ad ad

गण्डकी


कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा बसपार्क बन्दै

कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा बसपार्क बन्दै

नेपालखबर
जेठ २६, २०८१ शनिबार २१:३७, गण्डकी

कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा निर्माणाधीन बसपार्कको काम अन्तिम चरणमा पुगेको छ। गाउँपालिका र गण्डकी प्रदेश सरकारको बजेटबाट बसपार्क बन्न लागेको वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए।

उनका अनुसार गत आर्थिक वर्षमा गाउँपालिकाको रु २५ लाख बजेटबाट बसपार्कको काम सुरु गरिएकामा चालु आवमा प्रदेश सरकारले रु ५० लाख बजेट विनियोजन गरेको थियो।

‘सिक्लेसमा पार्किङको समस्या थियो, ढलानसहितको व्यवस्थित बसपार्क बनेपछि अब स्थानीय र पर्यटकलाई लाभ पुग्नेछ’, उनले भने, ‘पोखरा जोड्ने सडक पनि स्तरोन्नति भएपछि सिक्लेसको यात्रा सहज बनेको छ।’

निर्माणको जिम्मा पाएको लिएको पावर टेक इन्जिनियरिङका सञ्चालक हिमाल गुरुङले आगामी असारभित्रमा बसपार्कको काम सकिने बताए। 

‘ढलान र पर्खालको काम सकिएको छ, केही ठाउँमा ग्याविन जाली, बसपार्क जोड्ने सडक ढलानको काम बाँकी छ’, उनले भने। 

प्रदेश सरकारको सहरी विकास तथा भवन कार्यालयमार्फत सिक्लेसमा सडक स्तरोन्नति, नाली निर्माणलगायतका काम भइरहेको वडाध्यक्ष गुरुङले बताए।

सडक पुगेको दुई दशकपछि सिक्लेसमा व्यवस्थित बसपार्क निर्माण गरिएको हो। गाउँपालिकामार्फत बसपार्कलाई चाहिने अन्य पूर्वाधारका लागि प्रदेश सरकारसँग बजेट माग गरिएको वडाध्यक्ष गुरुङले बताए।

‘टिकटघर, यात्रु विश्रामस्थल, शौचालयलगायत संरचनाका लागि थप बजेटको आवश्यकता छ’, उनले भने, ‘अहिले कम्तीमा बसपार्क ढलानसम्म भएको छ, यसले  पनि पार्किङमा धेरै सहजता थपेको छ।’

सिक्लेस आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको गन्तव्य भएकाले पछिल्लो समय त्यहाँ पर्यटकीय गतिविधि बढ्न थालेका छन्। पर्यटकसँगै स्थानीयवासीको सुविधाका लागि सडकलगायतका पूर्वाधार विकासका काममा प्रदेश सरकार र गाउँपालिकाले लगानी बढाएका छन्।

प्रदेश सरकारको बजेटबाट पोखराको काहुँखोलाबाट सिक्लेस जोड्ने सडक कालोपत्रको काम पनि तीव्र रूपमा भइरहेको छ। काहुँखोलाबाट मादी–७ थाकसम्मको १० किमी सडक कालोपत्र भइसकेको छ। थाकबाट मादी–६ चिप्लीसम्मको १० किमी खण्ड कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको पूर्वाधार विकास कार्यालय कास्कीले जनाएको छ। 

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत उक्त सडक स्तरोन्नतिको काम भइरहेको पूर्वाधार विकास कार्यालयका कन्सल्ट्यान्ट इन्जिनियर धनप्रसाद सुवेदीले जानकारी दिए।

उनका अनुसार दोस्रो चरणमा थाकबाट चिप्लीसम्मको १० किमी सडक कालोपत्र गर्न लागिएको छ। ‘अहिले ग्रेड र सब–बेस मिलाउने काम भइरहेको छ, निर्माण कम्पनीले पनि समय तालिकाअनुसार नै काम गरिरहेको छ’, उनले भने। 

चिप्लीबाट सिक्लेससम्मको बाँकी खण्ड कालोपत्रका लागि आगामी आवमा समपूरक योजनामा समावेश गर्न प्रस्ताव अगाडि बढाएको कार्यालयले जनाएको छ।

प्रदेश सरकारले सिक्लेस हुँदै कास्की, लमजुङ र मनाङको सङ्गमस्थल दुधपोखरीसम्म सडक सञ्जाल पुर्याउने गरी चार वर्षअघि उक्त आयोजना सुरु गरेको थियो।

वडाध्यक्ष गुरुङले सडकले सिक्लेससहित खिलाङ, चिप्ली, ताङतिङ, कोरी, कपुचेलगायतका गन्तव्यमा पुग्ने पर्यटकको यात्रा सहज हुने बताए। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .