गण्डकी


जहाँ जूनको प्रकाशमा सुकाइन्छ मकै!

जहाँ जूनको प्रकाशमा सुकाइन्छ मकै!

शुक्रबार राति जूनको उज्यालोमा मकै सुकाउने पर्व मनाउँदै गोरखाका नेवार समुदाय।


नेपालखबर
मंसिर १, २०८१ शनिबार ८:३, गोरखा

गोरखामा जूनको उज्यालोमा मकै सुकाउने पर्व मनाइएको छ। यहाँका नेवार समुदायले परम्परागत रूपमा मनाउने मकै सुकाउने पर्व शुक्रबार राति धुमधामका साथ मनाइएको हो।

ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको आयोजनामा नेवारलगायतका समुदायले जूनको उज्यालोमा सामूहिक रूपमा मकै सुकाएर पर्व मनाएको समितिका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिए। 

ठूलो आँगनमा प्लास्टिक ओछ्याएर भुटेको मकै, बदाम, भटमास, चना, केराउलगायत खाद्यान्न राखिएका थिए।

‘पर्व मनाउन स्थानीयले घरबाट मकैसहितका गेडागुडी र अन्नबाली ल्याउनुभएको थियो, यसरी सुकाएको अन्नलाई प्रसादका पमा ग्रहण गर्ने चलन छ’, अध्यक्ष श्रेष्ठले भने। 

नेवार समुदायका अगुवासमेत रहेका ज्येष्ठ नागरिक समाज गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठले झण्डै ४० वर्षदेखि मनाउन छाडिएको यो पर्व तीन वर्षदेखि सामूहिक रूपमा मनाउन थालिएको जानकारी दिए।

कात्तिक शुल्क पूर्णिमाको रातमा अमृत वर्षा हुने भएकाले भुटेको मकै, बदाम, भटमास, चना केराउलगायत गेडागुडी, फलफूल, शखरखण्डका साथै खाद्यान्न जुनमा सुकाएर खाएमा अमृत समान हुने विश्वासका साथ पर्व मनाउने गरिएको उनको भनाइ छ।

शुक्ल पूर्णिमाको दिन जुनको प्रकाशमा सुकाइएको अन्न खाएमा रोग नलाग्ने र प्राचन प्रणाली स्वस्थ्य र बलियो हुने धार्मिक विश्वाससमेत रहेको उनको भनाइ छ। यो पर्व परम्परागत रूपमा नेवार समुदायले घरघरमा अन्न सुकाएर मनाउने गरेको भए पनि अहिले भने संस्कृति र परम्पराको संरक्षणका लागि सामूहिक रूपमा मनाउन थालिएको छ।

परम्परा र संस्कृतिलाई पुस्तान्तरण गर्दै लैजाने उद्देश्यका साथ लामो समयदेखि रोकिएको मकै सुकाउने पर्व गएको तीन वर्षदेखि पुनः मनाउन थालिएको श्रेष्ठको भनाइ छ।

कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले लोप हुनै लागेको मकै सुकाउने पर्वको जर्गेना गर्न स्थानीय समुदायले थालेको प्रयास सराहनीय भएको बताए।

सोही अवसरमा नेवार समुदायको परम्परा र संस्कृति झल्कने पोसाकमा सजिएर विभिन्न सांस्कृतिक कार्यक्रमसमेत गरिएको आयोजकले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad