गण्डकी


मनाङका विद्यालय खुल्न थाले

मनाङका विद्यालय खुल्न थाले

नेपालखबर
फागुन ५, २०७९ शुक्रबार ८:३१, मनाङ

हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन्। हिउँदे बिदा सकिएपछि फागुनको सुरुआतसँगै विद्यालय खुल्न थालेका हुन्। 

मनाङको तल्लो क्षेत्रमा विद्यालय खुलेका छन् भने माथिल्लो क्षेत्रमा फागुन १५ गतेदेखि खुल्ने शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंले जानकारी दिए। उनका अनुसार केही विद्यालयका विद्यार्थी तथा शिक्षक मङ्सिरको अन्तिम साता अर्धवार्षिक परीक्षा सकेर चिसो छल्न बेँसी झरेका थिए। 

यस वर्ष हिमपात नहुँदा विद्यालय अलि छिट्टै सञ्चालन गरिएको उनले बताए। ‘यस वर्ष यहाँ हिमपात भएन, जसले गर्दा मनाङवासी छिट्टै फर्किए र अभिभावकसँगै बालबालिका आएपछि नियमित कक्षा सञ्चालन गरेका हौँ’, प्रमुख चपाईंले भने। 

विगतका वर्षमा जिल्लामा मङ्सिरमा वार्षिक परीक्षा सकेर हिउँदमा चिसो छल्न बेँसी झर्ने प्रचलन थियो। गत वर्षदेखि अन्य जिल्लासँग पठनपाठनको समानताका लागि चैतमा वार्षिक परीक्षा गर्न थालिएको उनले बताए। 

पुस र माघमा यहाँ बढी चिसो हुने भएकाले दुई महिना विद्यालय बन्द गर्नुपर्ने बाध्यता नै छ। फागुन १ गतेदेखि सदरमुकाम चामे र नासों गाउँपालिकाका विद्यालयमा नियमित पढाइ सञ्चालन भएको चपाईंले बताए। उनका अनुसार जिल्लास्थित कार्यालयले विद्यालय खोल्न सूचना प्रकाशित गरे पनि अधिकांश विद्यालय फागुन १ गतेदेखि नियमित रुपमा सञ्चालन भएका छन्। 

माथिल्लो मनाङमा भने अझै विद्यालय खुलाउनसक्ने अवस्था नरहेको उनले बताए। माथिल्लो मनाङमा बढी चिसो हुने हुँदा यस क्षेत्रका बासिन्दा जिल्ला नफर्किंदा केही ढिलो गरी कक्षा सञ्चालन हुने उनले बताए। 

सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय आवासीयरुपमा सञ्चालन भएको छ। हिमाली क्षेत्रमा विद्यालय टाढाटाढा हुँदा समस्या हुनाका साथै विद्यार्थीलाई जिल्लामा नै टिकाउन आवासीयरुपमा सञ्चालन गरिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए।

‘विद्यार्थीलाई विद्यालय आवतजावतमा समस्या हुँदा विद्यार्थी घट्न थाले, जिल्ला बाहिर अभिभावकले बालबालिका राखेर पठनपाठन गराउनुपर्ने अवस्था सिर्जना हुँदा यस समस्याको समाधानका लागि आवासीय बनाएका हौँ, आवासीय बनाएपछि विद्यालयमा विद्यार्थी राम्रै छन्’, अध्यक्ष घलेले भने। 

सङ्घीयता कायम भएपश्चात् चामेका पाँच विद्यालयलाई एकीकृत गरी आवासीय बनाइएको उनले बताए। जिल्लाका लोकप्रिय माध्यमिक विद्यालय र तिमाङस्थित गौरीशङ्कर आधारभूत विद्यालयमा आवासीयरुपमा पठनपाठन भइरहेको छ। चिसो बढी भए पनि विद्यार्थीलाई वार्षिक परीक्षामा सकस हुन्छ भनेर पठनपाठन सुरु गरिएको गौरीशङ्कर आधारभूत विद्यालयका प्रधानाध्यापक कमलजङ्ग गुरुङले बताए। 

त्यस्तै थोंचेको प्रकाशज्योति माध्यमिक विद्यालय र तालगाउँस्थित भानु माध्यमिक विद्यालयमा नियमितरुपमा पठनपाठन सुरु भएको छ। भानु माध्यमिक विद्यालयमा बाढीका कारण जोखिम बढ्दा विद्यार्थी घटेका नासोँ–१ का वडाध्यक्ष मिनरासी गुरुङले बताए। 

‘गत वर्ष विद्यालयमा बाढी पस्दा यहाँ विद्यार्थी घटेका छन्, बाढीको जोखिम भएपछि विद्यार्थी पढ्न बाहिरी जिल्लातर्फ गएको पाइएको छ’, अध्यक्ष गुरुङले भने। जोखिम न्यूनीकरणका लागि तटबन्ध निर्माण गरिएको उनले बताए। तालगाउँमा जोखिम न्यूनीकरणका लागि तटबन्ध निर्माण गरिएपछि यहाँका बासिन्दाले आवास निर्माण तथा मर्मत गरेपछि बसोबास गर्न थालिएको उनले बताए। 

यस वर्ष हिमपात नभए पनि चिसो बढी नै छ। फागुन लागे पनि चिसो अझैँ घटिसकेको छैन। यसले गर्दा माथिल्लो मनाङका विद्यार्थी, शिक्षक तथा कर्मचारी कार्यक्षेत्रमा पुग्न सकेका छैनन्। चिसोका कारण अधिकांश स्थानीय तहका कर्मचारी तथा जनप्रतिनिधिसमेत जिल्ला बाहिर नै छन्। माथिल्लो मनाङ क्षेत्रका शिक्षक, विद्यार्थी जिल्ला भित्रिने क्रम रहेका चपाईंले बताए। 

माथिल्लो मनाङका बासिन्दा जिल्ला आउन ढिला गर्दा शिक्षक तथा कर्मचारीसमेत चैतमा मात्रै विद्यालय आउने गरेका स्थानीय बताउँछन्। विद्यार्थी र अभिभावकसँगै कर्मचारी तथा शिक्षक समयमै गाउँ आएर सेवा दिनुपर्ने स्थानीयको भनाइ छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad