गण्डकी


पाँच वर्षअघि नै बनिसक्नुपर्ने बेनी अस्पतालको भवन अझै भएन पूरा

पाँच वर्षअघि नै बनिसक्नुपर्ने बेनी अस्पतालको भवन अझै भएन पूरा

पाँच वर्षअघि नै बनिसक्नुपर्ने बेनी अस्पतालको भवन अझै भएन पूरा


नेपालखबर
मंसिर २९, २०८१ शनिबार ८:५५, म्याग्दी

तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको माग्दीस्थित बेनी अस्पतालको भवन निर्माण आठ वर्षसम्म पनि पूरा भएको छैन।

पाँच वर्षअघि सकिनुपर्ने ५० शय्या क्षमताको भवनको हालसम्मको भौतिक प्रगति करिब ८० प्रतिशत छ। भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए। 

“पचास शय्या क्षमता भए पनि १५ शय्याको संरचना र पूर्वाधारबाट सेवा दिनुपर्ने बाध्यता छ”, उनले भने, “अस्थायी, पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ।” म्याग्दीका साथै पर्वत, बागलुङ र मुस्ताङका सर्वसाधारणले सेवा लिने अस्पतालले सात वर्षयता अस्थायी संरचनाबाट सेवा सञ्चालन गरिरहेको छ।

सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले २०७३ मङसिर २१ गते भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभीसँग रु १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो।

रु २४ करोड चार लाख २९ हजार आठ सय ६९ लागत अनुमान गरिएको भवन २०७६ मङ्सिर २० गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो। भवन निर्माणका लागि पाँच पटकसम्म म्याद थप भएको छ। चार हजार नौ सय ६३ वर्गमिटर क्षेत्रफलमा बनाउन लागिएको चारतले तीनवटा भवनको भित्री भाग पलास्टर र रङरोगन गर्न, विद्युत्, पानी जडान गर्न, झ्यालढोका र टायल राख्न बाँकी छ। पन्ध्र शय्या क्षमताको अस्पताल विसं २०७२ मा ५० शय्यामा स्तरोन्नति भएको थियो। 

नयाँ भवन बनाउन अस्पतालको पुरानो भवन भत्काइएको थियो। बहिरङ्ग कक्षको सेवा अस्थायी भवनबाट सञ्चालन गरिएको छ। आकस्मिक र अन्तरङ्ग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ। स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ। 

भवन अभावमा विशेषज्ञ चिकित्सक आउन नमान्ने, म्याग्दीले पाउनुपर्ने हब अस्पतालको कार्यक्रम अन्यत्र जिल्लामा गएको व्यवस्थापन समितिका अध्यक्ष सुवेदीले बताए। सघन उपचार कक्ष (आईसीयू) र डायलासिस कक्ष पनि स्वास्थ्यकै भवनमा स्थापना भएको छ।

पालिका, जिल्ला, प्रदेश र प्रतिनिधिसभाका जनप्रतिनिधीले सम्बद्ध आयोजना कार्यालय, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पटकपटक ध्यानाकर्षण गराउँदै आए पनि अस्पतालको भवन निर्माणले गति लिएको छैन। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad