेन्द्रराज रिजाल नियुक्त भएका छन्। 

यसअघिका सदस्यद्वय माया तिम्सिना र दीपक भण्डारीलाई राजीनामा गर्न लगाएपछि सो पदमा नेपाली कांग्रेसको तर्फबाट लामिछाने र एमालेको तर्फबाट रिजाललाई नियुक्ति दिइएको हो। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गण्डकीका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले जानकारी दिए।

लामिछाने कास्कीकै हुन् भने पर्वतका रिजाल अहिले नवलपुर बस्छन्। नेपाली कांग्रेसको महासमिति सदस्यसमेत रहेकी लामिछानेले अन्तर्राष्ट्रि सम्बन्ध र कुटनीति अध्ययन गरेकी छन्। कालीगण्डकीको सम्भाव्यता अध्ययन समितिको सदस्य रहेका रिजाल समाजशास्त्री हुन्। अब उनीहरुले योजना आयोगका उपाध्यक्ष डा।कृष्णचन्द्र देवकोटालाई सघाउने छन्।  

गएको साउन २ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई संकटमा साथ दिएका नेपाल समाजवादी पार्टी (नेसपा–नयाँशक्ति) को सिफारिसमा माया तिम्सिना र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट दीपक भण्डारीलाई सदस्यमा नियुक्त गरेका थिए।

एमाले प्रमुख प्रतिपक्षी रहँदा माओवादीको चुनाव चिन्हबाट चुनाव जितेका नेसपाका सांसद फणिन्द्र देवकोटाले माओवादीबाट अलग हुँदै पाण्डेलाई मत हालेका थिए। यस्तै राप्रपाले सदनमा तटस्थ बसेर उनलाई सघाएको थियो। 

मुख्यमन्त्री पाण्डेले त्यही गुन तिर्न योजना आयोगमा नियुक्ति दिएका थिए। मुख्यमन्त्री पाण्डेको सो कदमलाई एमालेले सत्ता साझेदारीको मर्मविपरित भएको भन्दै आलोचना गरेको थियो। योजना आयोगमा आफ्ना मान्छे नहुँदा नीति तथा योजना निर्माणमा आफ्नोपन नहुने भन्दै एमालेले मुख्यमन्त्रीलाई निरन्तर दबाब दिँदै आएको थियो। 

त्यही दबाबकै कारण मुख्ममन्त्री पाण्डेले आयोगका दुई सदस्यलाई ‘फकाएरै’ राजीनामा गर्न लगाएका थिए। मुख्यमन्त्री पाण्डेले नेसपाबाट उर्जामन्त्री बनेका फणिन्द्रलाई चाहिँ आफू मुख्यमन्त्री भइञ्जेल नहटाउने प्रतिवद्धता गरेका छन्।

राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङका अनुसार सत्तामा रहेकाहरुबाट परिस्थितिबारे जानकारी गराउँदै, लोलोपोतो राख्दै राजीनामाको लागि आग्रह भएपछि आफ्नो तर्फबाट योजना आयोगमा नियुक्त भएका दीपक भण्डारीको राजीनामा आएको बताए।

‘दबाब त हैन तर लोलोपोतो राखेजस्तो गरी कुरा आयो,राप्रपा पदका लागि मरिहत्ते गर्ने पार्टी हैन। त्यस्तो भएको भए त हामी मुख्यमन्त्रीलाई विश्वासको मत दिँदा नै सर्त राख्थ्यौँ। सरकारमा जान्थ्यौँ नि,’उनले भने,‘हामीले उहाँहरुको कुरा मान्यौँ। अरु कुरा पछि विचार गरौँला भनेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad