गण्डकी


दीपक मनाङेको आक्रोश : ‘एग्रो मनाङ’ले वन फाँड्यो, अनुदानमा हिनामिना गर्‍यो

भन्छन् : मन्त्री बनाइदेऊ भनेर बन्दुक बोकेर जाऊँ त?
दीपक मनाङेको आक्रोश : ‘एग्रो मनाङ’ले वन फाँड्यो, अनुदानमा हिनामिना गर्‍यो

फाइल फोटो


नेपालखबर
मंसिर २८, २०८० बिहिबार २१:४८, पोखरा

दीपक मनाङेको नामबाट चर्चित गण्डकी प्रदेशका सांसद राजीव गुरुङको अतित त्यति राम्रो छैन। उनले सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिसकेका छन्।

मनाङे यतिबेला ‘माननीय’ छन्। गण्डकी प्रदेशमा तीनपटकसम्म मन्त्री बनेका उनी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को तर्फबाट गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने एकमात्रै सांसद पनि हुन्।

मनाङ ‘ख’बाट निर्विरोध निर्वाचित राजीवलाई पार्टी प्रवेशसँगै माधव नेपाल नेतृत्वको एकीकृत समाजावदी पार्टीले केन्द्रीय परिषद् सदस्य तथा पार्टी प्रदेश सचिवालय सदस्यको जिम्मेवारी दिएको छ। संसदमा खासै नबोल्ने उनै सांसद राजीव यतिबेला भने मुखरित हुन थालेका छन्।

केन्द्रीय सत्ता गठबन्धनभित्र गण्डकीको सरकार गठन हुँदा एकीकृत समाजवादीलाई पनि भाग दिने सहमति भएको र राजीवलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री नबनाएको भन्दै पार्टी अध्यक्ष माधव नेपालले सार्वजनिक रुपमै असन्तुष्टि जनाएपछि उनी झन् मुखरित भएका छन्।

यही उपक्रममा उनी बुधबार प्रदेशको सामाजिक विकास तथा कृषि समितिले बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलको लागि आयोजित बैठकमा पुगे।

त्यहाँ पुगेर उनले सुशासनको पक्षमा कडा अभिव्यक्ति दिए। आफ्नै जिल्ला मनाङमा सञ्चालित एग्रो मनाङ प्रालिले स्याउ खेतीको नाममा अवैधानिक तवरले अनुदान लिइरहेको उनको जिकिर थियो।

बुधबार एग्रो मनाङ प्रालिविरुद्ध अभिव्यक्ति दिएका सांसद राजीवले बिहीबार चाहिँ पत्रकार सम्मेलनकै आयोजना गरे। पत्रकार सम्मेलनमा उनले एसियाकै ठूलो दाबी गरिएको एग्रो मनाङ प्रालिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको खुलासामात्र गरेनन्, कम्पनीले अवैध तरिकाले जग्गा हडपेर फार्म सञ्चालन गरेको, वन फँडानी गरेको जिकिर पनि गरे।

खासमा कुरो के छ भने, एग्रो मनाङ प्रालि एमाले नेता तथा पूर्वसांसद पाल्देन छोपाङ गुरुङको हो। एसियाकै ठूलो भनिएको यो स्याउ फार्मले विदेशबाट स्याउका बिरुवा ल्याउने अनुमति पनि पाएको छ। यही कम्पनीले ल्याएको स्याउको बिरुवा गण्डकी प्रदेश सरकारले गोरखा, मनाङ र मुस्ताङमा वितरणसमेत गरेको थियो।  

पूर्वसांसद पाल्देन राजनीतिक रुपले राजीवका प्रतिस्पर्धी हुन्। तर, आफूले प्रतिस्पर्धी नभएर गाउँलेबाट गलत भएको सुनेको र उजुरी दिएको राजीवको जिकिर छ। गाउँमा बिजुलीको पोल गाड्नुपर्ने भएको र एग्रो मनाङले पोल गाड्न नदिएपछि आफू आफ्नै निर्वाचन क्षेत्रमा पुग्दा वन फँडानी भएको,अवैध तरिकाले रुख काटिएको र जग्गा कब्जा गरिएको थाहा भएको उनले सुनाए।

‘रुख काट्ने र वनजंगल फँडानी गर्ने अधिकार कसले र किन दियो? जनता आक्रोशित थिए। म सरोकारवाला निकायसँग बुझ्नतर्फ लागें,’ उनले भने,‘तर, कसैले पनि अख्तियारी नदिएको र एग्रो मनाङ प्रालिले अवैध रूपले लुकीछिपी आफूखुसी रुखहरू काटिरहेको बुझ्नमा आयो। जुन जग्गामा उक्त कम्पनी सञ्चालनमा छ, त्यो जग्गा नै विवादित थियो। तत्कालीन समयमा पिसाङ, घ्यारु, ङावल, भ्राका, टंकी, खाङसार समेत सात गाविसका नाममा जिल्ला मालपोत कार्यालय मनाङमा दर्ता भई उक्त जग्गा हाल मनाङ ङिस्याङ गाउँपालिकाअन्तर्गत पर्छ। त्यस जग्गालाई सार्वजनिक भन्ने कि व्यक्तिगत भन्ने स्वयं मालपोत कार्यालय पनि अन्योलमा छ। व्यक्तिगत भनौं भने गाविसहरूको नामको स्वामित्व छ, सार्वजनिक भनौँ भने जग्गाधनी प्रमाणपुर्जा दिएको छ। अब कुरा आउँछ यस्तो जग्गाको स्वामित्व हाल कोसँग छ?’

मनाङ सेवा समितिले सो जग्गा उपभोग गरेको र अहिले मनाङ मर्स्याङ्दी क्लबसँग सम्झौता गरेर एग्रो मनाङले अवैध तरिकाले जग्गा लिजमा लिएको उनको आरोप छ।

‘एसियाकै ठूलो फर्म भनेर चर्चा चलाएकै भरमा पहुँचका आधारमा अनुदान बाँड्नुले पनि अनुदानदाताप्रति गम्भीर प्रश्न खडा गरेको छ,’उनले भनेका छन्,‘ एग्रो मनाङ प्रालिले ७३४ रोपनी जग्गाको अवैधानिक अनुमति लिई ८२५ भन्दा बढी रोपनी जग्गा भोगचलन गर्दै आएको खुलेको छ।’

त्यही भएर उनले कानूनी उपचार खोजेको पनि बताए।

मन्त्री हुँदा पनि गाह्रो
सांसद राजीवले आफू किन मन्त्री भइन भन्ने प्रश्न कांग्रेस सभापति शेरबहादुर देउवासँग सोध्न पत्रकारसँग आग्रह गरे।

कांग्रेस पार्टीमा ‘चेन अफ कमाण्ड’ले काम नगर्दा आफूलाई मन्त्री नबनाइएको उनको जिकिर थियो। ‘हाम्रो पार्टी र माओवादीमा चेन अफ कमान्ड भन्ने हुन्छ। यो त्यो हामी हेर्दैनौं। कांग्रेसमा त्यस्तो नहुने रहेछ। किन समस्या आयो शेरबहादुर देउबालाई सोध्ने हो मलाई हैन, म त अहिले पनि जान्छु भनिरहेको छु त जान्नँ भनेको भए पो सोध्ने हो,’उनले भने।  

उनले मन्त्री बनाऊ भनेर बन्दुक बोकेर जान नमिल्ने जिकिर गर्दै भने,‘ मेरो नामको हिसाबले बन्दुक बोकेर जाने त? मेरो पार्टीको अध्यक्षले पनि यो विषयमा स्पष्ट भनिसक्नुभएको छ। माधवकुमार नेपालजस्तो हाइट भएको मानिसले फोन गरेर भन्दाखेरी नमान्ने भनेको हाँसो उठ्दो कुरा हो।’

उनी त्यत्तिमा रोकिएनन्। मन्त्री हुँदा बिहानै दौरासुरुवाल लगाउनुपर्ने झन्झट हुने सुनाउँदै थपे,‘मन्त्री हुँदैमा के छ र? झण्डा हल्लाएर हुन्छ र? म १८ महिना मन्त्री हुँदा थाहा पाएँ, हरेक दिन बिहान उठ्नुपर्ने, दौरासुरुवाल लगाउनुपर्ने। गाह्रो। मेरो लागि सरकार मन्त्री महत्वपूर्ण कुरा होइन, मैले सामाजिक हिसाबले राजनीति गरेको हो, बजेट लैजान मन्त्री बनेको हो।’

उनले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको छवी आफ्नोभन्दा पनि नराम्रो भएको जिकिर पनि गरे। तरुण दलमा हुँदा आफूले मुख्यमन्त्रीसँग काम गरेको पनि सुनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad