इमेज सहकारी ठगी प्रकरणमा पक्राउ परेका ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थप अनुसन्धानको लागि आज पोखरा ल्याइँदै छ। पोखरामा रहेको इमेज सहकारीमार्फत् झण्डै ६८ करोड ठगीको आरोप लागेकाले थप अनुसन्धानको लागि उनलाई पोखरा ल्याउन लागिएको हो।
पोखराको सिर्जनाचोकमा रहेको इमेज सहकारीका ५ सय २४ जना बचतकर्ताले नेपालीविरुद्ध उजुरी दिएका छन्। उनी इमेजका संस्थापक अध्यक्ष हुन्। २०८० सालको वैशाख ७ गते तरलता अभाव भएको भन्दै सहकारीको बागलुङ कार्यालय बन्द भएपछि उनी जेठ ५ गतेदेखि फरार थिए। नेपाल सरकारले सहकारीको बचत रकम फिर्ता गर्दै उजुरीकर्तासँग मिलापत्र गरेमा सजाय मिनाह हुने भनेपछि उनलाई एकाएक प्रहरीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो।
असोज १३ गते बागलुङ पुर्याइएका उनलाई जिल्ला अदालत बागलुङले थुनामा राखेर अनुसन्धान अगाडि बढाउन प्रहरीलाई अनुमति दिएको थियो। नेपालीविरुद्ध बागलुङका १ हजार ५ सय ४३ जना बचतकर्ताले एक अर्ब ३८ करोड ११ लाख ६२ हजार सात सय ५५ रुपैयाँ ठगेको उजुरी दिएका थिए।
प्रहरीले सरकारी वकिल कार्यालयमार्फत् सो रकमको बिगो भराई पाऊँ भनी उच्च अदालत बागलुङसमक्ष माग गरेपछि अदातलले उनलाई थुनामै राखेर अनुसन्धान अगाडि बढाउन प्रहरीलाई अनुमति दिएको थियो। बागलुङ प्रहरीले उनीसँग वयान सकेको र पोखरामा पनि नेपालीविरुद्ध उजुरी परेकाले थप अनुसन्धानको लागि यता ल्याउन लागिएको उनको वकिल राम शर्माको भनाइ छ।
नेपालीले २०८१ साउन १६ गते सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिलाई पत्र लेखेर आफूले सबै सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्न तयार रहेको लिखित जवाफ पनि पठाएका थिए। उनले आफ्नो व्यक्तिगत सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम दिने प्रतिवद्दता जनाएपछि पीडितसहितको एक समूहले सहजीकरणको काम गरिरहेको र हाल उनको स्वामित्वमा रहेको एउटा घर बिक्री भएको स्रोतले बतायो।
उनीसँग रहेको बाँकी सम्पत्तिमध्ये केही घर तथा घडेरी बैंकको नाममा रहेको र बैंकको ऋण तथा सावाँ बुझाएर त्यसलाई पनि लिलामी प्रक्रिया लगिने तयारी भएको पनि स्रोतको भनाइ छ। नेपालीले आफ्नो र श्रीमती छेला नेपालीको नाममा भएको सम्पूर्ण घर जग्गाको मूल्यांकन करिब ३ अर्ब रुपैयाँ हुन आउने जिकिर पनि गरेका छन्।
देवकुमार तिनै व्यक्ति हुन्, जो कुनैबेला बहुचर्चित सूर्यदर्शन सहकारीका पनि उपाध्यक्ष थिए। सूर्यदर्शनमा अध्यक्ष हुन नपाएपछि उनले त्यहीँका कर्मचारीलाई लिएर इमेज सहकारी स्थापना गरेका थिए। अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार पोखरा ल्याइएपछि उनीमाथि सूर्यदर्शन सहकारी प्रकरणसँग जोडेर पनि अनुसन्धान गरिनेछ। इमेजको बागलुङ बजारमा केन्द्रीय कार्यालय रहेको थियो भने बुर्तिवाङ, गलकोटमा सेवा केन्द्र र कास्कीको पोखरामा शाखा कार्यालय सञ्चालनमा थिए।
यता,सूर्यदर्शन सहकारी ठगी प्रकरणसँग जोडिएका र संगठित अपराध कसूरअन्तर्गत अनुसन्धान अगाडि बढाइएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की प्रहरीले पुनः म्याद थपको लागि आइतबार कास्की जिल्ला अदालतमा पेश गर्ने भएको छ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार संगठित अपराध कसूरअन्तर्गत रविविरुद्ध अनुसन्धान अगाडि बढाइएको र अनुसन्धान अझै नसकिएकोले आइतबार म्याद थपका लागि अदालत पेश गर्न लागिएको हो। ‘अनुसन्धान भनेको क्रमबद्ध हुन्छ, हतारमा गर्ने कुरा भएन, रातभर नसुतेर काम गरिएको छ,’ कास्की प्रहरीका एक अधिकृतले भने,’ अनुसन्धान नसकिँदै छाड्ने कुरा भएन,हामीले अदालतसँग अनुमति माग्ने हो, सम्मानित अदालतबाट जस्तो आदेश आउँछ,त्यस्तै हुन्छ।’
रविलाई प्रहरीले कात्तिक २ गते पक्राउ गरेको थियो। कात्तिक ८ गते अनुसन्धानको लागि कास्की जिल्ला अदालतले प्रहरीलाई थप ७ दिनको समय दिएको थियो। सोही समयभित्र तिहार बिदा पर्यो। जसले गर्दा प्रहरीले तिहार सकिएलगत्तै अनुसन्धानको लागि भन्दै अदालतसँग थप समय माग गर्यो। अदालतले दिएको थप १० दिनको समय पनि सकिएपछि प्रहरीले अनुसन्धानको लागि भन्दै थप समय माग्ने तयारी गरेको हो।
रविविरुद्ध रुपन्देही जिल्ला अदालतले यसअघि नै पक्राउ पूर्जी जारी गरिसकेको छ। त्यसैले देवकुमारलाई जस्तै उनलाई पनि थप अनुसन्धानको लागि बुटबल लगिने प्रहरी स्रोतले बताएको छ।
Shares

प्रतिक्रिया