गण्डकी


पर्यटकको रोजाइमा कास्की सिक्लेसको कफुचे हिमताल

पर्यटकको रोजाइमा कास्की सिक्लेसको कफुचे हिमताल

कास्कीको मादी गाउँपालिका–१ स्थित कफुचे हिमताल


वासुदेव पौडेल
भदौ ११, २०७९ शनिबार ९:४१, गण्डकी

कास्कीको मादी गाउँपालिका–१ मा पर्ने कफुचे हिमताललाई विश्वकै कम उचाइमा रहेको दाबी गरिएको छ। समुद्री सतहबाट दुई हजार चार सय ५० मिटर उचाइमा रहेको यो ताल पछिल्ला वर्षमा पर्यटकको रोजाइमा पर्न थालेको छ। पर्यटकीय नगरी पोखराबाट नजिकै रहेको कला संस्कृतिले भरिपूर्ण गुरुङ गाउँ सिक्लेसबाट एक दिनको पदयात्रामा पुग्न सकिने भएका कारण पनि यो पछिल्लो समय चासो र चर्चामा छ।

तालको महिमा र गरिमालाई स्वदेशी एवं विदेशी पर्यटक माझ पुर्याउँदै यसको प्रवर्द्धन गर्ने लक्ष्यका साथ मादी गाउँपालिकाले यसको प्रवर्द्धनलाई जोड दिएको वडा नं १ का वडा अध्यक्ष देवीजंग गुरुङले बताए। सिक्लेसबाट कफुचेसम्म पुग्ने पैदलमार्गलाई व्यवस्थित गर्नेतर्फ आफूहरूको चासो र सक्रियता बढेको उनले बताए। 

हराउँदै गएको घोडचढी संस्कृतिको जगेर्नालाई लक्ष्य गरी गाउँपालिकाले सिक्लेसबाट कफुचेसम्मका लागि अनुदानमा घोडा खरिद गर्ने गरी कार्यक्रम अघि सारेको उनले बताए। उक्त क्षेत्रमा घोडचढी व्यवसाय सञ्चालन गर्न चाहनेले ५० प्रतिशत अनुदानमा घोडा खरिद गर्न पाउँछन्। ‘गाउँपालिकाले अफ्नो नीति तथा कार्यक्रममा उक्त अनुदानको कार्यक्रमलाई समेटेको छ’, वडाध्यक्ष गुरुङले भने, ‘यो सँगै स्थानीयको रोजगारी प्रवर्द्धन एवं सिक्लेस र कफुचेबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने छ।’

अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट आएको हिमपहिरो पग्लिएर बनेको सो तालमा पुग्ने जो कोही त्यहाँको सुन्दर दृश्यबाट लोभिने गरेका छन्। लगभग एक हजार दुई सय वर्गमिटरमा फैलिएको तालको नीलो कञ्चन पानी मनमोहक छ। पछिल्ला वर्षमा उक्त क्षेत्रमा स्वदेशी एवं विदेशी पर्यटकको आगमन बर्सेनि बढ्दै गएको छ।

ताल कहिले बन्यो भन्ने यकिन तथ्य नभए पनि अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट कुनै समयमा हिमपहिरो आएर सो ताल बनेको अनुमान गरिन्छ। उक्त क्षेत्रमा पहिले पहिले विभिन्न भेडी गोठ रहे पनि अहिले भने छैनन्। कफुचे नामाकरण सम्बन्धमा स्थानीयको आफ्नै तर्क छ। 

स्थानीय गुरुङ भाषामा ‘क’ भनेको हिउँको थुप्रो, ‘फु’ भनेको पग्लनु र ‘चे’ भनेको समथर ताल हो। हिउँ पग्लेर बनेको हुनाले यस ताललाई ‘कफुचे’ भन्ने गरिएको बताइन्छ। स्थानीयका अनुसार करिब डेढ दशकअघिसम्म हिउँको थुप्रो रहेको सो स्थानबाट नै आवतजावत गर्न सकिन्थ्यो। पछिल्ला समयमा बर्सेनि बढ्दै गएको जलवायु परिर्वतको असरका कारण हिउँ पग्लेर ताल बनेको स्थानीयको तर्क छ।

स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख गन्तव्य बन्न सक्ने कफुचे हिमतालसम्म पुग्न बाटोलगायत पूर्वाधारलाई राज्यले प्राथमिकता दिनुपर्ने सिक्लेस–कफुचे मार्गस्थित हुँगुमा होटेल आइसफल चलाइरहेएका पर्यटन व्यवसायी कृष्ण गुरुङले बताए। 

सिक्लेस–कफुचे मार्गमा पर्ने हुँगु यस क्षेत्रको प्राचीन भेडी गोठ रहने क्षेत्र हो। कफुचेको यात्राका क्रममा सिक्लेसबाट राम्रो हिँड्न सक्नेहरू लगभग साढे तीन घण्टामा हुँगु पुग्न सक्छन्। हिँड्न नसक्नेका लागि भने चारदेखि पाँच घण्टासम्म लाग्ने गर्छ। हुँगु पुगेका पर्यटक हिँड्न सक्ने एक घण्टामा कफुचे पुगे पनि नसक्नेका लागि डेढ दुई घण्टासम्म लाग्छ। 

डेढ दशक अघिसम्म १०÷१५ वटासम्म भेडी गोठ रहेको हुँगुमा अहिले भने त्यस्ता गोठ छैनन्। तीन वर्ष अघिसम्म स्थानीय मेजा गुरुङले भेडी गोठ सञ्चालन गरिरहे पनि उनले पनि तीन वर्षयता भेडी गोठ छाडेर होटेल व्यवसाय गर्न लागेका छन्। 

सिक्लेस हुँदै कफुचेसम्मको पदयात्रा प्रवर्द्धन गर्न सके ठूलो सङ्ख्यामा स्वदेशी एवं विदेशी पर्यटक भित्र्याउन सकिने दाबी गर्दै गुरुङले पदयात्रा मार्गलाई भने व्यवस्थित गर्नु जरुरी रहेको बताए। कतिपय स्थानमा बाटो अप्ठ्यारो भएका कारण यसतर्फ राज्यले ध्यान पुर्याउनुपर्ने उनको भनाइ छ।

पोखराबाट छोटो दूरीमा रहेको कफुचे हिमतालसम्मको पदयात्रालाई प्रवर्द्धन गर्नु आवश्यक रहेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका प्रथम उपाध्यक्ष धर्म पन्थीले बताए। 

‘जथाभावी बाटो खन्ने नाममा पदयात्रा मार्गहरू मासिँदै गएका अवस्थामा सिक्लेसदेखि कफुचेसम्मको पदमार्गलाई व्यवस्थित गरिनु आवश्यक छ’, उनले भने, ‘छोटो दूरीमा रहेको यस हिमतालसम्मको पदमार्गलाई पर्यटन बजारमा चिनाउन सकेमा यस क्षेत्रको पर्यटकीय विकासमा थप टेवा पुग्ने देखिन्छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad