ad ad

गण्डकी


पर्यटकीय गाउँ जोड्ने सडक कालोपत्र

पर्यटकीय गाउँ जोड्ने सडक कालोपत्र

नेपालखबर
बैशाख २९, २०८१ शनिबार १७:५९, गण्डकी

गण्डकी प्रदेश सरकारको लगानीमा लमजुङको क्व्होलासोथार गाउँपालिकास्थित पर्यटकीय घलेगाउँ र भुजुङ जोड्ने सडक कालोपत्र गर्न थालिएको छ। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको बेसीसहर–बागलुङपानी–घलेगाउँ सडक आयोजनाअन्तर्गत बागलुङपानीदेखि घलेगाउँतर्फ कालोपत्र गर्न सुरु गरिएको हो।

बागलुङपानी–घलेगाउँ जोड्ने १० किमिमा कालोपत्र र घलेगाउँदेखि मस्याङ्दी गाउँपालिका–१ हुँदै क्व्होलासोथार–४ भुजुङ जोड्ने सात किमि सडक ग्राभेल गर्ने कामले तीव्रता पाएको पूर्वाधार विकास कार्यालय लजमुङले जनाएको छ।

कान्छाराम कन्सट्रक्सनले विसं २०७६ मा रु ३६ करोड ६६ लाखमा ठेक्का सम्झौता गरेको यो सडक आयोजना विसं २०७८ मा सम्पन्न हुनुपर्नेमा कोरोना महामारीका कारण पछाडि धकेलिएको थियो। 

दुई वर्षपछि निर्माणले गति लिएको सडकको बागलुङपानीदेखि घलेगाउँतर्फ प्रिमिक्स प्रविधिको कालोपत्र गर्न थालिएको पूर्वाधार विकास कार्यालयका प्रमुख विवेक सिग्देलले बताए। 

एक किमि पाँच सय मिटर दुईतर्फी र सात सय मिटर एकतर्फी कालोपत्र भइसकेको उनको भनाइ छ। 

‘सडक निर्माणको भौतिक प्रगति ६० प्रतिशत पुगेको छ, पछिल्लो समय दु्रत गतिमा काम भइरहेको छ’, प्रमुख सिग्देलले भने, ‘घलेगाउँ, भुजुङ जोड्ने ग्रामिण पर्यटन विकासका लागि पनि निकै महत्वपूर्ण छ।’

घलेगाउँसम्म सडक चौडा, नाली, पर्खाल निर्माणलगायतका काम सकेर सब–बेस राखिसकिएको निर्माण कम्पनीले जनाएको छ। कम्पनीका अनुसार पहिरो प्रभावित तोरीबारी–खेनगी खण्डबाहेकको ठाउँमा कालोपत्र गर्ने तयारी भइरहेको छ।

घलेगाउँदेखि भुजुङतर्फ ग्राभेल गर्नका लागि सडक चौडा पार्ने, नाली, पर्खाल, ग्रेड तथा घुम्ती सुधारको कामलाई तीव्रता दिइएको सो खण्डको सहायक निर्माण कम्पनी भरोस निर्माण सेवाका सञ्चालक भरोस खड्काले बताए।

सडक कालोपत्र भएपछि दुवै पर्यटकीय गाउँका स्थानीयवासीदेखि आन्तरिक तथा बाह्य पर्यटकलाई आउजाउ गर्न सहज हुने क्व्होलासोथार गाउँपालिका–३ का वडाध्यक्ष आशवीर गुरुङले बताए।

‘स्मार्ट गाउँ’ले चिनिने घलेगाउँ र छिमेकी भुजुङ गाउँको पर्यटन प्रवर्द्धनमा थप मद्दत पुग्ने उनको भनाइ छ। सडकलाई समयमै पूर्णता दिन वडाले समन्वय र सहजीकरणको काम गरिरहेको वडाध्यक्ष गुरुङले बताए। 

यसअघि जिल्ला सदरमुकाम बेसीसहरदेखि बागलुङपानीतर्फ तीन किमि सडक कालोपत्र भइसकेको जनाएको छ।

यस वर्ष थप रु १४ करोड बजेटको ठेक्का लगाइएको पूर्वाधार विकास कार्यालयले जनाएको छ। यो सडकले पश्चिम लमजुङको विकास र उन्नतिमा महत्वपूर्ण टेवा पुग्ने स्थानीयवासी बताउँछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .