राजनीति


तीनकुने घटनाबारे आईजीपी थापा: विमानस्थल र सिंहदरबार कब्जा गर्छु भनेपछि बल प्रयोग भयो

तीनकुने घटनाबारे आईजीपी थापा: विमानस्थल र सिंहदरबार कब्जा गर्छु भनेपछि बल प्रयोग भयो

नेपालखबर
चैत २२, २०८१ शुक्रबार १९:४५, काठमाडौँ

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा नेपाल प्रहरीका आईजीपी दीपक थापाले चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शन, तोडफोड, आगजनी र लुटपाटबारे सांसदहरूलाई विस्तृतमा जानकारी गराए।

'राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति'ले तोकेका 'जनकमान्डर' दुर्गा प्रसाईंले शान्तिपूर्वक सभा र प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिए पनि उक्त दिन सभा स्थलतर्फ भन्दा पनि प्रदर्शनकारीहरू सुरक्षा घेरा तोड्नतर्फ लागेको उनको भनाइ थियो।

उनकाअनुसार प्रसाईंसहित करिब ३९ 'राजावादी समूह' तीनकुने प्रदर्शनमा भेला भएका थिए। ‘शान्तिपूर्वक गर्छु भनेको कार्यक्रम अराजक, हिंसात्मक, तोडफोड र आगजनीमा उत्रियो, त्यसपछि प्रहरीलाई पूर्वतयारीअनुसार अघि बढ्न चुनौती थपियो,’ उनले भने, ‘सीमित स्रोत र साधनभित्र रहेर अधिकतम लचक भएर कमभन्दा कम क्षति हुने गरी अघि बढेका थियौं।’

उनले नेपाल प्रहरीका ५५ जना र सशस्त्र प्रहरीका २५ जना घाइते भएको बताए। प्रदर्शनकारीहरू ५४ जना घाइते भएका थिए। दुई जनाको मृत्यु भएको थियो।

तीनकुनेमा चैत १५ गते दुर्गा प्रसाईं गाडी हुइँक्याउँदै सुरक्षा घेरा तोडेको र त्यसबेला गाडीको टायरमा किन नहानेको भनेर प्रश्न पनि उठ्ने गरेको उल्लेख गर्दै आईजीपी थापाले भने, ‘गाडीको टायरमा किन गोली नहानेको भन्नेजस्ता प्रश्न पनि उठेको छ, मुड्कीले हानेर सिसा त फुटाएको छ नि!’

उनले जिल्ला प्रशासन कार्यालयले संसद भवनलगायत ठाउँलाई निषेधित क्षेत्र तोकेको पनि उनले बताए। ‘बुलेटजस्तो गाडी आयो, सोचेको पनि थिएन। प्रहरीलाई मार्ने किसिमबाट। उहाँलाई गाडीबाट झारेर प्रहरीले नियन्त्रणमा लिएको पनि हो तर कार्यक्रम गर्न जिल्ला प्रशासनबाट अनुमति लिएको अवस्था भएकोले कार्यक्रम स्थलसम्म छाडिदिएका थियौं,’ उनले भने।

सुरक्षा घेरा तोड्ने र मञ्चबाट उत्तेजक भाषण गर्ने सँगसँगै जस्तो भइरहेको उनले बताए। ‘त्यसपछि मीनभवन पुलभन्दा उता अश्रुग्यास चलाइएको थियो,’ उनले भने, ‘प्रदर्शनकारीहरू झुण्ड झुण्ड थिए।’

संसद भवन र सिंहदरबार तथा विमानस्थल कब्जा गर्ने भनेर प्रदर्शनकारीहरूले अभिव्यक्ति दिएपछि प्रहरीले बल प्रयोग गर्नु परेको उनको दाबी थियो। साथै प्रहरीको लागुऔषध नियन्त्रण व्युरोको गाडी पनि प्रदर्शनकारीहरूले आगजनी गरेको उनले बताए।

‘कोटेश्वर प्रहरी चौकी जलाउन झुम्रामा मट्टितेल हालेको अवस्था थियो, पार्टी अपिसमा आगजनी भएको थियो, नेताका घरमा ढुंगा हानेको अवस्था थियो, भिड तितरबितर पार्ने क्रममा सविन महर्जन मृत्यु भयो,’ उनले भने।

उनले कर्फ्यु लगाएपछि स्थिति नियन्त्रणमा आएको र मानिस पक्राउ गर्न थालेको बताए। उनकाअनुसार तीनकुने घटनामा १६१ जना पक्राउ गरिएको थियो। तीमध्ये ९४ जनालाई छाडिएको र बाँकीलाई मुद्दा लगाएको उनले बताए।

तीनकुने घटनामा ३९ वटा गाडीमा क्षति पुगेको उनले बताए। उनले दुर्गा प्रसाईंलाई पनि पक्राउ गरेर कानुनी कारबाही गरिने बताए।

‘मुख्य मानिस कहाँ गयो भन्ने छ। भागेको अवस्था छ। प्राविधिक रूपमा र मानवीय रूपमा खोजी गरिरहेका छौं। स्टेप बाइ स्टेप भागेको अवस्था छ,’ उनले भने, ‘खोजीका लागि प्रहरी संयन्त्र जुटेको छ। उहाँ चढेको गाडी र चालकलाई इटहरीबाट समातेर काठमाडौं ल्याइएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad