नेपाल पर्यटन बोर्डको तथ्याङ अनुसार चालु अंग्रेजी वर्षको सेम्टेम्बरमा ९६ हजार ३ सय ५ जना विदेशीले नेपाल भ्रमण गरे। पाँच वर्षयताकै सबैभन्दा बढी पर्यटक आएको यो महिनामा नेपाल टेक्ने उत्तरी छिमेकी चिनियाँको संख्या ४ हजार ३८ जना रहेको छ। यो महिना नेपाल आउने भारतीयको संख्या चाहिँ २२ हजार ९ सय ८४ रहेको थियो। 
एक समय यस्तो थियो, पोखरामा चिनियाँहरुको लर्को नै लागेको थियो। सन् २०१९ लाई सम्झने हो भने त्यो वर्ष १ लाख ६९ हजार ५ सय ४३ जना चिनियाँ नेपाल आउँदा अधिकांशले पोखरा घुमेका थिए। कतिसम्म भने २०७६ को कात्तिकमा चिनियाँ अभिनेतृ स्वी छिङ नै पोखरा आइन्। ‘पियान्चौ पियान्छाङ’ (लाइफ अन अ स्ट्रिङ), ‘गुड अगेन्स्ट एभिल’, ‘मिस्टर सिक्स’, ‘२४ आवर्स इन लभ’, ‘साइलेन्स अफ स्मोक’, ‘द हिडन स्वार्ड’जस्ता चलचित्रमा अभिनय गरेकी तथा ‘सयवटा सुन्दर फूलभन्दा पनि राम्री’ अभिनेतृको संज्ञा पाएकी यी नायिका अन्नपूर्ण आधार शिविरमा पुग्दा नेपालको व्यापक प्रचार भएको ठानियो।
पर्यटन मन्त्रालयले उनलाई नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत घोषणा पनि घोषणा गर्यो। एकातिर चिनियाँ लगानीमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहनु र अर्कोतिर चिनियाँहरुको लर्को लाग्नु एकैचोटी हुँदा पोखरेली पर्यटन व्यवसायी हौसिए। प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा एकपछि अर्को चिनियाँ रेष्टुराँ खुल्न थाले। तर, दुर्भाग्य कोभिड–१९ को प्रकोपले चिनियाँका पाइला उतै रोकिए। चीन सरकारले आफ्ना नागरिकलाई नेपाल घुम्न नजान भन्यो। लेकसाइड सेलायो। चिनियाँले औधि मन पराउने प्याराग्लाइडिङ र नजिकका छोटा पदयात्रा मार्ग पनि उस्तै गरी सुनसान बने।

तर,फाट्टफुट्ट रुपले नै सही, चिनियाँहरुको पोखरा आउने उपक्रम जारी नै रह्यो। चीनको लिञ्जी,कुनमिङ,गोन्जाओ,यिविन,नानिङ, छुसाओ,हाइकाओ,तिब्बतको गाञ्जी प्रान्तसँग भगिनी सम्बन्ध जोडेको पोखरा महानगरका प्रतिनिधिहरु उता गइरहे। पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा निराश बनेका पोखरेलीलाई ‘ड्रागन बोट फेस्टिभल’को छेको पारेर चीनबाट आएको दुईवटा चार्टर्ड विमानले केही आशा पनि जगायो। सो फेस्टिभलमा भाग लिन आएका पर्यटकले पनि पोखराको पर्यटनलाई थोरै भए पनि योगदान दिए।
चीनले पछिल्लो समय पोखरालाई विशेष महत्व दिन थालेको छ। योपटकको शरद ऋतुमा पनि चीनले त्यही उपक्रम दोहोर्यायो। पोखरामा तेस्रो क्रस कन्ट्री दौडको आयोजना भयो। हिमालयन टुरिजम फोरमले चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिकालगायतका विभिन्न संघ, संस्थाहरुसँगको साझेदारीमा यो प्रतियोगिता आयोजना गरेको हो।
चीनको युनान प्रान्तीय खेलकुद ब्यूरोले यो प्रतियोगितालाई सघाएको छ। नेपालको लागि चिनियाँ राजदूत चेन सङसहित युनान प्रान्तीय खेलकुद ब्यूरोका निर्देशक याङ झोङहुआसहितको १३४ सदस्यीय टोली चार्टर्ड विमानमार्फत् नै पोखरा झर्यो। उनीहरुले शनिबार पोखरामै आयोजना भएको क्रस कन्ट्री दौडमा सहभागिता जनाए। यसअघि प्रतियोगिताको संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपालका लागि चिनियाँ राजदूत चेन सङ,पोखराका मेयर धनराज आचार्यसहितले उद्घाटन गरे।

उद्घाटन समारोहमा बोल्दै पर्यटनमन्त्री पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा चीनले सघाउने आशा जताए। चिनियाँ राजदूत सङले तत्कालीन प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी चिनपिङबाट भएको नेपाल भ्रमण वर्ष २०२५ लाई भव्य बनाउने घोषणा गरे।
प्रतियोगिता अन्तर्गत चारवटा विधाका दौडमा एक हजार २०० जना खेलाडीले सहभागिता जनाए। विद्यार्थीहरु पनि चिनियाँसँगै दौडिएको हिमालय टुरिजम फोरमका मिडिया संयोजक इञ्जिनियर प्रतिकराज पहारीले जानकारी दिए।
प्रतियोगिताअन्तर्गत नै आयोजित ५० किलोमिटर पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएर राष्ट्र बैंक चोक, ड्याम साइड, छोरेपाटन, फुस्रेखोला, रामदी, मट्टीखान, देउराली, फेदीखोला, दमगडे स्कुूल, साल्मेडाँडा, रामकोट, कुुविण्डे, उल्लेरी, थाप्ले, टाइगर हिल, काब्रे, पुम्दीभुम्दी, तालपारीहुँदै पुनः बाराहीघाट आएर समापन हुने कार्यक्रम रहेको छ।

टिम समूह दौडमा १७ वटा नेपाली र चारवटा चिनियाँ समूह गरी २१ वटा समूहअन्तर्गत ६३ जना खेलाडी सहभागी छन्। प्रतियोगिताअन्तर्गत ५० किलोमिटर समूहगत र व्यक्तिगत, विद्यार्थी दौड, पाँच किमी र ह्यप्पी रन समूहमा दुई किमी दूरी तय भएको छ। समूह विजेताले ४ लाख ५८ हजार रुपैयाँ, उपविजेताले ३ लाख ४३ हजार रुपैयाँ, व्यक्तिगत विजेता महिला र पुरुषले समान १ लाख ५२ हजार रुपैयाँ पाउनेछन्।
विद्यार्थीतर्फको प्रतिष्पर्धाका विजेताले ३० हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकको भनाइ छ। विजयीहरुलाई साँझ आयोजना हुने समापन कार्यक्रममा पुरस्कृत गरिँदै छ।
प्रतियोगिताका क्रममा तीन दिनसम्म ‘पोखरा–कुन्मिङ इन्टरनेशनल फ्रेण्डसीप सिटिज लिग’ पनि समावेश छ। पोखरा पर्वतीय संग्रहालयमा युनानका पर्वतीय वस्तु तथा स्रोतसम्बन्धी प्रदर्शनी पनि आयोजना गरिएको छ।
Shares

प्रतिक्रिया