गण्डकी


जोमसोमको क्षमाताल, जहाँ देखिन्छ निलगिरि हिमाल

जोमसोमको क्षमाताल, जहाँ देखिन्छ निलगिरि हिमाल

क्षमाताल


नेपालखबर
मंसिर १४, २०८१ शुक्रबार ७:३१, म्याग्दी

चारैतिर सल्लाको वनको बीचमा रहेको ठाउँमा गोलाकार र नीलो रङको ताल। पूर्वतर्फ उभिएको निलगिरि हिमाल। तालमा देखिने हिमालको छाया। शान्त र एकान्त वातावरण। चराहरूको चिरबिर चिरबिर आवाज। नजिकैको खर्कमा रहेका भेडाच्याङ्ग्रा, चौँरीगाई र घोडाका गोठ।

मुस्ताङको घरपझोङ गाउँपालिका-५ मा रहेको क्षमातालको मनमोहक र सुन्दर छ। समुद्री सतहदेखि तीन हजार चार सय ५० मिटर उचाइमा रहेको क्षमाताल पुग्न जोमसोमबाट ठिनी हुँदै ४५ मिनेट सवारीसाधन र एक घण्टा पैदलयात्रा गर्नुपर्छ। 

निलगिरि हिमालको उत्तरपश्चिमी मोहोडाको फेदीमा रहेको क्षमाताल गोलो आकारको छ। ठूलो तालको नजिकै केही माथि अर्को सानो र गोलो आकारको ताल छ। करिब तीन सय मिटर लम्बाइ र एक सय ५० मिटर चौडाइमा फैलिएको नीलो रङको तालमा निलगिरि हिमालको छाया देखिने घरपझोङ गाउँपालिका-५ ठिनीका पूर्णलाल थकालीले बताए। 

‘जानअन्जानमा गरेका गल्तीलाई सम्झिएर क्षमा माग्ने र कमजोरी नदोहोर्‍याउने प्रतिबद्धतासहित स्थानीयले पूजाआजा गर्ने भएकाले क्षमा नामकरण गरिएको यो ताल वरपर लसुन र प्याज प्रयोग गरिँदैन’, थकालीले भने, ‘पहिले स्थानीय युवायुवती बर्खामा वनभोज खान आउने क्षमातालमा पछिल्लो दुई वर्षयता विदेशी र स्वदेशी पर्यटक पनि आउन थालेका छन्।’

ताल परिसरमा बसेर घण्टौँसम्म टहलिन, निलगिरि हिमाल र हिमालबाट खस्ने हिउँपहिरो अवलोकन गर्न यहाँ सौखिन किसिमका पर्यटक आउने गरेका जोमसोमको सिन्तामणि होटलका कर्मचारी अनीष गौचनले बताए। दुई जना रसिया र एक जना नेपाली पर्यटक घुमाउन क्षमताल पुगेका गौचनले यो ठाउँलाई पर्यटकले रूचाएका बताए।

‘मुस्ताङको पाँच दिनको हाम्रो होटलको प्याकेजमा क्षमाताललाई पनि समावेश गरेका छौँ’, उनले भने, ‘हिमाल हेर्दै हाइकिङ गरेर क्षमाताल घुम्न आउने पर्यटकबाट राम्रो प्रतिक्रिया पाएका छौँ।’

मुस्ताङ घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउन क्षमाताललाई जोमसोमको सहायक गन्तव्यका रूपमा विकास गर्न लागिएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिङ लालचनले बताए। क्षमातालको धार्मिक महत्त्व र प्राकृतिक सौन्दर्यको प्रचारप्रसारका साथै तालसम्म पुग्ने र त्यहाँदेखि तिलिचो ताल जाने पदमार्ग निर्माण गर्ने कामलाई निरन्तरता दिएको उनले बताए। 

क्षमातालको नजिकै रहेको कैशाङमा नेपाली सेनाको उच्च स्थानको तालिम केन्द्र छ। तिब्बतबाट भागेर आएका खम्पा विद्रोहीहरूलाई भगाएर नेपाली सेनाले क्याम्प बनाएर बसेको हुँदा कैशाङ सामारिक महत्वको सुरक्षाका हिसाबले संवेदनशील ठाउँ पनि हो। कैशाङ क्याम्पसम्म सडक पुगे पनि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर वैकल्पिक पदमार्ग बनाइएको छ। 

ठिनीखोलाको बगरैबगर यात्रा गर्नुपर्ने भएकाले बर्खायाममा बाढी आउँदा समस्या हुने गरेको छ। ताल परिसरमा सार्वजनिक शौचालय र खानेपानीको व्यवस्थापन गर्नुपर्ने त्यहाँ पुगेका पर्यटकले बताएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad