पोखरामा नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मल बढी मूल्यमा बिक्री गरेको पाइएको छ। पोखरा महानगरको मल वितरण व्यवस्थापन समितिबाट भएको अनुगमनको क्रममा प्रतिकिलो १० देखि १५ रुपैयाँसम्म बढी मूल्यमा मल बिक्री भएको पाइएको हो।
अनुदानको मलमा कालोबजारी भएको गुनासोसँगै पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख ठाकुरप्रसाद बास्तोला र महानगर कृषि महाशाखा प्रमुख मनहर कडरिया सहितको टोली अनुगमनमा निस्केको थियो।
पोखरा १० मा रहेको अमरसिंह कृषि सहकारीले २१ रुपैयाँको युरिया ३५ र ५० रुपैयाँको डिएपी ६५ रुपैयाँमा बिक्री गरेको पाइएको महानगरका कृषि महाशाखा प्रमु्ख मनोहर कडरियाले बताए।
पोखरा महानगरको मल वितरण व्यवस्थापन समितिको साउन १२ गतेको बैठकले सरकारी अनुदानमा प्राप्त हुने मलको मूल्य निर्धारण गरेको थियो।
महानगरले युरिया मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा प्रतिकिलो १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ ५ पैसासम्म, डीएपी मलको मूल्य प्रतिकिलो ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ ५ पैसा मूल्य तोकेको थियो। महानगरले मल बिक्रीको क्रममा प्लास्टिकको झोलाको बढीमा प्रतिकिलो २ रुपैयाँसम्म लिन पाउने निर्णय पनि गरेको थियो।
कृषि महाशाखा प्रमुख कडरियाका अनुसार सो सहकारीले मल बिक्री वितरण गर्ने अनुमति नै नलिएको पाइएको छ। पसल दर्ता भए पनि मल, विषादी र बीऊबिजन बिक्री अनुमतिसमेत नलिएकाले सो पसलका सञ्चालकलाई सोमबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन र बाँकी रहेको मल बिक्रीमा रोक लगाइएको छ।
बिक्रीका लागि राखिएको २५ बोरा युरिया, ६ बोरा डिएपी र ५ बोरा पोटास सिल गरिएको पनि उनले जानकारी दिए। त्यस्तै उपभोक्ता सहकारी संघले पनि कृषि सामग्री कृषि सामग्री कम्पनी लिमिटेडबाट अनुदानमा ल्याएको मल अनुमति नपाएका सहकारी र पसललाई बढी मूल्यमा बिक्री गरेको अनुगमनमा फेला पारेको हो।
संघले कार्यक्षेत्र भन्दा बाहिर मल पठाउने गरेको, बिलबिजक जारी नगरेको, मूल्यसूची नराखेको, कृषि सामग्रीबाट ५० बोरा र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट ३५ बोरा युरिया ल्याएको फेला परेको छ।
कृषि सामग्रीबाट साउन १८ गते ल्याएको सबै मल बिक्री गरेको अनुगमनमा देखिएको छ। अनुगमन टोलीले सो सहकारी सञ्चालकलाई पनि सोमबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।
अघिल्लो आर्थिक वर्षमा पोखरामा युरिया, डीएपी र पोटास गरेर १ हजार ९७७ टन मल खपत भएको थियो। अघिल्लो आर्थिक वर्षमा युरिया १ हजार २२१.७५ टन, डीएपी ६६३.८५ टन, पोटास ३९.९५ टन र कृषि चुन २.१ टन खपत भएको कृषि महाशाखा प्रमुख कडरियाले जानकारी दिए। यो वर्ष महानगरले पोखराका २६ वटा वडाका ६७ वटा केन्द्रबाट मल बिक्री–वितरण गर्ने व्यवस्था मिलाएको थियो। ती सबै बिक्री केन्द्रहरु सूचीकृत छन्।
Shares

प्रतिक्रिया