ad ad

गण्डकी


पोखरामा ‘एकको बदला एमाले–कांग्रेसलाई पाँच हाल्नुहोस्’ भनेर हिंडेका रवि सिधै किन बालुवाटार पुगे

पोखरामा ‘एकको बदला एमाले–कांग्रेसलाई पाँच हाल्नुहोस्’ भनेर हिंडेका रवि सिधै किन बालुवाटार पुगे

वाशुदेव मिश्र
भदौ २५, २०८१ मंगलबार २२:३८, कास्की (पोखरा)

अघिल्लो वर्षको पुस ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखरामा थिए। यहाँको अमरसिंह चौरमा आयोजित सभामा उनलाई सुन्न चाहनेहरूको बाक्लो उपस्थिति थियो।

तर, त्यो बेलासम्म उनी यहाँको सूर्यदर्शन सहकारीको रकम अपचलन काण्डमा डामिइसकेका थिए। ‘क्रेज’ घटेको त थिएन र तर भित्रभित्रै ‘आब्बुइ, ऊ पनि त्यस्तै रहेछ’ भन्नेहरू बढ्दै गएका थिए।

रवि जोडतोडले भाषण गर्दै थिए, अचानक उनीमाथि खोया प्रहार भयो। रविका समर्थकहरूले लमजुङ राइनास–४ स्थायी घर भइ पोखरा बस्दै आएका २७ वर्षीय सन्तोष रानाभाटमाथि लात्तिमुङ्ग्री गरे।

प्रहरीले सन्तोषलाई जोगाएर बाहिर निकाल्यो। खोया हान्ने सन्तोष सहकारी पीडित रहेको चर्चा चल्यो। तर, पछि सन्तोषले प्रहरीसामु बोली फेरे। आफूले रविलाई लक्षित गरी खोया नहानेको बताए भने सहकारीसँग संलग्नता पनि अस्वीकार गरे। रास्वपाका समर्थकहरूले सन्तोष मानसिक रोगी रहेको पुष्टि गर्न जोडबल लगाए। 

त्यो प्रकरण त्यत्तिकै सेलायो। तर, सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिले रास्वपा सभापति रवि लामिछानेलाई पोखराको जिरो किलोमिटरमा रहेको उनकै कार्यालयमा पुगेर डुबेको निक्षेप फिर्ताको पहलको लागि आग्रह गरेको चाहिँ सार्वजनिक भयो।

संघर्ष समितिका संयोजक किरण श्रेष्ठका अनुसार त्यो बेला पीडितहरूले रविलाई ‘सहकारीको रकम अपचलन गर्नेमा तपाईंको पनि नाम आएको छ। त्यसैले सूर्यदर्शन सहकारी पीडितको पक्षमा बोल्दै आफूलाई निर्दोष सावित गर्नुहोस्’ भन्ने आग्रह गरेका थिए।

रविले आफू त्यो सहकारीको रकम हिनामिनामा संलग्न नभएको जवाफ दिएका थिए भने पीडितको पक्षमा आवाज उठाउने प्रतिबद्धता जनाएका थिए। 

अमरसिंहको सो काण्डपछि रवि औपचारिक कार्यक्रमको क्रममा पोखरा आएनन्। गृहमन्त्री हुँदा पनि उनको पोखरा आउने साइत जुरेन। सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणबाट छुटकारा पाउने अवस्था पनि सिर्जना भएन।

बरु, ग्यालेक्सी फोर के टेलिभिजनको प्रबन्ध निर्देशक हुँदाको बखत सूर्यदर्शन सहकारीबाट उनको नाममा १ करोड निकासा भएको पुष्टि हुने कागजात बाहिरियो।

पोखरा महानगरपालिकाले गरेको अनुसन्धानको क्रममा त्यो तथ्य बाहिर आएपछि सहकारी पीडितहरुले रविमाथि छानबिनको माग झन बढाए। नेपाली कांग्रेसले त संसदीय छानबिन समिति गठनकै माग गर्‍यो। संसद अवरुद्ध नै गर्‍यो। छानबिन समिति गठन पनि भयो। प्रतिवदेन आउन बाँकी हुँदै गर्दा अहिले रविको गृहमन्त्री पद खुस्केको छ।

उनी प्रतिपक्षको बेञ्चमा छन्।

प्रतिपक्षको बेञ्चमा बसेकै बेला रवि मंगलबार रास्वपाको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न पोखरा आए। रवि आउने सुइँको पाउनासाथ सहकारी पीडितहरू पोखराको बिरौटामा रहेको ग्यालेक्सी बेन्क्वेटमा पुगिहाले।

उनीहरू रवि आउनभन्दा अगाडिदेखि नै नाराबाजीमा उत्रिए। कालोझण्डा देखाए।

पोखराको सूर्यदर्शन सहकारीमा १८ हजार बढी बचतकर्ताको १ अर्ब ११ करोडभन्दा बढी रकम अपचलन मुछिएका रविलाई नै लक्षित गरी ठगसम्म भने।

पूर्वगृहमन्त्रीको हैसियतमा उनले राम्रै सुरक्षा पाए। प्रहरीले कार्यक्रमस्थलमा कसैलाई पस्न दिएन। संचारकर्मीलाई पनि निषेध गरियो। आफूविरुद्धको नाराबाजी सुनेका रविले भेलामा कार्यकर्तासामु निर्दोष रहेको जिकिर चाहिँ गरे।

उनले आफूविरुद्ध नेपाली कांग्रेस र एमालेले नियोजित रुपले आक्रमण गरेको जिकिर गर्दै त्यसका विरुद्ध लाग्न कार्यकर्तालाई उकासे। 

भनेका छन्– प्रमाण भएको भए घोक्रेठ्याक लगाउँथे
कहिलेकाहीँ हामी डराउँछौँ, हामीले केही भन्यो भने सहकारी ठग रैछ भनेर डराउँछौँ। हामीलाई एउटा लेख्छन्, यिनीहरूको पाँचवटा लेख्नुहोस् न ,एमालेले भन्यो भने– एमालेको पाँचवटा काण्ड थाहा छैन र? एकको बदला पाँच हाल्नुहोस्। कांंग्रेसले भन्छ, एकको बदला पाँच हाल्दिनुहोस, पचास लेख्न मिल्छ, पाँच लेख्नुहोस। के–के ठग, के–के ठग। नक्कली भुटानी शरणार्थीदेखि नक्कली डिभोर्ससम्म लेखेर पठाइदिनुहोस न। कोही धरौटीमा छुटेका छन् (पूर्वगृहमन्त्री बालकृष्ण खाँण लक्षित)। कति पैसा गयो, त्यसको बिगो कायम भएको छ। म हुँदा अहिले भनिन्छ नि, केही पनि थाहा छैन तिमीहरूलाई? नाँई मलाई थाहा छैन भन्छौ तिमीहरू भन्छन्, त्यो उनीहरूले बनाएको भाष्य हो। पहिलो कुरा त, थाहा नभएको कुरालाई थाहा छैन नै भन्ने हो, थाहै नभएको कुरालाई थाहा छ कसरी भन्ने हो र?

आज कसैले चर्चा गर्नुभयो, मेरो व्यक्तिगत खातामा आएको, आफ्नो खातामा आएछ, व्यक्तिगत कसले हाल्दिएछ भन्नुभयो।  कम्पनीको खातामा जम्मा भएको छ, कम्पनीबाट पैसा ल्याउँदा लगानीकर्ताले केही सम्झौता गरेर ल्याएको होला, केही कोल्याटर गरेर ल्याएको होला, कसैले डिपोजिट गरिदिएको होला। मैले ऋण लिएको प्रमाणित भए, ऋण तिर्ने दायित्व होला, कति हो त ऋण मेरो, कहाँबाट हो त मैले ऋण लिएको? कहाँ गएर तिर्ने, कि कान्तिपुरलाई लगेर बुझाउने हो? बुझाउने त ऋण लिएको ठाउँमा होला नि। यो विषय उठेको १७÷१८ महिना भयो। ४ महिना हामी सरकारमा भयौँ होला। बाँकी दिन मैले गल्ती गरेको भए के, यिनीहरूले मलाई दया गरेर, माया गरेर छाडेका हुन र? आफ्नै पार्टीको बालकृष्ण खाँणलाई घरमा ढोका फोडेर घोक्रेठ्याक लगाएर जेल हाल्नेहरूले रवि लामिछानेलाई दया गरेर, माया गरेर, कठै बिचरा भनेर छाडेका होइनन्। गल्ती गरेको छैन, कुनै प्रमाण छैन, गल्ती नगरेपछि प्रमाण हुने कुरा पनि भएन, कुनै आधार छैन, क्लू छैन।

पोखराबाट मंगलबार नै काठमाडौँ फर्किएका उनले सिधै बालुवाटार पुगेर प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरे। 

कांग्रेस–एमाले सत्ता गठबन्धनले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारी गरेका बेला रास्वपा सभापति लामिछाने प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्री ओली निकट स्रोतका अनुसार, मंगलबार साँझ केहीबेर प्रधानमन्त्री ओलीसँग एक्लै बसेका उनले उपसभामुखको विषयमा सरकारको आधिकारिक धारणा माग गरेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .