हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरू गरेको छ। एयरलाइन्सले सोमबारदेखि पोखरा–ल्हासा अन्तर्राष्ट्रिय उडान सुरू गरेको हो।
पोखरा विमानस्थल कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार एक सय सात जना यात्रु बोकेर ल्हासाबाट आएको हिमालयको जहाज दिउँसो पौने दुई बजे पोखरा विमानस्थलमा अवतरण भएको हो।
जहाजमा ३२ चिनियाँ र ७५ नेपाली नागरिक थिए। उनीहरूलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपालका लागि चिनियाँ राजदूत छेन सङ, पोखरा महानगर प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायतले स्वागत गरेका थिए।

यससँगै हिमालय पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान थाल्ने पहिलो वायुसेवा कम्पनी बनेको छ। यो जहाज मंगलबार बिहान ८ः२० बजे ल्हासाका लागि उड्नेछ। हिमालय एयरलाइन्सको जहाज अब हरेक सोमबार ल्हासाबाट पोखरा आउनेछ र मंगलबार पोखराबाट ल्हासाका लागि उड्ने तालिका रहेको छ। यात्रु संख्या बढेसँगै यसलाई विस्तार गरिने कम्पनीको भनाइ छ।
सो अवसरमा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पाण्डेले यसको निरन्तरतामा जोड दिए। पोखरामा मेयर धनराज आचार्यले यस उडानले पोखरेलीहरूमा नयाँ उत्साह र यस क्षेत्रको पर्यटनमा नयाँ आशाहरू थपेको बताए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको करिब २ वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएकोमा खुसी व्यक्त गर्दै उनले यसले पोखरा अन्तर्राष्ट्रिय बजारसँग सिधा जोडिने पनि बताए। पोखरा एयरपोर्टबाट हिमालय एयरलाइन्ससँगै चिनियाँ वायुसेवा सिचुवान एयरलाइन्सले पनि सातामा एउटा चार्टर उडान गरिरहेको छ। पोखराबाट हुने दोस्रो चार्डर उडान मंगलबार दिउसो हुनेछ।
Shares

प्रतिक्रिया