दाँतको समस्याले पीडित पाल्पा रामपुरका ७४ वर्षीय नेत्रप्रसाद तिवारी यतिबेला निःशुल्क कृत्रिम दाँत राख्न पाएपछि फुर्तिलो देखिएका छन्।
दाँत नहुँदा अनुहारको चमक हराएको, गाला चाउरी परेको र खान पनि समस्या भएको भन्दै उनले कृत्रिम दाँत राखेपछि निकै सहज भएको अनुभव सुनाए। उनको अनुहारमा देखिएको यो खुसी भने गाउँमा आयोजना गरिएको दन्तरोग विशेषज्ञ निःशुल्क शिविरका कारण उनले पाएका हुन्।
पाल्पाको बगनासकाली गाउँपालिका– १ बस्ने तुलसा खनाल पनि रामपुरमा निःशुल्क कृत्रिम दाँत शिविर आयोजनामा नयाँ दाँत राख्न पाएपछि खुसी भएकी छन्। शिविरमा लामो यात्रा गरी आइपुगेकी उनी नयाँ दाँत राखेपछि उमेर नै घटेको जस्तो भान भएको बताउँछिन्।
पाल्पाको रामपुरमा कालीगण्डकी फाउन्डेसन नेपालले ट्राभल डेन्टिस्ट्री नेपालको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिकहरुलाई लक्ष्य गरी आयोजना गरिएको निःशुल्क कृत्रिम दन्त शिविरबाट यहाँका ज्येष्ठ नागरिकले सुविधा पाएका हुन्।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले शिविरमा सहभागीलाई दाँत हस्तान्तरण गर्दै नयाँ दाँतले सुरुमा केही अप्ठ्यारो अनुभूति भए पनि नियमित प्रयोग गर्दै गएपछि सहज हुने बताए।
नयाँ दाँत राख्न महँगो पर्ने भएपछि ज्येष्ठ नागरिकलाई लक्ष्य गरी निःशुल्क शिविर आयोजना गरिएको कालीगण्डकी फाउन्डेसन नेपालका अध्यक्ष नीलकण्ठ भण्डारीले बताए।
एक महिनामा ६० जनाको नयाँ दाँत राखिएको ट्राभल डेन्टिस्ट्री नेपालका अध्यक्ष डाक्टर शङ्कर श्रेष्ठले जानकारी दिए। नयाँ दाँत राख्न डराउने, छाला, हड्डीसम्बन्धी समस्या भएका बिरामीलाई उपचार गरी दाँतको महत्त्वबारे परामर्श लिएर कृत्रिम दाँत राख्न उप्रेरणा गरेको उनको भनाइ छ।
शिविरमा २१ जना दन्त रोग विशेषज्ञ डाक्टरसहित ३१ जना स्वास्थ्यकर्मीले सेवा दिएका थिए। ए जनाको पूरै दाँत राखेको न्यूनतम रु ३० हजारदेखि रु ४० हजारसम्म खर्च हुने गरेको छ। शिविरमा रामपुर नगरपालिका, निस्दी, बगनासकाली र रम्भा गाउँपालिकाका नागरिकले सेवा लिएका छन्। रासस
Shares

प्रतिक्रिया