गण्डकी


हङकङमा गरिएको मुठीदानबाट तनहुँमा यस्तो विकास

हङकङमा गरिएको मुठीदानबाट तनहुँमा यस्तो विकास

प्रतिकात्मक तस्बिर


नेपालखबर
जेठ ३०, २०८० मंगलबार ६:३५, तनहुँ

हङकङमा रहेका तनहुँवासीको मुठीदानबाटै तनहुँको शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा हालसम्म करिब रु ६० लाख  खर्च भइसकेको छ। हङकङमा रहेका तनहुँवासी सङ्गठित भई २०५६ सालमा ‘तनहुँ सेवा समाज हङकङ’ स्थापना गरेपछि यहाँको सामाजिक तथा परोपकारी काममा आर्थिक सहयोग भइरहेको हो। यस संस्थाले हालसम्म तनहुँमा करिब ६० लाख खर्च गरिसकेको उक्त संस्थाका पूर्वअध्यक्ष भीमराज गुरुङले बताए। 

उक्त रकम जुटाउन सो संस्थामा आबद्ध ५७ जनाको मुठीदान नै मुख्य रहेको उनले जानकारी दिए। आफूहरुले २०७० सालमा हङकङमा बाराही साँझ नाम दिएर सांस्कृतिक कार्यक्रम गरेपछि बचत भएको करिब रु पाँच लाखबाट समाज सेवा अभियान थालिएको अध्यक्ष गुरुङले बताए। 

“हामीले करिब १० वर्षको अवधिमा तनहुँमा मात्रै करिब रु ५५/६० लाख खर्च गरिसकेका रहेछौंँ,” पूर्वअध्यक्ष गुरुङले भने, “समाज सेवाबाट पाइने हौसला र आत्मसन्तुष्टिले नै यतिका काम गर्न सकेका हौँ। समाजले तनहुँको छाब्दी बाराही र ढोर बाराही मन्दिरमा करिब रु २५/२५ हजारको एक/एकवटा घण्टा राखेर समाज सेवा थालेको थियो।”

थप्रेक, क्यामिन कोटथोक र सारडाँडा भीमाद खानेपानी योजनाका लागि करिब रु एघार लाख, भूकम्पले क्षति पुगेका एक मदरसा र २३ विद्यालयलाई रु १३ लाख, जिल्लामा बहुअपाङ्गता भएका १० विद्यालयका विद्यार्थीलाई लत्ताकपडाको लागि सात वर्षसम्म आर्थिक सहयोग, २०७२ सालको भूकम्पको बेला प्रधानमन्त्री राहत कोषमा रु तीन लाख ५० हजार, कोरानाको महामारीमा जिल्लाको दसवटै पालिकामा रु १५/१५ हजार बराबरको पञ्जा र सेनिटाइजर,  व्यास १० मा बन्दै गरेको कोभिड अस्पताललाई रु एक लाख ५० हजार, पत्रकार महासङ्घ नेपाल तनहुँ शाखा भवन निर्माणका लागि रु ७० हजार उपलब्ध गराइएको थियो। 

यसैगरी आठ मिर्गौलापीडित,  एक मुटु रोगी, एक करेन्टले हात गुमाएका व्यक्ति, पहिरोमा घर बगाएको एक परिवार र एक  क्यान्सर पीडित गरी १२ जनालाई करिब रु १५ लाख उपलब्ध गराउनाका साथै  ग्रामीण विकासमा कलम चलाउने सात मोफसलका पत्रकारलाई पुरस्कारस्वरुप रु ७० हजार गरी करिब रु ६० लाख खर्च गरिएको थियो। 

समाज सेवामा आफूहरु अग्रसर भएपछि तनहुँवासीको हेर्ने दृष्टिकोणसमेत सकारात्मक भएको आफूले पाएको उनले बताए। गत वैशाखदेखि रक्त क्यान्सरले थलिएर महँगो उपचार गराइरहेको आफूलाई रकम अभाव भएपछि उक्त समाजमार्फत उपचारका लागि रु तीन लाख ७५ हजार प्राप्त भएकाले हौसला मिलेको भानु १३ पोखरीछापकी ४३ वर्षीया जमुना गुरुङले बताइन्। 

हङकङमा रहेका तनहुँवासी सङ्गठित भई तनहुँको विकास, खानेपानी, शिक्षा र स्वास्थ्यको क्षेत्रमा खटिनुले सकारात्मक सन्देश प्रवाह भएको तनहुँ समाज हङकङका जनसम्पर्क संयोजक प्रदीप काफ्लेले बताए। अन्य देशमा रहेका तनहुँवासीले समेत तनहुँ समाज हङकङको अनुकरण गरे तनहुँको विकासमा टेवापुग्ने उनले बताए। आफूहरु जन्मिएको क्षेत्रको विकासमा टेवा पुर्‍याउने उद्देश्यले सहयोगमा जुटेको उक्त समाज हङकङका अध्यक्ष तेज गुरुङले बताए। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad