गण्डकी


पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान हुने

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान हुने

नेपालखबर
फागुन ११, २०७९ बिहिबार १३:३२, काठमाडौँ

देशकै तेस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान सुरु हुने भएको छ। 

यसअघि उक्त विमानस्थलमा बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै जहाज उडान गरिँदै आएको भए पनि आजदेखि रात्रिकालीन सेवा दिन सुरु गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले बताए।

‘आइएफआर प्रणाली लागू भएसँगै अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण गर्ने विमानलाई कुहिरो लागेका बेला पनि सञ्चालन गर्न सकिने भएको छ, यसअघि हुस्सु र कुहिरोका कारण कहिलेकाहीँ विमानस्थल नै अवरूद्ध हुने गरेको थियो, आजदेखि रात्रिकालीन सेवा पनि सुरु हुन्छ।’ निरौलाले भने।

सो विमानस्थल आजदेखि बिहान ६ देखि राति १२ बजेसम्म अर्थात् दैनिक १८ घण्टा सञ्चालन गर्न लागिएको बताइएको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आइएफआर प्रणाली लागू भएसँगै आजदेखि रात्रिकालीन उडान सुरु गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का मानिर्देशक ई प्रदीप अधिकारीले जानकारी दिए। 

उक्त विमानस्थल गएको पुस १७ गतेदेखि सञ्चालनमा आएको थियो। 

विमानस्थलमा उपकरणको सहायताले विमान उडान तथा अवतरण गराउने इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली जडान गरिएकाले रात्रिकालीन उडान भर्ने विमानलाई उडान तथा अवतरण गर्न निर्देश गर्ने प्राधिकरणले जनाएको छ।

यसअघि पुरानो विमानस्थल भिजुअल फ्लाइट रुल्स (भिएफआर) प्रणालीका आधारमा सञ्चालन गरिएको थियो। उक्त प्रणालीमा एटिसी र पाइलटले आँखाले हेरेर उडान तथा अवतरण गर्दै आएका थिए।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले आजदेखि रात्रिकालीन सेवा दिने भएपछि निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एअरले रात्रिकालीन उडानको तयारी गरेको बताइएको छ। 

पोखरा–काठमाडौँ र काठमाडौँ–पोखरा रात्रिकालीन उडानको तयारी भइरहेको बुद्ध एअरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए। 

उनका अनुसार बुद्ध एअरले यही फागुन २५ गतेदेखि पोखरा–काठमाडौँ रात्रिकालीन उडानको तयारी गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad