गण्डकी


पोखरा विमान दुर्घटना : दुर्घटना प्रभावित नागरिक समिति गठन

पोखरा विमान दुर्घटना : दुर्घटना प्रभावित नागरिक समिति गठन

विमान दुर्घटनास्थल


नेपालखबर
माघ ५, २०७९ बिहिबार ६:२९, गण्डकी

गत आइतबार भएको विमान दुर्घटनाका सन्दर्भमा दुर्घटना प्रभावित नागरिक समिति गठन गरिएको छ। पोखराको सेतीनदी खोँचमा भएको विमान दुर्घटना प्रभावित क्षेत्रका नागरिकको आजको भेलाले प्रेस स्वतन्त्रता सेनानी कुसुमकेशव पराजुलीको संयोजकत्वमा नागरिक समिति गठन गरेको हो। 

समितिमा आवश्यकताअनुसार सहसंयोजक, सचिव र अन्य पदाधिकारी चयन गर्न  अर्को भेला यही माघ ७ गते राखिएको छ। समितिमा गण्डकी प्रदेशका मुख्यमन्त्री प्रमुख संरक्षक रहनेगरी पोखरा महानगरपालिकाका प्रमुख, गण्डकी प्रदेशका सरोकारवाला सांसद, पत्रकार महासङ्घका केन्द्रीय सदस्य, यती एयरलाइन्स कम्पनी, कास्कीका जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलाई सल्लाहकारमा चयन गरिएको छ। 

नागरिक समितिमा दुर्घटनामा परी मृत्यु भएका परिवारका सदस्यलाई समाबेस गर्ने र आवश्यकताअनुसार प्रदेशका सङ्घ/संस्था, सरोकारवाला पालिका र वडाध्यक्ष, पोखरा उद्योग वाणिज्य सङ्घ, पर्यटन व्यवसायी सम्बद्ध सङ्घ सङ्गठन, धार्मिक तथा सांस्कृतिक संस्थालाई पनि समावेश गरिने भएको छ। 

भेलाले दुर्घटनामा निधन हुनेप्रति श्रद्धाञ्जली एवं शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै प्रदेशमा घटेको ठूलो हवाई दुर्घटनाको निष्पक्ष छानबिन गर्न सरकारलाई अनुरोध गरेको छ। छानबिनमा सघाउन मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिलाउने साथै मृतकको चीरशान्तिको कामनासहित उनीहरूको परिवारजनको सहजता हुनेगरी समाज संस्कृतिअनुसारको स्वस्तिशान्ति, पाठपूजा, प्रार्थना गर्ने निर्णय गरिएको छ।

समितिले नेपाली संस्कृति रीतिरिवाजअनुसार १३ माघमा शान्तिदीप प्रज्वलन एवं स्वस्तिशान्ति गराउने र हरेक वर्ष यसै तिथिमा स्मृतिसभा गर्ने भएको छ। दुर्घटनामा मृत्यु भएकाको चीरस्मृति हुने कार्यक्रम थालनी गर्न समितिले विभिन्न उपसमिति गठन गर्न सकिने र त्यसको वैधानिकताका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरिएको छ। 

यसका लागि समिति आफैँले स्रोत जुटाएर खर्च गर्ने, आम्दानी, खर्चको लेखा परीक्षण सरकारी, गैरसरकारी र स्वतन्त्र नागरिक समाजको तर्फबाट सार्वजनिक सुनुवाइ गराएर गरिने जनाइएको छ। दुुर्घटनाले उब्जाएको राष्ट्रिय, अन्तर्राष्ट्रिय शोकलाई स्वदेश, विदेशको नागरिक र स्थानीय स्रोतसाधन परिचालन गरी शक्तिमा परिणत गर्न समिति लाग्ने उल्लेख गर्दै पोखरा एवं नेपालको हवाई उडान र पर्यटन व्यवसायलाई असर पर्ने कुनै समाचार प्रचार नगर्न सबैमा आग्रह गरिएको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad