ad ad

गण्डकी


पोखराका सामुदायिक विद्यालयमा चिनियाँ भाषाको पढाइ

पोखराका सामुदायिक विद्यालयमा चिनियाँ भाषाको पढाइ

नेपालखबर
भदौ २४, २०८१ सोमबार २१:५, पोखरा

पोखरा महामनगरले यहाँका १० वटा सामुदायिक विद्यालयमा चिनियाँ भाषा पढाउने निर्णय गरेको छ।

चिनियाँ दूतावासको सहयोगमा यी कक्षा सञ्चालन गरिन लागेको हो। महानर र चिनियाँ दूतावासबीच भएको सहमति अनुसार १० जना भाषा शिक्षक दूतावासले उपलब्ध गराउने छ।

उनीहरूले एक वर्षसम्म चिनियाँ भाषा पढाउने र माध्यम चाहिँ अंग्रेजी नै प्रयोग गर्ने मेयर धनराज आचार्यले जानकारी दिए। यी कक्षाहरु अतिरिक्त हुने पनि उनले बताए।

‘भाषा सिक्नु आफैंमा राम्रो हो। छिमेकी र हामीले पर्यटकको रुपमा निम्ता गरिरहेको देशको भाषा त पर्यटकीय राजधानीजस्तो ठाउँका निम्ति अपरिहार्य नै हो,’उनले भने,‘ यहाँ आउने चिनियाँ पर्यटकले नेपाली र अंग्रेजी नबुझ्ने, हामीले बुझाउन नसक्दा दुवैपक्षलाई हानी भएको छ। भाषा कक्षाले रोजगारीका साथै चिनियाँ पर्यटक आकर्षित गर्न पनि मद्दत पुग्ने छ।’

चीनको लिजी, कुन्मिङ, गोञ्जाओ, यिविन, छुसाओ, हाइकाओ, नानिङ सहरसँग पोखराले भगिनी सम्बन्ध स्थापना गरेको छ। यस्तै चीनको स्वशासित क्षेत्र तिब्बतको गान्जी प्रान्तसँग पनि पोखराको भगिनी सम्बन्ध छ।

ती सम्बन्धहरु द्विपक्षीय हितका साथै संस्कृति र पर्यटन प्रवद्र्धनका निम्ति भएका हुन्। दुवै पक्षले आयोजना गर्ने कार्यक्रममा पनि भाषाको समस्या हुने गरेको र विद्यालयस्तरबाटै हुने पढाइले त्यो समस्या हट्ने मेयर आचार्यको भनाइ छ।

‘चिनियाँ साथीहरूसँग कुरा गर्न समस्या नै छ। मुस्ताङको कोरोला नाका छिट्टै सञ्चालनमा आउँदैछ, त्यहाँबाट व्यापार गर्न पनि भाषा चाहिन्छ। पोखरा घुम्न आउने चिनियाँ पर्यटकको बसाइ लम्ब्याउन पनि भाषा चाहिन्छ,’ उनले भने,‘ स्कूलबाटै सुरु हुने कक्षाले त्यो आवश्यकता पूरा गर्नेछ।’

नौदेखि १२ कक्षा पढ्ने विद्यार्थीले चिनियाँ भाषाको अतिरिक्त कक्षा लिनसक्ने पनि मेयर आचार्यको भनाइ छ।

पहिलो चरणमा पार्दी माध्यमिक विद्यालय बिरौटा, बालमन्दिर माध्यमिक विद्यालय नदीपुर, जनप्रकाश माध्यमिक विद्यालय भण्डारढिक, छोरेपाटन माध्यमिक विद्यालय छोरेपाटन, लक्ष्मी आदर्श माध्यमिक विद्यालय सिसुवा, गौरीशंकर माध्यमिक विद्यालय हेम्जा, बिष्णुपादुका माध्यमिक विद्यालय हेम्जा, राष्ट्रिय माध्यमिक विद्यालय टुँडिखेल, लक्ष्मी माध्यमिक विद्यालय अघौँ र जनप्रिय माध्यमिक विद्यालय, सिमलचौरमा अतिरिक्त कक्षाका रूपमा यही भदौ २७ गतेदेखि निःशुल्क चाइनिज भाषाको कक्षा सञ्चालन हुने महानगरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .