ad ad

गण्डकी


जो चोयाको पोसाक लगाउँछन्!

जो चोयाको पोसाक लगाउँछन्!

ध्रुवसागर शर्मा
असोज ९, २०७९ आइतबार १८:२६, म्याग्दी

बाँस र निगालाको चोयाबाट बनाइएका घरायसी प्रयोजनका समाग्रीहरु त हामी सबैले प्रयोग गरिरहेकै छौँ तर शिरदेखि पाउसम्मै चोयाबाट बुनेका पोसाक लगाएर गाउँका मेलापातदेखि सहरमा हुने पर्व, महोत्सवमा पुग्नाका साथै सोही पोसाकबाट आम्दानीसमेत गर्ने कोही व्यक्ति देख्नुभएको छैन भने म्याग्दीको मालिका गाउँपालिका वडा नं २ रुमको बेली गाउँमा जानुहोस्।

टोपीदेखि जुत्तासम्म चोयाकै पोसाक लगाएर जीविकोपार्जन गरिरहेका व्यक्ति छन् - रुम बेली तल्लो गाउँका ४९ वर्षीय भरीबहादुर पर्तेल।  विगत दुई वर्षदेखि चोयाका पोसाक तयार पारी  तिनलाई लगाएर विभिन्न मेला पर्वमा प्रदर्शन गरी उनले जीविकोपार्जन गरिरहेका छन्।

जङ्लबाट निगालो ल्याई त्यसबाट चोया निकालेर उनले टोपी, कोट, इस्टकोट, पाइन्ट, जाँगे, जुता, झोला, मनिब्यागलगायत पोसाक बनाउने र आफूले बनाएका ती पोसाक लगाएर गाउँघर तथा सहरबजारमा पुग्छन्। 

आधुनिक युगमा पनि पर्तेलले चोयाँका पोसाक लगाएर डुलेको देख्दा कति मानिसहरु छक्कै पर्छन् कतिले उनको कलालाई सम्मान गर्दै पैसा दिएर प्रोत्साहन पनि गर्छन्। साैखिन व्यक्तिहरुले पर्तेलले बनाएका चोयाका कपडा किनेर घरमा सजाउने समेत गरेका छन्।

‘मेरो आम्दानीको स्राेत भनेकै यही कला हो। मैले चोयाबाट शिरदेखि पाउसम्म लगाउने पोसाक बुन्न जानेको छु, उनी भन्छन्।

पर्तेलको घरमा चार छोरा,एक छोरी र श्रीमती छन्। छोराहरु अलग भएर बसेका छन् भने छोरीको विवाह भइसकेकाले  घरमा दुई जना दम्पति मात्र छन्। बिहान उठेर नजिकको जङ्लमा गई निगालो ल्याउने, चोया बनाउने र त्यसकै  पोसाक तथा अन्य कृषि सामाग्रीहरु बुनेर दिन बिताउने गरेका उनी चोयाका पोसाक बेचेरै वर्षमा रु एक लाख बराबरको  आम्दानी गरिरहेको  बताउँछन्। चोयाका पोसाक लगाएर गाउँघर र सहर बजार जाँदा मानिसहरुले त्यस्ता पोसाक लगाएको देखेर खुसी हुँदै पैसासमेत दिने गरेको र अहिलेसम्म त्यसरी रु ६० हजार भन्दा बढी कमाएको पर्तेलको भनाइ छ।

हिजोआज गाउँघरका युवायुवतीले उनले लगाउने चोयाका पोसाक मागेर लगाइ टिकटक  बनाउने र त्यसबापत रु एक सय दिने गरेका छन्।

पर्तेल भन्छन्, ‘अहिले त मेरा चोयाका पोसाक भाडामा समेत जाने गरेका छन्, केटाकेटीहरुले मेरा पोसाक लगाएर मोबाइलमा फोटो खिच्छन्, टिकटक बनाउँछन् र बदलामा मलाई पैसा दिने गरेका छन्।’

शनिबार बेलीको जन विकास आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा चोयाका पोसाक प्रदर्शन गरेर नै उनले रु तीन हजार भन्दाबढी आम्दानी गरे। पर्तेलको सीपको सम्मान गर्नु पर्ने र उनलाई प्रोत्साहन गरेर यस्तो कला प्रवर्द्धनमा जोड दिनुपर्ने स्थानीय समाजसेवी विष्णु पुन बताउँछन्। 

पर्तेलले पोसाकका अतिरिक्त चोयाँबाट डोका, नाम्ला, भकारी, थुन्सेलगायत घरायसी कृषि सामाग्री पनि बनाउने गरेका छन्। यस्ता सामाग्री गाउँघरमा फाट्टफुट्ट बिक्री हुने गरे पनि यो पेसा व्यावसायिक हुन नसकेकाले आफूले पोसाक बनाएर प्रर्दशन तथा बिक्री वितरण गर्न थालेको उनको भनाइ छ।

आफूले बनाएका चोयाका पोसाक जिल्लाका नेताहरु र प्रशासन प्रमुखहरुलाई उपहार दिने र त्यसको बजारीकरणमा सहयोग गर्न अपिल गर्ने आफ्नो चाहना भएको पर्तेल बताउँछन्। 

‘चोयाका पोसाक बनाउन सजिलो छैन, निकै मिहिनेत गर्नुपर्छ,’ उनी भन्छन्, ‘यस्ता पोसाकले हाम्रो पुरानो जीवन र पुर्खाहरुको त्यतिबेलाको अवस्थालाई पनि सम्झाउँछन्।’

स्थानीय सरकार वा सम्वन्धित निकायले सहयोग गरेमा आफूले अझ राम्रा हस्तकलाका सामाग्री बनाउन सक्ने पर्तेलको भनाइ छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .