गण्डकी


सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका बाबुछोरी जब अदालतमा रुन थाले

सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका बाबुछोरी जब अदालतमा रुन थाले

वाशुदेव मिश्र
पुस १६, २०८१ मंगलबार १९:२१, पाेखरा

सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण अभियोगमा अभियोजन दर्ता भएकाहरुविरुद्ध कास्की जिल्ला अदालतमा मंगलबारदेखि थुनछेक बहस सुरु भयो। बिहान सहकारीकी पूर्वकोषाध्यक्ष आरती गुरुङको बयान सकिएसँगै सुरु भएको थुनछेक बहसको सुरुमै जिल्ला सरकारी वकिलको कार्यालयकी सहायक न्यायाधिवक्ता सुजाता पौडेलले अभियोजन लागेकाहरुमाथि कारवाही हुनुपर्ने माग गरिन्। सबै अभियुक्तहरुलाई पुर्पक्षको लागि थुनामा पठाउनुपर्ने उनको माग थियो।

त्यसपछि पालो आयो अर्की सहायक न्यायाधीवक्ता शान्तिदेवी शर्माको। वादीको तर्फबाट बहस गर्ने क्रममा उनले अभियोजन दर्ता भएकाहरुको क्रमशः नाम लिँदै गइन्। सोही उपक्रममा पूर्वसंचालक समिति सदस्य कृणबहादुर गुरुङको नाम आयो। उमेरले ८० पुगेका तथा रोग बोकेका उनलाई पनि अदालत उपस्थित गराइएको थियो। आफ्नो नाम आउनासाथ कृष्णबहादुर भावुक बने। 

उनले आफू सहकारी ठगी प्रकरणमा संलग्न नरहेको र बुढोमान्छेमाथि यस्तो आरोप लाग्दा गाह्रो भएकोमात्र बताएनन्, त्यस्तै परे मर्न तयार रहेको अभिव्यक्ति दिए। मंसिरको तेस्रो साता पक्राउ गरेका गुरुङले भावुक अभिव्यक्ति दिएपछि यही पुस १२ गते पक्राउ परेकी छोरी मिना गुरुङ पनि थामिइनन्। एक कानून व्यवसायीका अनुसार रुवावासीले इजलासमा सन्नाटा छायो। 

मीना पूर्वप्रदेशसभा सांसद पनि हुन्। अघिल्लो गण्डकी प्रदेशसभामा मीना एमालेको तर्फबाट समानुपातिक सांसद बनेकी थिइन्। 
नेटवर्किङ धन्दा चलाउने क्रममा पोखरा आएका गितेन्द्रबाबु राईकै योजनामा २०६६ सालतिर पोखरामा सूर्यदर्शन सहकारी खोल्ने योजना बनेको थियो। पोखराका चर्चित र पैसावाल मान्छेलाई सहकारीमा ल्याउने उनको योजना अनुसार नै मीनालाई पहिलो संचालक समितिको उपाध्यक्ष बनाइएको थियो। सो समितिमा ज्ञानबहादुर बम्जन अध्यक्ष थिए। सूर्यध्वज न्यौपाने सचिव र आरती गुरुङ कोषाध्यक्ष बनाइएको थियो। २०६८ सालमा नयाँ कार्यसमिति बन्दा भने जीबी नै सहकारीको अध्यक्ष बने। मीनाले सहकारी छाडिन्। कोषाध्यक्षमा आरती दोहोरिइन्। मीनाको ठाउँमा देवकुमार नेपालीलाई उपाध्यक्ष बनाइयो। सचिवमा सुरेशचन्द्र पहारी ल्याइयो। छोरी मिना सहकारीमा संलग्न भएपछि पिता कृष्णबहादुरले पनि त्यहाँ २५ हजार रुपैयाँको शेयर हालेका थिए।

अभियोजन पत्रमा संलग्न बयानमा कृष्णबहादुरले कोषाध्यक्ष आरती गुरुङको श्रीमान राजेश गुरुङले आफूलाई सहकारीमा आवद्ध हुनको लागि अनुरोध गरेको कारण आफूले २५ हजार दिएर सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा दर्ता गर्नदेखि कार्यालय स्थापना गर्दासम्म संलग्न भएको बयान दिएका छन्। ‘तत्पश्चात म ब्रिटिस लाहुरे भएको कारण युके गएर २०११ मा नेपाल फर्किइ आउँदा सहकारीबाट बचत समेतको रकम अपचलन गरेर राजेश गुरूङले लिई भागेको थाहा पाइ मैले उक्त रकम सहकारीबाट निकालेको हुँ। त्यसपछि म सहकारीमा आबद्ध थिइनँ। मलाई उक्त सहकारीको प्रथम सञ्चालक समितिको सदस्य पदमा राखेको कुरा मैले प्रहरीबाट पक्राउ परेपछि मात्र थाहा पाएको हुँ, सो कार्यकालमा हिनामिना भएको भनिएको रकमको सम्बन्धमा मलाई केही थाहा छैन, मैले रकम अपचलन गरेको होइन’ भन्ने बयान दिएका छन्।  

उनले अर्को बयानमा भनेका छन् ‘मसहित अन्य लाहुरेबाट २५ हजार राजेश गुरुङलाई उपलब्ध गराएपछि निज राजेश गुरुङ समेतले मिति २०६५।०३।०१ गते सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड दर्ता गरी सञ्चालनमा ल्याउने भनी मेरो छोरी मिना गुरुङको अध्यक्षतामा म उपाध्यक्ष रहने गरी तदर्थ सञ्चालक समिति बनाएका हुन। सो बेला संस्थाको व्यवस्थापकको रुपमा सम्पूर्ण काम राजेश गुरुङले गरेको थियो। पछि ज्ञानबहादुर बम्जन अध्यक्ष भएका उक्त समयमा भएको रु १,५४,४९,८३६.९९ (१ करोड ५४ लाख ४९ हजार ८ सय ३६ रुपैयाँ )हिनामिना सम्बन्धमा मेरो कुनै संलग्न छैन।’  

पक्राउपछि छोरी मीनाले पनि आफू सहकारी दर्ता गर्ने बेला त्यसमा संलग्न भए पनि पछि छाडेको र त्यहाँ भएको रकम अपचलनमा संलग्नता नभएको जिकिर गरेकी छन् । तर, अदालतमा पेश गरिएको अभियोजनपत्रमा चाहिँ यसअघि नै अदालतबाट भएको फैसलाले स्थापित गरेको नजिर ‘संस्थाको एउटा उद्देश्य देखाइ रकम संकलन गरी उद्देश्य अनुरुपको काममा संकलित रकम खर्च गर्ने तर्फ वा बचतकर्ताहरूलाई शर्त कवुल अनुसार प्रतिफल दिने कार्यतर्फ कुनै पदाधिकारीले पनि अग्रसरता देखाएको नपाइँदा संस्थाका संचालक समितिका सदस्य एवम् पदाधिकारीहरू समेत सबैले सामूहिक रुपमा नै संस्थाको नाममा ठगी गर्नेतर्फ लागेको स्पष्ट देखिने भन्ने सिद्धान्त प्रतिपादन भएको देखिन्छ’ भन्नेलाई आधार मान्दै उनीहरुविरुद्ध सामूहिक जिम्मेवारीमा रहनुपर्ने ५३ लाख ७६ हजार ३ सय ८ रुपैयाँ २० पैसा अपचलन गरेको भन्दै बिगो दाबी गरिएको छ। कृष्णबहादुरको हकमा चाहिँ उमेर बढी भएका कारण सजाय छुटको सिफारिस पनि गरिएको छ। 

अभियोजनपत्रमा भनिएको छ‘...मिति २०६५/०५/२७ गते देखी मिति २०६८/०८/१७ गते सम्म कार्यरत रहेकोमा प्रतिवादीहरूमध्ये ज्ञानबहादुर बम्जन सञ्चालक समितिको अध्यक्ष, सञ्चालक समितिको सदस्यमा मिना गुरुङ, सूर्यध्वज न्यौपाने, आरती गुरुङ, पेशल कुमार राई, कृष्णबहादुर गुरुङ, लिलाबहादुर गुरुङसमेत रहेको देखिन्छ। यी प्रतिवादीहरू सञ्चालक समितिको कार्यकालमा रहेको अवस्थामा सहकारी सञ्चालनको मूल्य मान्यता विपरीत बचतकर्ताको हित विपरीत व्यक्तिगत लाभको लागि बचत रकम प्रयोग गरी सो ऋण रकम असुल उपर समेत नगरी हिनामिना गरेको देखिन्छ। यी प्रतिवादीहरू सञ्चालक समितिको पदाधिकारी रहेको अवस्थामा के–कति बचत अपचलन भएको रहेछ भनी मिसिल संलग्न रहेको पोखरा महानगरपालिको वित्तिय बिश्लेषण अध्ययन गर्दा प्रक्रिया पूरा नगरी लगानी भएका रु.१,५४,४९,८३६।०६ (१ करोड ५४ लाख ४९ हजार ८ सय ३६ रुपैयाँ) कर्जा हालसम्म पनि अशुली हुन नसकेको भन्ने उल्लेख भएकोमा सो अबधिमा प्रतिवादी मध्येकै ज्ञान बहादुर बम्जनले रु.२६,७०,८७१।००, प्रतिवादी लिलाबहादुर गुरुङले रु.२६,७७,४०९।३२, देवेन्द्रबाबु राईले रु.१०,१५,७८९।९१ र गितेन्द्रबाबु राईले आफू र आफ्नो श्रीमती भगवती बम्जनको नाउँमा गरी रु.३७,०९,४६८।४९ समेत गरी जम्मा रु.१,००,७३,५८७।८१ (१ करोड ७३ हजार ५ सय ८७ रुपैयाँ) समेतलाई घटाउँदा बाँकी हुन आउने रु.५३,७६, ३०८।२० (५३ लाख ७६ हजार ३ सय ८ रुपैयाँ) माथि उल्खित प्रतिवादीहरु ज्ञानबहादुर बम्जन, मिना गुरुङ, सूर्यध्वज न्यौपाने आरती गुरुङ पेशल कुमार राई, कृष्णबहादुर गुरुङ, लिला बहादुर गुरुङ, सकुन्तला गुरुङ, मिश्रकुमारी गुरुङ र रितु ताम्रकारको सामुहिक दायित्व कायम हुने नै देखिन्छ।’

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसहित विभिन्न व्यक्ति र संस्थासहित ६३  जनालाई प्रतिवादी बनाइएकोमा सहकारी ठगीमा ३१ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरुबाट एक अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ। यीमध्ये रविसहित १९ जनालाई संगठित अपराध, ४ जनालाई सम्पत्ति शुद्धीकरण र २ जनालाई क्रिप्टोको कसुरमासमेत अभियोगपत्र दायर गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad