पोखराबाट ४० हजार रुपैयाँमा हेलिकोप्टर चार्टड गरी स्याङ्जाको वालिङमा भइरहेको फुटबल हेर्न गएकाहरुको लागि सो यात्रा महँगो सावित भएको छ।
गएको माघ ५ गते हेलिकोप्टरका पाइलटलाई खेल मैदानमै ल्याण्ड गर्न दबाब दिएसँगै उत्पन्न तनाब र सोही कारण पाइलट रनेश डंगोलमाथि हातपात भएपछि उनीहरुलाई फुटबल खेल महँगो परेको हो।
खेलमैदानमा खेल चलिरहँदा हेलिकप्टर ल्याण्ड गरेपछि क्याप्टेन रनेश डंगोलमाथि कुटपीट भएको थियो।
आफूमाथि अभद्र व्यवहार भएको भन्दै क्याप्टेन रनेश डंगोलले हेलिकोप्टर चार्टर्ड गर्ने विनोद गैरे,सुशील गिरी, खिमबहादुर राना, उज्वल थापा भन्ने ओमबहादुर धराली तथा कुटपीटमा संलग्न यामबहादुर गुरुङ र सुरेश श्रेष्ठविरुद्ध इलाका प्रहरी कार्यालय वालिङमा जाहेरी दिएका थिए। उजुरीपछि प्रहरीले छ जनालाई नै पक्राउ गरेको थियो।
हवाइ उडान सुरक्षाविरुद्धको कसुर र अभद्र व्यवहार मुद्दामा पक्राउ परेका छ जनालाई जिल्ला अदालत स्याङ्जाले धरौटीमा रिहा गरेको छ। पक्राउ परेका छ जनामध्ये गैरे, गिरी, राना र धरालीलाई जनही तीन/तीन लाख धरौटीमा छोड्न आदेश दिएको छ भने पटकेमा परेका गुरुङ र श्रेष्ठलाई जनही चार/चार लाख छरौटीमा छाडिएको श्रेस्तेदार विश्वबन्धु रेग्मीले जानकारी दिए।
थुनछेक बहसपश्चात जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको एकल इजलासले ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको श्रेस्तेदार रेग्मीले बताए।
जब हेलिकोप्टर फुटबल चलिरहेको मैदानमा ल्यान्ड भयो!
Shares

प्रतिक्रिया