गण्डकी


रास्वपाका सांसद ढाकाकुमार संलग्न सहकारी डुब्यो, आर्थिक अनियमितताको आरोप

रास्वपाका सांसद ढाकाकुमार संलग्न सहकारी डुब्यो, आर्थिक अनियमितताको आरोप

नेपालखबर
पुस २९, २०७९ शुक्रबार २०:५७, पाेखरा

खासै चर्चामा नरहेका कास्कीका मेडिकल डाक्टर ढाकाकुमार श्रेष्ठले एकाएक राजनीति रोजे। केही वर्ष यहाँको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरेका उनी पोखरामै निजी क्लिनिक चलाउँथे।

संचारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोलेपछि उनी त्यसको गण्डकी प्रदेश अध्यक्ष बने।

पार्टीले उनलाई आदिवासी जनजातितर्फबाट समानुपातिकको बन्द सूचीमा राख्यो। राष्ट्रिय स्वतन्त्र पार्टीले १३ जना समानुपातिकतर्फको सांसद पाउँदा ढाकाकुमारको भाग्य चम्कियो। उनी ‘माननीय’ बने। माननीय बनेसँगै उनीमाथि नीति निर्माण गर्ने दायित्व थपिएको छ।

समाज परिवर्तनको नारासहित राजनीतिमा होमिएका उनीमाथि ‘केही गरेर देखाउने’ चुनौती छ। 

तर, रास्वपाबाट संघीय सांसद बनेका उनै डाक्टर ढाकाकुमार श्रेष्ठ आर्थिक विवादमा तानिएका छन्। रास्वपाको तर्फबाट स्वास्थ्यमन्त्रीको लागि लबिङ गरिरहेकै बेला उनी संलग्न साथी किसान सहकारी संस्था डुबेसँगै उनीमाथि आर्थिक अनियमितताको आरोप लागेको हो।

२०५९ सालमा स्थापित तथा पोखरा ८ रत्नचोकमा कार्यालय रहेको सहकारी अहिले बन्द छ। सहकारीले बचतकर्ताहरुको ८२ लाख ७२ हजार दुई सय रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। तर, रकम नै नभएपछि  कार्यालय नै बन्द गरिएको सो सहकारीका कोषाध्यक्ष तारापति सुवेदीले बताएका छन्।

सहकारी  बन्द भएसँगै बचतकर्ताहरुले आफ्नो रकम फिर्ता गर्न पोखरा महागनरपालिकाको सहकारी डिभिजन गुहारेका थिए। उनीहरुले सहकारी डुब्नुमा निवर्तमान अध्यक्ष ढाकाकुमार श्रेष्ठसमेत दोषी रहेको जिकिर गरेका थिए।

तर, ढाकाकुमारले भने त्यो आरोपको खण्डन गरे। शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै उनले भने,‘राजनीतिमा व्यस्त भएपछि मैले गएको कात्तिक ७ गते नै साधारणसभा गरेर अध्यक्ष पद छाडेको हुँ। त्यो बेला सबै शेयर सदस्यहरुलाई संस्थाको अवस्थाबारे जानकारी गराएकै हो। अध्यक्ष छाडेपछि नयाँ कार्यसमितिलाई हरहिसाब र सम्पत्ति बुझबुझारथ गर्नुपर्ने रहेछ, त्यो चाहिँ मैले थाहै पाइन।’ 

उनले सहकारीले कर्जा प्रवाह गरेको १ करोडभन्दा बढी रकम उठाउन बाँकी रहेको र आउँदो ३ महिनाभित्र सवै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति भएको पनि जिकिर गरे। उनले नयाँ कार्यसमितिलाई सबै हिसाबकिताब बुझाएको र अब समस्या सल्टिएको पनि जिकिर गरे।

‘हिसाब बुझाउनु भएन। हिसाब बुझाउनु भएन भन्ने उहाँहरु (नयाँ कार्यसमिति) लाई लागिरहेको रहेछ। त्यै भएर आज मैले सम्पूर्ण कुराहरु खोल्दिएछु। सबै हिसाब किताब दिएको छु उहाँहरुले बुझ्नुभयो’,उनले भने। त्यो कुरामा वर्तमान अध्यक्ष डा‍‍ शनी पाठकले पनि सहमति जनाए। नयाँ अध्यक्ष डा. शनीले सहकारी समस्याग्रस्त भएको स्वीकारे। 

डा. ढाकाकुमारले कोरोनाकालबाटै सहकारी समस्यामा परेको र सहकारीले बजारमा उठाउनुपर्ने रकम उठाउन नसकिएको स्वीकारे।

चेक साटिएन अनि सहकारी नै बन्द भएको रहेछ। मैले बीचमा बन्द भएको सहकारी कार्यालय खोल्नका लागि पहल पनि गरेँ, दुई दिन खोलियो त्यसपछि पुनः बन्द भयो’,उनले भने। ढाकाकुमारले कार्यवाहकको जिम्मेवारी दिएका चेत हमालले आफुलाई व्यवस्थापनका बारेमा केही थाहा नभएको कारण समस्या परेको स्वीकारे। पनि नआएपछि सहकारी बन्द गर्नुपर्ने स्थितिमा पुगेको सुनाए।  

सञ्चालक समितिकाहरुले नै तिरेनन् ऋण  
यता, सोही सहकारीमा म्यानेजर पदमा रहेर काम गरेका विशाल बस्ताकोटीले सेवाग्राहीको रकम हिनामिना गर्न संस्था दोषी रहेको जिकिर गरेका छन्। उनले  २५ हजारको जागिर खानका लागि १० लाख रुपैयाँ लिएर आउन भनेपछि पदबाटै राजीनामा दिएको दाबी गरे।

‘२५ हजारको जागिर खान मलाई १० लाख रुपैयाँ ल्याउन भनियो। त्यसपछि मैले सहकारी छाडेँ’ उनले भने।

वस्ताकोटीले संस्थाको कार्यसमितिलाई पटक–पटक सूचना गर्दै आपतकालीन बैठक डाक्दा समेत कोही पनि नआउँदा संस्था बन्द गर्नुपर्ने स्थितिमा आएको सुनाए। उनका अनुसार संस्थाकै सेयर सदस्यले ३० लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको थियो।

‘मेरो कार्यकालमा संस्थाकै सेयर सदस्यले ३० लाख रुपैयाँ ऋण तिर्न बाँकी थियो। यदि उनीहरुले त्यो रकम दिने हो भने बचतकर्तालाई रकम प्रदान गर्न गाह्रो छैन्। संस्थाको अडिटमा समेत समस्या छ। ऋणमा गएको संस्था नाफामा गएको अडिट भएर आयो यो सुन्दा अचम्म लाग्यो।’ 

उनले सहकारीबाट  विना धितो ऋण प्रवाह गरिएको र गलत अडिट रिपोर्ट पेश भएको दोहोर्याए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .