ad ad

गण्डकी


दसैँमा पनि गाउँमा देखिएनन् युवा

कारणः बढ्दो वैदेशिक रोजगारी, घट्दो जनसंख्या
दसैँमा पनि गाउँमा देखिएनन् युवा

वाशुदेव मिश्र
असोज १९, २०७९ बुधबार ८:४१, पाेखरा

दसैं मनाउन पर्वतको विहादी पुगेका पत्रकार विसन क्षेत्रीले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘रित्तिएका गाउँ, मक्किएका घर, झाडीले छोपिएका आँगन, अँध्यारा बाटा, एकाध मान्छे। अहो, दशैँका ती रौनक बसाइँ सरेर गएछन्। जहाँ एकदिन बाटो सफा गर्न श्रमदान हुन्थ्यो, वर्षाले खोलेको घरको आवरण सेतो कमेरो र रातो रंगले छोपिन्थे, घरका खाँबा, ढोका र झ्यालहरुले ब्याट्रीको कालो भएतापनी नयाँ रुप पाउँथे। दोबाटोका रुखमा बाँस तेर्स्याएर पिङ हालिन्थ्यो। यी सब कुरा गर्नुअघि, गाउँमा गाउँ थियो। मानिस थिए र मानवता अनि भावनात्मक सम्बन्ध जिउँदो थियो। गाउँमा सहर छिर्‍यो। एउटा चर्चित कविता छ, सडक, तिमी गाउँ आयौ अब सारा गाउँ सहर गयो जब।’

विसनले भनेजस्तै अहिले गाउँमा मान्छे छैनन्। वृद्धवृद्धाले गाउँ धानेका छन् भने युवाजति विदेशिएका छन्।  

२०६८ सालको जनगणना अनुसार गण्डकीबाट विदेशिनेको संख्या ३ लाख २२ हजार थियो भने  अहिले ४९ हजार ४५० महिलासहित  २ लाख ८७ हजार ४५० जना बाहिरिएको तथ्याङ्क छ। 

राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालबाट विदेशिएकाहरुको संख्या  भने २१ लाख ६९ हजार ४७८ पुगेको छ।  तीमध्ये ४ लाख ६ हजार १६३ अर्थात् १८.७२ प्रतिशत महिला छन्। दश वर्षअघि नेपालबाट विदेशिनेको संख्या १९ लाख २१ हजार ४९४ थियो। 

२ वर्ष कोभिडका कारण विदेशिने जनसंख्या घटेको थियो। १० वर्षअघि विदेशिने महिलाको संख्या २ लाख ३७ हजार ४ सय थियो भने अहिले  यो ७१ प्रतिशतले बढेको छ। अर्थात् रोजगारीको सिलसिलामा विदेशिने महिलाको संख्या बढ्दो छ। यसले एकातिर जनसंख्या वृद्धिमा असर पुर्‍याएको छ भने अर्कोतर्फ पारिवारिक संरचना खल्बल्याएको छ।  

गण्डकीको हकमा मनाङ र मुस्ताङबाट विदेसिनेको संख्या राष्ट्रिय तथ्याङ्कमै कम छ। आर्थिक वर्ष २०७८÷०८९ मा गण्डकीबाट  ६७ हजार २३१ जना विदेशिएका छन्। तीमध्ये ३ हजार ४४४ जना महिला छन्। १५ देखि २४ वर्षसम्मका युवाहरुको बेरोजगारी दर बढी छ। आर्थिक वर्ष २०७८/०७९ को चैतसम्मको तथ्याङ्क अनुसार सबैभन्दा बढी स्याङ्जा ११ हजार २८९ र तनहुँबाट ११ हजार ८०६ जना बाहिरिएका छन्।

स्याङ्जालाई प्रशासक उत्पादन गर्ने मेसिन मानिन्छ। स्याङ्जा र तनहुँजस्ता जिल्लाबाट धेरै जनशक्ति विदेशिनु भनेको दक्ष जनशक्तिको कमी हुनु हो। अर्कोतर्फ, यसले नेपालमा सम्भावनाहरु खुम्चँदै गएको इंगित गर्ने समाजशास्त्रीहरुको मत छ। गण्डकीमा रोजगारका क्षेत्रहरुको विकास नहुनुले पनि विदेशिनेको संख्या बढेको हो।  गण्डकीको श्रम बजारले ३ लाख ३२ हजार ३७२ जनालाई रोजगार दिएको तथ्याङ्क छ। सहरी क्षेत्रमा दैनिक ज्यालादारी गर्ने ५१ हजार पुरुषको संख्या जोड्दा पनि प्रदेशले सबैलाई रोजगारी दिन सकेको देखिँदैन।

नेपाल मानव विकास सूचकाङ्क २०१२ का अनुसार गण्डकी प्रदेशमा १५ वर्ष देखि ५९ वर्षको काम गर्ने सक्रिय उमेर समूहमा १३ लाख ६७ हजार ७३८ जनसंख्या रहेको थियो भने त्यसमध्ये १० लाख ७३ हजार ८५८ (७८.५ प्रतिशत) आर्थिक रुपले सक्रिय रहेको छ। अहिले यो संख्या बढेको गण्डकी नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा. गिरिधारी शर्माको भनाइ छ।

गण्डकी प्रदेशमा १५ देखि ५९ वर्ष उमेरका जनसङ्ख्या मध्ये ३० प्रतिशत जनता अर्धबेरोजगार छन्। गण्डकीको प्रतिव्यक्ति आय १४ सय ३७ डलर त छ तर यहाँ  आयमा असमानता बढी छ। तल्लो २० प्रतिशतको उपभोग्य क्षमता ६.९ प्रतिशत हुँदा उपल्लो १० प्रतिशत र तल्लो ४० प्रतिशतको आयमा गिनी कोफिसियन्ट १.४१ छ। यो देशकै उच्च  हो। जसले गर्दा यहाँको जनशक्ति विदेशिएको छ। उनीहरुले नेपाल भित्रने कुल विप्रेषणमध्ये १४.४ प्रतिशतको योगदान भने गरेका छन्। 

बढ्दै बूढाबूढीको संख्या 

राष्ट्रिय जनगणना २०७८ का अनुसार गण्डकीको परिवार संख्या सबैभन्दा कम अर्थात् ३.६६ छ। १० वर्षअघि यहाँ एउटा परिवारमा ४.१६ जना रहन्थे।

मधेशमा एउटा परिवार संख्या ५.८० अर्थात् देशको सबैभन्दा बढी छ। जनसंख्या वृद्धिदर पनि  गण्डकीमा सबैभन्दा कम अर्थात् ०.३० प्रतिवर्ष रहेको छ। देशमै कम जनसंख्या भएको मनाङ र मुस्ताङ गण्डकीमै रहेका छन्। गण्डकीमा ६ लाख ६८ हजार १७६ घर परिवार र २४ लाख ६९ हजार ७४५ जनता बस्छन्। तीमध्ये महिलाको संख्या १२ लाख ९९ हजार २८५ छ।

जनसंख्याको हिसाबले छैटौं प्रदेश हो ,गण्डकी। पोखरा दोस्रो ठूलो जनसंख्या भएको सहर हो भने देशकै सबैभन्दा कम जनसंख्या हुने ५ गाउँपालिकामा मनाङको नार्फाभूमि र चामे,मुस्ताङको लोघेकर र दामोदर कुण्ड,ङिस्याङ र चामे पर्छन्। ३२ जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक देखिँदा मनाङ जनसंख्या घट्ने देशकै दोस्रो जिल्ला बनेको छ। 

मानव जनशक्तिलाई  विश्वभर देश विकासको ठूलो स्रोत मानिन्छ। युवा वा सक्रिय उमेर समूहका मान्छे घट्न् र वृद्धहरुको संख्या बढ्नु भनेको श्रमशक्तिको अभाव हुनु हो। औसत आयु बढी भएको जापानले अहिले श्रमशक्तिको समस्या भोगिरहेको छ र बाह्य स्रोतबाट जनशक्ति आपूर्ति गर्नुपर्ने बाध्यतामा परेको छ। यही गतिले जनसंख्या वृद्धि घट्दा भोलि नेपालको नियति पनि त्यही हुने हो।

यो तथ्यलाई गण्डकीको स्थितिपत्रले औंल्याउँदै भनेको छ,‘ केही दशकपछि मुलुकमा ज्येष्ठ नागरिकहरूको संख्या बढ्दै जानेछ, युवाहरूको संख्यामा कमी आउनेछ । यसको मतलब, अरूमा आश्रितहरू बढ्नेछन्, सक्रिय रूपमा काम गर्नेहरू घट्नेछन् । र, राज्यले सामाजिक सुरक्षामा लगानी बढाउनुपर्नेछ ।’ 

भविष्य जस्तो होस्,वर्तमानमा भने नेपाल सक्रिय उमेर समूहका नागरिक भएको धनी मुलुक देखिएको छ। जनसांख्यिक संरचनाअनुसार, यतिखेर नेपालमा घरका ६ जनामध्ये चार जनाले कमाउन सक्छन्।  यो राष्ट्र बनाउने सुनौलो मौका हो र सितिमिति नआउने समाजशास्त्रीहरुले बताउँदै आएका छन्।

तथ्याङ्क अनुसार १० वर्षअघि  नेपालमा काम गर्ने उमेरको जनसंख्या ६४ प्रतिशत थियो । २०७८ सालको जनगणनाले जनसांख्यिक लाभांश ६७ प्रतिशतको हाराहारीमा देखाउने अनुमान गरिएको छ। यद्यपि, जनगणनाको विस्तृत विवरण आइसकेको छैन।  ६७ प्रतिशतको अर्थ हुन्छ, सक्रिय काम गर्ने उमेर समूह (१५ देखि ६५ वर्ष) को जनसंख्या २ करोड। तीमध्ये ४० प्रतिशत त युवा अर्थात् १५ देखि ४० वर्ष उमेर समूहका नै हुनेछन्।

नेपाल श्रमशक्ति सर्वेक्षण २०७५ अनुसार भने गण्डकीमा काम गर्ने उमेर समूह अर्थात् १८ देखि ५९ वर्ष उमेर समूहको १८ लाख ६८ हजार जनसंख्या छ। तीमध्ये ७ लाख ७० हजार पुरुष र १० लाख ९८ हजार महिला रहेका छन्। गण्डकी प्रदेशमा ९ प्रतिशत बेरोजगारी छ। श्रममा पुरुषको सहभागिता ४८.८ र महिलाको २६.५ प्रतिशत रहेको छ। 

 गण्डकी प्रदेशले २०७५ सालमा प्रकाशित गरेको स्थितिपत्रमा भनिएको छ,‘सबै वर्ष (२०४८, २०५८ र २०६८) मा, पुरुषको हकमा, २० वर्षदेखि ४० वर्ष उमेर समूहको जनसंख्या मुख्य उमेर समूहको तुलनामा चामत्कारिक रुपमा घटेको देखिन्छ भने महिलाको हकमा बिस्तारै घटेको देखिन्छ यसले खटेर काम गरी देशको आर्थिक विकासमा योगदान पु¥याउन सक्ने उमेर समूहका युवा पुरुषहरु महिलाको तुलनामा अत्यन्तै धेरै विदेशिएको इंगित गर्दछ।

जनसंख्याको पिरामिडहरुले ७५ वर्ष वा सो बढी उमेर समूहको जनसंख्या बिस्तारै बढदै गएको पनि देखाउँछ, यसले आयु–संभाव्यता बढ्दै गएको इंगित गर्दछ।’ यसको मतलव हो, अब ४ दशकसम्म मात्रै सक्रिय पुस्ता रहन्छ। त्यसपछि नेपाल नै वृद्धहरुको देश बन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .