गण्डकी


‘जीबी राई कहाँ छ? रवि दाइलाई थाहा छ!’

‘जीबी राई कहाँ छ? रवि दाइलाई थाहा छ!’

वाशुदेव मिश्र
बैशाख १०, २०८१ सोमबार १५:११, काठमाडौँ

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई अहिले फरार छन्।

बचतकर्ताको अरबौं रकम अपचलन गरी फरार भएका उनी मलेसियामा रहेको आशंका गरिएको छ। कोषाध्यक्ष कुमार रम्तेलसहितका केही सञ्चालकहरू पक्राउ परे पनि जीबीलाई समात्नेतर्फ प्रहरीले सफलता पाउन सकेको छैन।

जीबीलाई पक्राउ गरेपछि पीडितहरुको रकम फिर्ता हुने र यो प्रकरणको न्यायिक निरुपण हुने पीडितहरूको भनाइ छ।

जीबीलाई पक्राउ गर्न पीडितहरूले पटक–पटक प्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पनि गुहारिसकेका छन्।

सूर्यदर्शन सहकारी पीडितहररूको तर्फबाट त्यसका संयोजक किरण श्रेष्ठसहितका व्यक्तिहरुले दुई हप्ता अगाडि पनि गृहमन्त्रीलाई भेटेका थिए। भेटमा गृहमन्त्रीले जीबीलाई पक्राउ गर्न मलेसिया सरकारसँग पहल भइरहेको जानकारी गराएका थिए।

कुरा के छ भने, जीबी राईसँगै सूर्यदर्शन सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम पनि जोडिएको छ। पोखरा महानगरबाट गठित छानबिन समितिको एउटा प्रतिवेदनमा उनको नाममा पनि रकम गएको देखिन्छ।

जीबी नै अध्यक्ष रहेको गोर्खा मिडियामा कुनै बेला रवि आफैं काम गर्थे। त्यसका कार्यकारी निर्देशक रहेका रविले जीबीसँगको सहकार्य लुकाएका छैनन् तर घोटालामा संलग्नता चाहिँ अस्वीकार गर्दै आएका छन्।

गृहमन्त्रीको नाम पनि जोडिनु तर जीबी पक्राउ नपर्नुले उनीमाथि पनि प्रश्न गर्न थालिएको छ। संसदमा नेपाली कांग्रेसले सहकारी छानबिनको लागि संसदीय समितिकै माग गर्यो। तर, सत्ता गठबन्धनले त्यो मागको सुनुवाइ गरेन। बरु, संसदको अधिवेशन नै अन्त्य गरिदियो।

सोमबार पोखराको सडकबाट पनि गृहमन्त्री रविमाथि प्रश्न उठाइयो। पोखरामा रहेका ६ वटा सहकारी पीडितहरूले संयुक्त रुपले निकालेको दबाब र् यालीमा ‘जीबी राई कहाँ छ? रवि दाइलाई थाहा छ’, ‘गृहमन्त्री तिम्रो पाराले, दुःख पाए साराले’ जस्ता नारा लागे।

नाराबाजीसहित जिल्ला प्रहरी कार्यालयबाट निस्केको जुलुसले पोखरा महानगपालिका मेयरदेखि कास्कीका प्रमुख जिल्ला अधिकारीसम्मलाई ज्ञापनपत्र बुझाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .