गण्डकी


प्रहरी प्रतिवेदन- सूर्यदर्शन सहकारीको डेढ अर्ब ठगीमा रवि संलग्न, तेस्रो चरणमा पनि अनुसन्धान हुने

प्रहरी प्रतिवेदन- सूर्यदर्शन सहकारीको डेढ अर्ब ठगीमा रवि संलग्न, तेस्रो चरणमा पनि अनुसन्धान हुने

वाशुदेव मिश्र
पुस १, २०८१ सोमबार २०:०, पोखरा

सूर्यदर्शन सहकारी ठगीमा रविसहित ५१ प्रतिवादीलाई डेढ अर्ब बिगो भराउन प्रहरीको राय

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेसहित ५१ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझाएको छ। 

सहकारी ठगीमा ६५ जनाको संलग्नता भनिए पनि १४ जनाको भने नाम मात्र थाहा भएको र ठेगाना नखुलेकाले पछि खुलेका बखत कास्की प्रहरीले अनुसन्धान गरेर पूरक प्रतिवेदन पेस गर्ने भएको छ। 

प्रहरीले यी प्रतिवादीहरूबाट सहकारी ठगीमा १ अर्ब ५१ करोड ४० लाख ९४  हजार १९४.३ पैसा बिगो दाबी गर्न सरकारी वकिलको कार्यालयमा राय दिएको छ। 

‘हामीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरेका थियौँ। अनुसन्धान गर्ने क्रममा फेला परेका सबुत प्रमाणहरू विश्लेषण गरेका छौँ र अनुसन्धान प्रतिवेदनमा सामेल गरेका छौँ। ६५ जना प्रतिवादीमध्ये १४ जना प्रतिवादीको नाम खुलेको छ तर ठेगाना खुलेको छैन। ५१ जनाविरुद्ध ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणअन्तर्गत कारबाहीको माग गरिएको छ,’ डीएसपी शर्माले भने, ‘तीमध्ये ३७ जना फरार र १४ जना कारागारमा हुनुहुन्छ। फरारलाई पक्राउ गर्ने प्रक्रियामै छौँ। उहाँहरूले अहिलेसम्म प्राप्त गरेको हिनामिना भएको १ अर्ब ५१ करोड ४० लाख ९४  हजार १९४।३ पैसा हुन आउँछ।’

कास्की प्रहरीले ८६ दिन लगाएर अनुसन्धान टुंग्याएको हो। अब चार दिनभित्रमा सरकारी वकिल कार्यालयले अभियोगपत्र दायर गर्नेछ। लामिछानेसहित पक्राउ परेका प्रतिवादीहरूलाई थप हिरासतमा राख्नका लागि मंगलबार पुनः म्याद थपको तयारी छ। 

प्रहरीले अनुसन्धान सकेकाले अब आफूहरूले प्रतिवेदन अध्ययन गरेर अभियोजनको तयारी गरुन्जेललाई हिरासतमा राख्न अनुमति माग्ने जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख कमला काफ्लेले बताइन्। 

‘सोमबार दिउँसो प्रहरीले प्रतिवेदन बुझाइसकेको छ। अब हामी थप अध्ययन गरेर ककसलाई कुन कुन कसुरमा मुद्दा चलाउने भन्ने निर्णय गर्छौं र अभियोग पत्र दायर गर्छौं’, काफ्लेले नेपालखबरसँग भनिन्, ‘हामीले पाउने बढीमा चार दिन हो। यो म्यादभित्र अदालतमा मुद्दा पुगिसक्छ।’

कास्की प्रहरी प्रवक्ता तथा डीएसपी वसन्तकुमार शर्माले ठेगाना नखुलेका १४ जनालाई खुलेका बखत पक्राउ गरी गरी अनुसन्धान गर्ने गरी ५१ जनाविरुद्ध मुद्दा लगिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad